PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बीबीसी ‘हन्ड्रेड वुमन’को सूचीमा युक्रेनका राष्ट्रपतिकी श्रीमतीदेखि प्रियंका चोपडासम्म



पहिलोपोस्ट

बीबीसी ‘हन्ड्रेड वुमन’को सूचीमा युक्रेनका राष्ट्रपतिकी श्रीमतीदेखि प्रियंका चोपडासम्म

सन् २०२२ को बीबीसी ‘हन्ड्रेड वुमन’को सूचीमा अभिनेत्री प्रियंका चोपडाको नाम समावेश गरिएको छ। यो वर्ष बलिउड नायिका प्रियंकाको नाम समावेश गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

यस सिजनमा पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा हेडलाइन बनाइएका महिलाहरूको अनुहार देख्न सकिनेछ। सूचीमा युक्रेनको युद्धमा काम गर्ने महिला स्वास्थ्यकर्मीदेखि इरानमा आन्दोलनरत महिला समावेश छन्। जसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्की र इरानी खेलाडी एलनाज रेकाबी रहेका छन्।

भारतीय अभिनेत्री प्रियंका चोपडाका साथै अमेरिकी गायक/गीतकार बिली आइलिसलाई पनि यस वर्षको १०० महिलाको सूचीमा राखिएको छ। १०औँ संस्करणको बीबीसीको १०० महिलाको यसवर्षको नारा ‘प्रगति’ रहेको छ। जसले पछिल्लो दशकमा आएका परिवर्तनलाई हेर्नेछ।

बीबीसीले ‘हन्ड्रेड वुमन’ कार्यक्रम सन् २०१२ मा दिल्लीमा भएको सामुहिक बलात्कार घटनापछि सुरु गरेको हो। मिडियामा महिलाहरु सम्बन्धित खबरलाई स्थान मिलोस् भन्ने उद्देश्यले यो सुरु भएको हो।

यस वर्ष ‘१०० महिला’ अन्तर्गत बीबीसीको टिभी, रेडियो, आइप्लेयर र वेबसाइटलगायत अन्य माध्यमबाट विशेष कार्यक्रम प्रसारण गरिनेछ। साथै, अमेरिकी गायक बिली आइलिससँगै अभिनेत्री प्रियंका चोपडा, अपाङ्गता अधिकार अधिवक्ता सेल्मा ब्लेयर र हलिउड आइकन रिटा मोरेनाको अन्तर्वार्ता पनि प्रसारण हुनेछ।

यस सिजनमा महिलाको प्रजनन अधिकार उल्लंघनसँग सम्बन्धित वृत्तचित्र पनि प्रशारण हुनेछन्। ‘१०० महिला’ सूचीमा परेका महिलालाई केही नाम सुझाव दिन आग्रह गरिएको यो पहिलो पटक हो।

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यस वर्षको पुरस्कारका लागि ब्राजिलका पत्रकार र जलवायु परिवर्तन अभियन्ता एलिस पाटासनलाई मनोनयन गरेकी छिन्।

‘यो वर्ष बीबीसीको १०० महिलाको सूचीमा परेका महिला उत्कृष्ट छन्। उनीहरुले आफ्नो कामबाट समुदाय र समाजमा योगदान पुर्‍याएका छन्। मलाई गर्व छ कि बीबीसीले यी महिलाहरूलाई अगाडि ल्याउन र हाम्रो प्रथम श्रेणीको पत्रकारिता र कथा कथन प्रयोग गरेर उनीहरूका कथाहरू विश्वभर फैलाउन महत्त्वपूर्ण काम गरिरहेको छु,’ बीबीसीका महानिर्देशक टिम डेभीले भने।

बीबीसीले हरेक वर्ष आफ्नो सूचीमा विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलालाई स्थान दिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell