PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्वाटरफाइनल खेल्ने सबै टोलीको आज टुंगो लाग्दै: पहिलो खेलमा मोरोक्को र स्पेन, दोस्रोमा पोर्चुगल र स्वीट्जरल्याण्ड भिड्ने



पहिलोपोस्ट

क्वाटरफाइनल खेल्ने सबै टोलीको आज टुंगो लाग्दै: पहिलो खेलमा मोरोक्को र स्पेन, दोस्रोमा पोर्चुगल र स्वीट्जरल्याण्ड भिड्ने
[Pedro Nunes/Reuters]

फिफा विश्वकपमा अन्तिम १६ का अन्तिम दुई खेल आज राति हुँदैछन्।

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा मोरोक्को र स्पेन आमनेसामने हुनेछन्। मोरोक्को समूह 'एफ' को विजेता टोली हो भने स्पेन समूह 'ई' उपविजेता। समूह चरणमा मोरोक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेल्दा क्यानडालाई २-१ र बेल्जियमलाई २-० गोलअन्तरले हराएको थियो। अर्कोतर्फ कोस्टारिकामाथि ७-० को फराकिलो जित निकालेर प्रतियोगिताको सुरुवात गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा जापानसँग २-१ गोलको हार ब्यहोरेको थियो। यी दुई टोली बीचको खेल पौने ९ बजे सुरु हुनेछ।

त्यस्तै भरे राति नै हुने प्रि क्वाटरफाइनलको अन्तिम खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड भिड्नेछन्। स्वीजरल्याण्ड समूह 'जी' उपविजेता हो भने पोर्चुगल समूह 'एच' को विजेता। प्रतियोगितामा क्यामरुनलाई १-० गोलले हराउँदै सुखद सुरुवात गरेको स्वीट्जरल्याण्ड दोस्रो खेलमा ब्राजिलसँग १-० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै समूहको उपविजेताका क्रममा नकआउट चरणमा स्थान पक्का गरेको थियो।

त्यस्तै घानालाई ३-२ गोलअन्तरले हराउँदै प्रतियोगिताको सुरुवात गरेको पोर्चुगलले दोस्रो खेलमा उरुग्वेलाई २-० गोलले हराएको थियो। तेस्रो खेलमा भने दक्षिण कोरियासँग २-१ गोलको हार ब्यहोरे पनि समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो। पोर्चुगल र स्वीजरल्याण्ड पौने १ बजे लुसइल स्टेडियममा आमनेसामने हुनेछन्। 

यी दुई खेलसँग विश्वकपमा क्वाटरफाइनलको समीकरण पुरा हुनेछ। यसअघि नै क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स्,इङ्ग्ल्याण्ड र फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell