PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीयमा छायो खुसी



पहिलोपोस्ट

नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीयमा छायो खुसी
फोटो : रासस

चितवन : भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै बित्छ। घर नजिकै नारायणी नदी सुसाएसँगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा उनको रात बित्छ। धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पीडा उनीसँग ताजै छ। लमजुङ्को फुलिङ्गिरीबाट बसाइँ सरेर धेरै पहिला त्यहाँ आएको नान्जेलको परिवारसँगै धेरैको पीडा उहिनै छ।

भरतपुर महानगरपालिका-१६ भगेरी थानका रमेश राई नदी तटबन्ध हुने सुनेपछि निकै खुसी छन्। उनले भने, ‘अब जिउ धन जोगिने भयो।’

नारायणीको तटीय क्षेत्रमा बसोबास गर्नेको निकै पीडादायिक जीवन जिउनुपर्ने बाध्यता छ। हरेक वर्षजसो ठाउँठाउँबाट नदी गाउँमा पसेर जनधनको ठूलो क्षति हुने गरेको छ।

त्यसै क्षेत्रबाट विस्थापित भएर धेरै अहिले सुकुम्बासीको रुपमा जिउन बाध्य छन्। विगत १० वर्षदेखि तटबन्धको काम थालिएको भएपनि बजेटको अभावमा न्यून काम मात्र भएको छ। यसवर्ष भने पर्याप्त बजेटको निकासासँगै पाँच खण्डमा विभाजन गरेर काम थालिएको छ। गत असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्ड र त्यसपछि बोलपत्र आह्वान भई सम्झौता भएको एउटा खण्ड गरी चार खण्डको काम थालिएको छ। अन्य एक खण्डमा छिट्टै काम थालनी गरिँदै छ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार चार खण्डको सम्झौता भइसकेको छ भने एक खण्ड सम्झौताको चरणमा रहेको छ। असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धका लागि ३८ करोडमा रुपैयाँ ठेक्का सम्झौता भएको हो।

त्यसैबेलाको अर्को एक खण्ड गाजीपुरदेखि हीरापुरसम्मको ४८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको एक अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। चौथो खण्ड २६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यो बालुवादेखि गोलाघाटसम्मको ६ दशमलव ८ किलोमिटर तटबन्धको पनि सम्झौता भई कामको प्रक्रिया सुरु गरिएको छ।

उनका अनुसार एउटा खण्ड बाहेक सबैको कामको प्रक्रिया सुरु भएको हो। सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइकाका छन्। गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको ६ दशमलव ८ किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ। नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धका लागि ठेक्का लगाइएको हो। आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन। चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ।

चितवनका लागि नौ अर्ब ५५ करोड र नवलपरासीका लागि १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ। हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ। गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुनेछन्। चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने आयोजनाका प्रमुख गणेश मरासिनिले बताए।

सबै क्षेत्र ठेक्का लागेपछि निर्माणको प्रक्रिया सुरु हुँदै गर्दा भरतपुर महानगरपालिकाको संयोजनमा आज स्थलगत निरीक्षण एवं छलफल गरिएको छ। आयोजनाका कर्मचारी, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय र सरोकारवालाको रोहोबरमा महानगरपालिकाले छलफल गरेको हो। नदी तटीय विभिन्न क्षेत्रमा गरिएको छलफलमा महानगर प्रमुख रेनु दाहालले मेहनतका साथ परियोजना परेको भन्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइन्।

स्थानीयलाई उनले भनिन्, ‘अब बाढीका कारण तपाईहरुले दुःख पाउने दिन हटेर जाँदै छ।’

चार खण्ड दुई र एउटा खण्ड तीन वर्षमा सम्पन्न हुने भन्दै उनले आफूले अघिल्लो कार्यकालको सुरुवाती चरणबाट थालेको कामले गति लिएको बताए। उपप्रमुख चित्रसेन अधिकारीले कुनै समस्या परेमा सँगसँगै महानगर रहेको भन्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न आग्रह गरे। 

आयोजनाका प्रमुख मरासिनिले एकै साथ नारायणीको अधिकांश भू-भाग तटबन्ध हुने गरी महत्वपूर्ण आयोजना अघि बढेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे। पाँचमध्ये दुईवटा खण्डको जिम्मा पाएको भन्दै निर्माण व्यवसायी महासङ्घका सदस्यसमेत रहेका होमकुमार आचार्यले निर्धारित समयमा काम सम्पन्न गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell