PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस, माओवादी र एमालेबाट हेर्न केही बाँकी छैन, हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी



रासस

कांग्रेस, माओवादी र एमालेबाट हेर्न केही बाँकी छैन, हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा प्रतिनिधिसभातर्फ तीन सिट जित्दै संघीय संसदमा प्रवेश गर्दैछ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ।

यो पार्टीको संरक्षकमा रेशम चौधरी हुन्। मंसिर ४ को निर्वाचनमा रेशम चौधरीकी श्रीमती एवं पार्टी अध्यक्ष रञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार चार सय चार मतसहित निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरेकी हुन्। कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए। सोही पार्टीबाट कैलाली क्षेत्र नं २ मा अरुणकुमार चौधरीले २१ हजार आठ सय ७१ मत ल्याएर निर्वाचित भए।  नेकपा एमालेका झपटबहादुर रावललाई पराजित गर्दै उनी विजयी भएका हुन्। यस्तै क्षेत्र नं ३ बाट गङ्गाराम चौधरीले नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका छन्।

रेशम चौधरीका पिता लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्र नं २ बाट २६ हजार पाँच सय २० मतसहित स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका छन्।

वि सं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरी अहिले जेल सजाय भोगिरहेका छन्। तर, उनको पार्टीले निर्वाचन परिणाममा राम्रो नजिजा ल्याएसँगै सरकार गठनका सन्दर्भमा पनि चौधरीको चर्चा चलेकव छ। सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा रेशम चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश :

भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ?

निर्वाचन जनमत परीक्षण गर्ने विधि हो। यसलाई पार्टीले स्वाभाविक रुपमा लिएको छ। यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो। परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ?

निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ। जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन्। हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ। जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौं। तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन। जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा सङ्घ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौं। पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ। स्थानीय तहमा करिब सय जना साथीहरु निर्वाचित भइसक्नुभएको छ।

तपाईंको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ?

टीकापुर घटना राजनीतिक घटना हो। तर पनि हाम्रा साथीहरु जेलमा छन्। कैयौँले मुद्दा खेपिरहनुभएको छ। यसपटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ। टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ।    

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु। उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ। तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ।

मधेश केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?

उहाँहरुप्रति खास केही भन्नु छैन। मैले उहाँहरुलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिएँ। तर उहाँहरुले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो। यसमा निकै दुःख लागेको छ। त्यहाँका जनताले पनि मतमार्फत उहाँहरुप्रतिको गुनासो व्यक्त गरिसकेका छन्। अर्को चन्द्रकान्त (सिके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो। उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको छ। बाँकी त हेर्नु नै छ।

निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबिचमा तपाइँसँग कसैको कुराकानी भएको छ?

म आठ वर्षदेखि जेलमा छु। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सधैँ सरकारमै छन्। मधेश केन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ। उहाँहरुबाट हेर्न केही बाँकी छैन। कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न। 

सरकार गठनमा तपाईंहरुको भूमिका के हुन्छ?

हामी सबैसँग सकारात्मक नै छौँ। जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं। कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो।

त्यसो भए तपाईंहरुको मुख्य माग के हो त?

हाम्रा माग पुरानै छन्। पटक पटक उहाँहरुलाई भनिएकै हो। टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन। फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ। त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्द ।

राससका समाचारदाताद्वय टीकाराम सुनार र सिबी अधिकारीले गरेको कुराकानीको सारसंक्षेप।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell