PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘जता गुलियो उतै भुलियो’ : सरकारमा रहन एकीकृत समाजवादीको सहारामा पुगे दीपक मनाङे!



रिना थापा

‘जता गुलियो उतै भुलियो’ : सरकारमा रहन एकीकृत समाजवादीको सहारामा पुगे दीपक मनाङे!

पोखरा : गण्डकी प्रदेशमा सरकार गठनको अकंगणित हेर्दा गठबन्धनको सरकार बन्ने देखिन्छ। ६० सदस्यीय गण्डकीमा ३६ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन्। ३६ निर्वाचन क्षेत्रमध्ये १८ वटामा नेपाली कांग्रेस, ४ क्षेत्रमा नेकपा माओवादी केन्द्र र १ स्थानमा नेपाल समाजवादी पार्टीले जितेको छ।

नेकपा (एमाले)ले १२ वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ। मनाङ २ बाट स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्वाचित भएका थिए। स्वतन्त्र रुपमा निर्वाचित भएका मनाङे आज सोमवार भने एकीकृत समाजवादी प्रवेश गरेका छन्। यसको कारण छ मनाङेको सत्ता मोह।

गण्डकी प्रदेशमा मनाङेले यसअघि सरकार बनाउन र ढलाउन निर्णायक भूमिका खेलेका थिए। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङको सरकार जोगाउन मनाङे निर्णायक थिए त्यतिबेला।

त्यसकारण पनि उनले पृथ्वीसुब्बाको क्याबिनेटमा मन्त्री पद हात पारे। पृथ्वीसुब्बाको कुर्सी जोगाउन समर्थन दिएका राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसद नेपाली कांग्रेसको पक्षमा देखिए। राजमो र जसपाको सांसद गठबन्धनको पक्षमा लाग्दा मनाङे निर्णायक भूमिकामा पुगे।

कुर्सी जोगाउन पृथ्वीसुब्बाले उनलाई मन्त्री बनाए। गठबन्धनले पनि मनाङेलाई मन्त्री पद दिँदै उनलाई आफ्नो पक्षमा पार्‍यो। पृथ्वीसुब्बाको क्याबिनेटबाट राजनीनामा दिँदै मनाङेले गठबन्धनलाई सघाए। गतवर्षको जेठ २९ मा गठबन्धनलाई सघाउँदै पृथ्वीसुब्बाको सरकार ढलाए।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेलको क्याबिनेटमा युवा तथा खेलकुद मन्त्रीको शपथ खाए। बहालवाला मन्त्री समेत रहेका मनाङेले मनाङ २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, उनलाई सांसद बनाउन एमाले र गठबन्धन दुबैले सघाए। उनी निर्विरोध निर्वाचित भए।

गठबन्धन कायम रहे गण्डकीमा गठबन्धनको सरकार बन्नेछ। बहुमत पुर्‍याएर सरकार गठन गर्न ३१ सांसद आवश्यक छ। ६० जना सांसदमध्ये २४ जना समानुपातिकबाट आउँछन्।

समानुपातिक तर्फको नतीजा हेर्दा कांग्रेसले ९, माओवादी केन्द्रले ३ सिट पाउने देखिन्छ। प्रदेशमा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि इन्ट्री हुँदैछ। समानुपातिक तर्फ एमालेले १० सिट पाउने देखिन्छ। यहीँ हिसाबले गण्डकीमा सरकार गठन गर्न गठबन्धन दललाई सहज हुनेछ। सरकार गठन गर्न गठबन्धनको सहजताको अर्थ हो मनाङे प्रतिपक्षमा रहनु।

गठबन्धनलाई मनाङेले साथ दिए वा नदिएपनि त्यसको अर्थ राख्दैन। निर्णायक बनेर मन्त्री पद समाइरहेका मनाङे अब भने सरकारबाट बाहिरिने अवस्था छ। तर, मनाङेको प्रतिपक्षमा बस्ने मनसाय छैन। सोमवार उनले विज्ञप्ति सार्वजनिक गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिए।

‘मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरूमध्ये एकीकृत समाजवादी रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरूप जनसेवामा सक्रिय रहने सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

मनाङेले एकीकृत समाजवादी नै रोज्नुको अर्को कारण पनि छ। प्रदेशतर्फ एकीकृतको भागमा मात्र एक क्षेत्र परेको थियो। नवलपूर २ ‘ख’मा उम्मेदवार उठाएको एकीकृतले हार व्यहोर्‍यो। समानुपातिकमा एकीकृतले थ्रेसहोल्ड कटाउन सकेन।

त्यसो हुँदा गण्डकीमा एकीकृतको एकजना सांसद पनि भएन। गण्डकीमा एकीकृतको एकजना पनि सांसद नहुँदा गठबन्धनको सरकार बने भागबण्डामा मनाङे पनि पर्छन्। यसरी हेर्दा पदको मोह राखेर एकीकृत रोजेका मनाङेले पुनः मन्त्रालय सम्हाल्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell