PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२७५ सदस्यीय प्रतिनिधिसभामा कुन दलको कति सिट? सत्ता गठबन्धनलाई बहुमत पुगेन, ७ दलले 'थ्रेस होल्ड' कटाउँदा एकीकृत समाजवादी बनेन राष्ट्रिय दल



प्रकाश भण्डारी

२७५ सदस्यीय प्रतिनिधिसभामा कुन दलको कति सिट? सत्ता गठबन्धनलाई बहुमत पुगेन, ७ दलले 'थ्रेस होल्ड' कटाउँदा एकीकृत समाजवादी बनेन राष्ट्रिय दल

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक निर्वाचनको मत गणना सम्पन्न गरेको छ। मंगलवार प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणना सकिएको आयोगका सहायका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

प्रदेशको समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको  उनले जानकारी दिए। 'अहिले दिउँसो संघको समानुपातिकको गणना सकिएको छ। प्रदेशको पनि चाँडै सकिन्छ,'उनले भने।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा सोमबार सार्वजनिक गरिसकेको छ। समानुपातिकमा बाँकी ११० जनाका लागि भएको निर्वाचनको मत गणना आज सकिएको हो।

पहिलो एमाले, सातौं जनमत पार्टी

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन भएको थियो। अधिकांश ठाउँमा मंसिर ४ गतेको निर्वाचन पछि मतगणना भएको थियो भने दोलखा, स्याङजा, बाजुरा लगायतका जिल्लामा मतगणना गर्न केहि ढिलाइ भएको थियो। प्रतिनिधिसभाको समानुपातिक तर्फको अन्तिम मतपरिणाम अनुसार ७ दलले ३ प्रतिशतको 'थ्रेस होल्ड' पार गरेको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फ सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ भने थ्रेस होल्ड कटाउने सातौं दल जनमत पार्टी बनेको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएको हो। नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार  ६८४ मत ल्याएको छ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत ल्याएको आयोगले जानकारी दिएको छ। जनता समाजवादी पार्टी, नेपालको ४ लाख २१ हजार ३१३ मत छ।  

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न १८ हजार बढी भोट अपुग

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न सकेन। ३ लाख १६ हजार ८०२ मतको 'थ्रेस होल्ड' कायम भएकोमा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत मात्रै पाएको हो। एकीकृत समाजवादीका लागि थ्रेस होल्ड पार गर्न १८ हजार ४११ मत कमि भएको हो। प्रत्यक्षमा १० सिट जितेर पनि एकीकृत समाजवादीले समानुपातिकको सीमा कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुकेको छ।

गत वर्ष नेकपा एमालेलाई विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गरेका थिए। स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्तामा रहेका दलहरुले चुनावी तालमेल गरेको भए पनि प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न सकेन।

एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ २० ठाउँमा उम्मेदवारी दिएको थियो।  समानुपातिकमा सहभागी भएका ४७ दलमध्ये ७ दलले मात्रै थ्रेस होल्ड कटाउँदा बाँकी ४० दल भने उक्त सीमा पार गर्न असफल भएका छन्। 

कसको कति सिट ?

एमालेको समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरि ७८ सिट पुग्छ प्रतिनिधि सभामा। कांग्रेसको प्रत्यक्षको ५७ र समानुपातिकको ३२ गरि ८९ सिट हुँदा माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरि ३२ सिट पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरि २० सिट, राप्रपाको प्रत्यक्षमा ७ र समानुपातिकमा पनि ७ गरि १४ सिट, जनता समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरि १२ सिट र जनमत पार्टीको समानुपातिकमा ५ र प्रत्यक्षमा १ गरि ६ सिट हुन जान्छ।

थ्रेस होल्ड पार गर्ने ७ दलको प्रतिनिधि सभामा २५१ जना सांसद पुग्छन्। स्वतन्त्र ५, एकीकृत समाजवादीका १०, नेपाल मजदुर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, नागरिक उन्मुक्ति पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना गरि प्रतिनिधिसभाको २७५ जनाको संख्या पूरा हुनेछ।

पुगेन गठबन्धनको बहुमत

समानुपातिकको नतिजासँगै सत्ता गठबन्धनको १३६ सिट पुगेको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको मत १३६ मात्रै पुग्दा सरकार गठनका लागि भने १३८ जनाको बहुमत आवश्यक पर्छ।

गठबन्धनको सिटले मात्रै सरकार गठनका लागि आवश्यक पर्ने बहुमत नपुग्ने देखिएपछि गठबन्धनका नेताहरुले जनमत पार्टीलाई पनि गठबन्धनमा सामेल गराउन गृहकार्य गरिरहेका छन्। प्रतिनिधिसभामा जनमत पार्टीका ६ जना सांसद जोड्दा १४२ जना गठबन्धनको पक्षमा उभिए सत्ता गठबन्धनले सरकार गठन गर्न सक्नेछ। सत्ता गठबन्धनको सोमबारको बैठकले चुनावले मिलेर अगाडि बढ्नुपर्ने सन्देश दिएको निचोड निकालेको थियो।

स्वतन्त्रबाट सांसद बनेका ५ जना मध्ये अमरेशकुमार सिंह नेपाली कांग्रेसबाट बिद्रोह गरेर उम्मेदवार बनेका थिए। एमाले परित्याग गरेर स्वतन्त्र  सांसद बनेका प्रभु साहलाई माओवादी केन्द्रले चुनावमा समर्थन गरेको थियो। गठबन्धनले बहुमत आउने घोषणा सहित चुनावमा होमिएकोमा बहुमतका लागि २ जना सांसद अपुग हुने देखिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell