
विराटनगरः विराटनगरका उद्योगी अरुण राठीले आफू आफ्नै व्यापारिक साझेदारको बन्धकमा परेको दाबी गरेका छन्।
‘नेपाल टाइम्स’ नामको एक अनलाइन टेलिभिजनका सञ्चालकसमेत रहेका उद्योगी राठीले अर्का साझेदारबाट बन्धकमा परेको दाबी गरेका हुन्। राठीले आफू १५ लाखको चेक दिएर मुक्त भएको पनि जिकिर गरेका छन्।
नेपाल टाइम्सकै सञ्चालक सहन्साह भनिने अब्दुल खत्ताबले अपहरणको शैलीमा बन्धक बनाएको दाबी राठीको छ। ३० लाख रुपैयाँ दिने सम्झौता भएपछि आफू मुक्त भएको उनको दाबी छ। तत्काल १५ लाखको चेक दिए र बाँकी १५ लाख सात दिनभित्र दिने सहमतिपछि सहन्साहले मुक्त गरेको उनको भनाई छ।
राठी काठका सामग्री टाँस्न प्रयोग गरिने ‘राठीकोल’ नामको कम्पनीका सञ्चालक पनि हुन्। उनी विराटनगरका डीपीएस स्कुल, हेरिटेज स्कुल, इस्टर्न इन्जिनियरिङ कलेजका सञ्चालक समेत हुन्।
राठी प्रदेश १ को प्रदेश सभा सदस्यका लागि नेकपा (एमाले) का समानुपातिक उम्मेदवार पनि हुन्।
नेपाल टाइम्स अनलाइन टेलिभिजनमा सहन्साह र राठीका साथ अन्य दुई जना मुकुल दाहाल र मोहम्मद सदिक हसन पनि साझेदार छन्।
‘एक पटक नेपाल टाइम्समा भिडिओ–अन्तर्वार्ता बजाउनु पर्यो, यसले तपाईंलाई माइलेज दिन्छ, समानुपातिकमा पर्न पनि सजिलो हुन्छ भनेर सात दिनदेखि मेरो पिछा लागिरहेका थिए’, व्यवसायी अरुणले भने, ‘उनले एउटा भिडिण बनाउँ दाइ भनेर धेरै किचकिच गरेपछि मैले पनि ओके गरेँ। मङ्सिर १३ गते साँझ फोन गरेर भोलि १४ गते बिहान सूर्योदय सँगसँगै सुटिङ गर्ने अनि भिडिओ बनाउने प्रस्ताव गरे। मैले हुन्छ भनेँ। उनी १४ गते बिहानै ६ बजे मेरो घरमा मलाई लिन आउने तय भयो। साढे ६ बजे मेरो घर आइपुगे। मैले मेरै गाडीमा जाऊँ भनेँ। उनले मेरो स्कुटीमा जाऊँ भने। म उनकै स्कुटीमा चढेर गएँ’, घटना विवरण बुझाउँदै अरुणले भने।
अरुणको भनाइ अनुसार पहिले उनीहरू नेपाल टाइम्सको नयाँ कार्यालयमा गए। त्यहाँ पहिलो चरणको भिडिओ सुट गर्ने काम भयो। सहन्साहले अरुणलाई हिँड्न लगाएर भिडिओ खिँचेका थिए।
अरुणका अनुसार अन्तर्वार्ता सकिनेबित्तिकै सहन्साहले त्यहाँ रहेका एक अपरिचित व्यक्तिलाई यसलाई बाँध् भनेर अह्राए।
राठी भन्छन्, ‘पिलासको सहायताले एउटाले तल खुट्टामा जिआई तारले बाँध्यो। अर्काले दुबै हात बाँध्यो। उसैले फलामे तारले नै पेट पनि बाँधेर कुर्सीबाट हलचल गर्न नसक्ने बनायो।’
अरुणले सहन्साहले यसपछि तिमीलाई अर्को पार्टीलाई जिम्मा दिने हो भनेर धम्क्याएको बताए।
राठीले निज सहन्साहले नै बेलाबेलामा बाहिर जाँदै बारम्बार आफ्नो र आफ्ना सहयोगीको फोनबाट बाहिरका व्यक्तिसित कुरा गरेको दाबी गरे।
उनले सहन्साहलाई आफू मधमेह र मुटुको रोगी भएको र बिहान भोकभोकै लामो समय बस्नुपर्दा मधुमेह घटेर खतरा हुने सम्भावना भएकाले छाडिदिन आग्रह गरेको सुनाए। तर सहन्साहले धेरै बोल्यौ भने गोली हानेर उडाइदिन्छु, चुपचाप बस, जीवनमा एक गोली काफी छ भनेर धम्कीपूर्ण उत्तर दिएको अरुणको भनाइ छ।
अर्को समूहलाई जिम्मा लगाउने प्रयासपछि पैसा दिन्छु भनेर छाडिदिन आग्रह गरेको उनले बताए।
त्यसपछि सहन्साहले एक करोड रुपैयाँ मागेको तर आफूले यत्रो रकम दिन नसक्ने उत्तर फर्काएको राठीले बताए।
राठी भन्छन्, ‘अनि बार्गेनिङ सुरु भयो। मैले मेरा खातामा १५ लाख रुपैयाँ छ। अहिले चेक मगाएर दिनसक्छु भनेँ । उसले १५ हैन ३० लाख दिनुपर्छ भन्यो। मैले बाँकी १५ लाख एक हप्तामा दिन्छु भनेँ। उनले हुन्छ भने।’
राठीले अगाडि थपे, ‘यसपछि उन (सहन्साह) ले मलाई आफ्नै स्कुटीमा राखे र नयाँ अफिस जाऊँ भने। अनि आफ्ना सहयोगीलाई तिमी पछिपछि मोटरसाइकलमा आऊ, यसले हल्ला गरे गोलीले उडाइदिनू भनेर अह्राए। यसरी मलाई फेरि नयाँ कार्यालय लगियो। मैले त्यहाँ पुगेर मेरो ड्राइभर कुमार भन्ने डिल्लीप्रसाद घिमिरेलाई फोन गरेँ र चेकबुक ल्याउन अह्राएँ। कुमारले केही छिनमै चेकबुक ल्याए। सहन्साहले नेपाल टाइम्सका नाममा चेक काट्नूस् भन्ने धम्कीपूर्ण भाषा बोले । मैले पनि १५ लाखको चेक नेपाल टाइम्सका नाममा काटेर दिएँ।’
अरुणका अनुसार चेक पाएपछि सहन्साहले म पनि यो घटना बिर्सन्छु, तपाईं पनि बिर्सनूस्, हाम्रो सम्बन्ध पहिलेकै जस्तो मधुर हुनुपर्छ भन्ने अनुरोध गरे।
तर आफूले अब पहिलेजस्तो सम्बन्ध नहुने उत्तर दिएको राठीको कथन छ। चेक पाएपछि आफ्नै स्कुटीमा सहन्साहले नै आफूलाई घरसम्म ल्याइदिएको राठीले सुनाए।
मङसिर १७ गते मेरो भाइ श्याम राठी भारत भ्रमणबाट फर्किएपछि घटना बताएको र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको राठीको भनाई छ।
अरुणका अनुसार उनलाई सहन्साहले सोमबार मध्याह्न पनि फोन गरेर ‘केस’ फिर्ता लिन धम्क्याएको दाबी गरे। राठीले अभियुक्त सहन्साहलाई मोरङ प्रहरीले पक्राउ गरेर छाडिदिएको भन्दै आक्रोश व्यक्त गरे ।
ताते व्यावसायिक संस्था
व्यवसायी अरुणलाई बन्धक बनाएर फिरौती लिएको भनिएको प्रकरणमा मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले प्रहरी प्रशासनलाई दबाब दिँदै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले दुबै संस्थाका पदाधिकारी तथा सदस्यको समूहले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेर छानबिन र कार्बाहीका माग गरेको जानकारी दिए।
अध्यक्ष प्याकुरेलले भने, ‘अब यो घटनालाई टुङ्गामा पुर्याउने जिम्मा सरकारी पक्षको हो।’
म निर्दोष छु -सहन्साह
आरोपित सहन्साहले आफू पूर्ण निर्दोष भएको दाबी गर्दै आफूले उजुरी र कानुनी प्रक्रियाको सामना गर्ने बताए।
उनले राठीले नेपाल टाइम्सको कार्यालय सञ्चालनका लागि १५ लाख रुपैयाँको चेक दिएको दाबी गर्दै बन्धक बनाइएको, तारले बाँधिएको र थर्ड पार्टीलाई बेच्न खोजिएको भन्ने आरोप सरासर असत्य भएको जिकिर गरे।
वारेन्ट जारी
मोरङ प्रहरीका डिएसपी दीपक श्रेष्ठले व्यवसायी राठीले आइतबार अपहरण तथा शरीर बन्धकको जाहेरी दिएको जानकारी दिए।
डिएसपी श्रेष्ठले जाहेरीका आधारमा सोमबार मोरङ जिल्ला अदालतबाट सहन्साहविरुद्ध पक्राउ पुर्जी लिइएको बताए।