PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

पूर्व चिनियाँ राष्ट्रपति चियाङ जमिनको अन्तिम बिदाइ : ग्रेट हलमा विशेष समारोह



पहिलोपोस्ट

पूर्व चिनियाँ राष्ट्रपति चियाङ जमिनको अन्तिम बिदाइ : ग्रेट हलमा विशेष समारोह
सैन्य अस्पतालमा राखिएको चियाङ जमिनको पार्थिव शरीर। फोटो : सिन्ह्वा।

सांघाई : पूर्व राष्ट्रपति चियाङ जमिनको सम्झनामा बेइजिङमा विशेष समारोहको आयोजना गरिएको छ। गत बुधवार सांघाईमा निधन भएका उनको पार्थिव शरीर बिहीवार बेइजिङ पठाइएको थियो।

उनको सम्झनामा बेइजिङस्थित ग्रेट हल अफ पिपलमा विशेष समारोहको आयोजना गरिएको छ। समारोहमा सीपीसीका महासचिव तथा राष्ट्रपति सि चिनफिङले सम्बोधन गरेका छन्।

समारोहको सुरुवातमै तीन मिनेट मौनधारण गरिएको थियो। ठिक १० बजे देशभर तीन मिनेटको मौन धारण गरिएको छ। हरेक गतिविधि रोकेर सर्वसाधरणहरु मौन धारणमा सरिक भएका थिए।

सम्बोधनका क्रममा राष्ट्रपति सिले सन् १९८९ मा चीनमा भएको अस्थितरता र अराजकताको अन्त्य गरेको भन्दै चियाङ जमिनको स्मरण गरे।

‘कमरेड चियाङ जमिन अन्तर्राष्ट्रिय दवावपूर्ण परिस्थिति र स्थानीय राजनीतिक परिस्थितिकाबिच शक्तिमा आउनुभयो’, उनले भने, ‘१९९० को सुरुवातमै विश्वको सामाजवादी आन्दोलनमा समस्या देखिँदा। देशभित्र राजनीतिक अस्थिरताको स्थिरता हुँदा उहाँले चीनलाई आर्थिक उन्नतितर्फ डहोर्‍याउनु भयो।’

राष्ट्रपति सिले चीनको आधुनिक सुधार र चिनियाँ विशेषतासहितको समाजवादलाई अगाडि बढाउनका लागि चियाङ जमिनले नयाँ सिद्धान्त दिएको बताए।

‘हामी कस्तो देश बनाउँदै छौँ? पार्टी कस्तो बनाउँदै छौँ? यी प्रश्नहरुको जवाफसहित समाजवाद कस्तो हुनुपर्छ भन्ने प्रश्नका जवाफसहित मार्क्सवाद, लेलिनवाद, माओ विचारधारा, तङ स्याऔपिङ विचारधारालाई चिनियाँ विशेषतासहित कामरेड चियाङ जमिनले अगाडि बढाउनुभयो,’ उनले भने।

राष्ट्रपति सिले चियाङ जमिनको स्मरण गर्दै सक्रिय नेतृत्वबाट अवकास लिएपछि पनि सीपीसीलाई अगाडि बढाउन तथा चीनको भ्रष्टाचार विरोधी अभियानमा सहयोग गरेको बताए।

‘कमरेड चियाङ जमिनको देहान्त, सीपीसी, चिनियाँ जनता, सबै समूहका लागि अपूरणीय क्षति हो’, राष्ट्रपति सिले भने, ‘मार्क्सवाद, लेलिनवाद कम्युनिस्ट पार्टीको आधारभूत सिद्धान्त हुन। चियाङ जमिनले हामीलाई थ्रि रिप्रिजेन्ट्सको सिद्धान्त दिएर जानु भयो। यसलाई हामीले अनन्तसम्म अगाडि लैजानुपर्छ।’

पश्चिम बेइजिङमा रहेको पापाओसान रिभोलुसनरी सिमेट्रीमा उनको अन्त्येष्टि गरिएको छ। उनको शव सोमवारसम्म बेइजिङस्थित चाइनिज पीएलए जनरल अस्पतालमा राखिएको थियो। सोमवार नै उनको शवलाई रिभोलुसनरी सिमेट्रीमा स्कर्ट गरी पुर्‍याइएको थियो। उनको अन्त्यष्टि त्यही गरिएको हो।

उनको अन्तिम बिदाइका लागि राष्ट्रपति सिसहित प्रधानमन्त्री लि ख्छ्याङ तथा सीपीसीका स्थायी कमिटीका पदाधिकारीहरु, पूर्व राष्ट्रपति हु जिन्ताओसहितका नेताहरु सैनिक अस्पताल पुगेका थिए। उनको कास्केटलाई अपस्पतालबाट स्कर्ट गर्दा उनीहरु सरिक भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell