PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अधिकांश सेलिब्रेटी अर्जेन्टिनाका फ्यान, कलाकारलाई कति लागेको छ विश्वकप?



पहिलोपोस्ट

अधिकांश सेलिब्रेटी अर्जेन्टिनाका फ्यान, कलाकारलाई कति लागेको छ विश्वकप?

फुटबलको महाउत्सव ‘फिफा विश्वकप फुटबल २०२२’ कतारमा चलिरहेको छ। मंसिर ४ गतेबाट सुरु भएको विश्वकप फुटबलमा हाल प्री- क्वाटरफाइनल चरणको खेल भइरहेको छ। क्वाटरफाइनलमा प्रवेश गर्नका लागि टिमहरु प्रतिस्पर्धामा छन्।

विश्वकप सुरु भएसँगै फुटबलप्रेमीहरुलाई चाड आएजस्तै भएको छ। आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कोही कतार पुगेका छन्। नेपाली कलाकाहरुलाई पनि विश्वकप फुटबलले छोएको छ। विश्वकप सुरु भएदेखि उत्साहित भएका उनीहरु आफूलाई मनपर्ने टिम र खेलाडीको समर्थनमा खुलेर लागिपरेका छन्। सामाजिक संजालमार्फत उनीहरु आआफ्नो मनपर्ने टिम र खेलाडीले पक्षमा खुलिरहेका छन्।

कलाकार दीपकराज गिरी अर्जेन्टिनाका फ्यान हुन्। सन् १९९० देखि विश्वकप हेर्न थालेका उनले डिएगो म्याराडोनाको खेल मन परेर अर्जेन्टिनाको फ्यान भएको बताए। म्याराडोना कप्तान हुँदा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जितेको थियो।

‘विश्वकप हेर्न थालेदेखि नै म अर्जेन्टिनाको फ्यान हुँ। म्याराडोनाको फुटबल खेल्ने शैली मन पर्ने भएकै कारण अर्जेन्टिना टिम मन परेको हो। ३२ वर्ष भयो अहिले पनि मेरो रोजाई फेरिएको छैन,’ उनले भने।

म्यारोडोनापछि आफूलाई लियोनल मेस्सी पनि मन पर्ने उनी सुनाउँछन्। मेस्सीको सरलता र अनुशासनले आफ्नो मन तानेको उनले बताए। अरु टिमको खेल नहेरे पनि अर्जेन्टिनाको भने जसरी नि हेर्ने बताउँछन् गिरी। अर्जेन्टिना वा एसियन देशका टिमहरुले पनि विश्वकप जित्दा  आफूलाई खुसी नै लाग्ने दीपकको भनाइ छ।

खेलप्रेमी सेलिब्रेटीमा पर्छिन गायिका रचना रिमाल। रचनाको खेलकुद क्षेत्र प्रति विशेष रुचि छ, त्यसैले त उनी नेपालमा फुटबल र क्रिकेट प्रतिस्पर्धा हुँदा हेर्न पुगिहाल्छिन्। यसपटकको विश्वकपमा रचनाले अर्जेन्टिना र पोर्चुगललाई समर्थन जनाएकी छिन्। आफू रोनाल्डो र मेस्सीको फ्यान भएकाले दुवै देशमध्ये जसले जिते पनि आफू खुसी हुने बताएकी छिन्।

‘रोनाल्डो र मेस्सी दुवैको फ्यान हुन पनि धेरै गाह्रो छ हो। यसपटकको विश्वकप चाहिँ पोर्चुगल र अर्जेन्टिना मध्ये कुनै एकले जितुन् भन्ने मेरो कामना छ,’उनले भनिन्।

दीपाश्री निरौलाको प्रिय टिम ब्राजिल हो। टेलिश्रिखंला ‘तितो सत्य’ प्रसारण हुँदा ताका 'क्रेजी' भएर विश्वकप हेर्थिन उनी। तर, यसपटक भने समय प्रतिकूल भएका कारण सबै खेलहरु हेर्न नपाएको उनले सुनाइन्।

भन्छिन्, ‘तितो सत्यको बेला निकै क्रेजी भएर विश्वकप हेरिन्थ्यो। त्यतिबेला देखि नै म ब्राजिलको फ्यान हुँ। आजभोलि गेम राति भएर खासै हेर्न पाएको छैन। अस्ती मेस्सीको गेम भने हेरेकी थिएँ। हुनत अहिले खेलको परिणाम अप्रत्याशित भइरहेको छ। तर, विश्वकपको ट्रफी ब्राजिलले जितोस् भन्ने चाहना छ।’

त्यसैगरि, अभिनेत्री रिमा विश्वकर्माको पनि मनपर्ने टोली हो ब्राजिल। विद्यालय पढ्दादेखि नै विश्वकप हेरेको रिमा सम्झिन्छिन्। ‘स्कुल पढ्दा देखि नै विश्वकप हेर्न थालेको हुँ। विश्वकप आउँदा स्कुलमा दाईदिदीहरुले खुब हल्ला गर्नुहुन्थ्यो। त्यसबेला देखि नै ब्राजिल मन पर्न थालेको हो,’ उनले भनिन्।

ब्राजिलका साथै रिमाको पोर्चुगल टिमलाई पनि समर्थन छ। रोनाल्डोका कारण यसपटक पोर्चुगललाई पनि 'सपोर्ट' गरेको रिमा बताउँछिन्। जसकारण ब्राजिल र पोर्चुगलमा एउटाले विश्वकप जित्दा पनि खुसी लाग्ने उनको भनाई छ।

‘यसपटकको विश्वकपमा ब्राजिल र पोर्चुगललाई सपोर्ट गरेकी छु। यी दुई टिमको खेल नछुटाई हेरिरहेकी छु। अन्य टिमको भने हाइलाइट मात्रै हेर्छु। एसियन राष्ट्रको प्रदर्शनीका कारण यसपटकको विश्वकप निकै रमाइलो लागिरहेको छ। एसियन टिमहरुले विश्वकप नै रिफ्रेसिङ भइरहेको छ,’ उनले भनिन्।

अभिनेत्री केकी अधिकारीलाई पनि विश्वकप मजाले लागेको छ। केकी यसपटक पनि अर्जेन्टिनाको सपोर्टमा रहेकी छिन्। मेस्सीको खेल्ने शैलीबाट प्रभावित केकीलाई विश्वकपमा अर्जेन्टिनाले ट्रफी उचालेको हेर्न मन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell