PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’



अनन्तराज न्यौपाने

गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’

विराटनगरः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदलौँ भनेर अघि बढ्न खोज्दा बाबु कति वर्षको भनेर सोध्ने संस्कारको अन्त्य हुनु आवश्यक भएको विचार व्यक्त गरेका छन्।

पार्टीका नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’को विराटनगरमा मंगलबार भएको लोकार्पण समारोहमा महामन्त्री थापाले उमेरसम्बन्धी गलत संस्कार र धारणाको अन्त्य गर्नुपर्ने बताएका हुन्।

थापाले नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन्।

उनले आगामी पाच वर्षमा काङ्ग्रेसले मुलुकको सरकार यसरी चलाउनुपर्छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आग्रह गरे।

‘सरकारले सुशासन, परिणाम र उपलब्धि दिनसके मात्र पार्टीप्रतिको आकर्षण बढ्नेछ’, उनको भनाइ थियो, ‘हामीले आगामी पाँच वर्षमा सरकार कसरी चलाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न सक्यौँ भने हाम्रो पार्टीको गुमेको लोकप्रिय मत फिर्ता गर्न सक्छौँ। हाम्रो लोकप्रिय मत गुमेर २७ प्रतिशतमा आइपुगेको छ, त्यसलाई ४० मा पुर्‍याउन सक्छौँ।’

उनले यसपछि नेता घिमिरेले बाटो बिराएको राजनीति होइन बाटो सुध्रिएको राजनीति नामको पुस्तक लेख्नुहुने दाबी गरे।

महामन्त्री थापाले आगामी सरकारले भर्खरै सकिएको चुनावका बेलामा बिहान ५ बजे घरबाट हिँडेर घरदैलो गरेर राति १२ बजे घर आएर सुतेजस्तो गरेर काम गर्न सके मात्र मुलुकको डावाडोल अर्थतन्त्र सह्मालिन सक्ने बताए।

उनले यसका लागि स्पष्टता, प्रतिबद्धता र चरित्र भएको नेताको आवश्यकता भएको विचार राखे।

थापाको कथन थियो, ‘निजी कम्पनी चलाएजस्तै तलाईं यति वर्ष, मलाई यति वर्ष भन्ने तमसुक गरेर अनि त्यो तमसुक लुकाएर, खासखुस गरेर अबको सरकार चल्नेवाला छैन।’

महामन्त्री थापाले अब पनि देशका प्रदेश सभा र प्रदेश सरकारहरूले आफ्नो औचित्य प्रमाणित गर्न सकेनन् भने जनताले सडकबाटै प्रदेशका संरचना हटाइदिने घोषणा गरे।

उनको धारणा थियो, ‘आगामी ५ वर्षसम्म प्रदेश संरचनाहरू कि त कामकाजी हुन्छन् अन्यथा आन्दोलनबाट फालिनेछन्।’

पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले भर्खरै सकिएको निर्वाचनमा पार्टीको लोकप्रिय मत ७ प्रतिशतभन्दा बढीले घटेको भन्दै चिन्ता व्यक्त गरे।

कोइरालाका अनुसार २०६४ सालमा माओवादीको बिगबिगी हुँदा कुल २४० सिटमा काङ्ग्रेसको २३ सिट आउँदा पनि लोकप्रिय मत ३३ प्रतिशत थियो। तर अहिलेको निर्वाचनले यस्तो मतलाई साढे २५ प्रतिशतमा खुम्च्याइदिएको छ। त्यसैले नेपाली काङ्ग्रेसको साख खस्किएको हो कि भन्ने सबैलाई लागेको छ।

कोइरालाले २०७४ को निर्वाचनमा २३ सिट पाएको काङ्ग्रेसले आफ्नो सिट सङ्ख्या बढाएर ५७ बनाउँदा पनि लोकप्रिय मत घट्नु गम्भीर विषय भएको जिकिर गरे।

उनको आग्रह छ, ‘यसका लागि पार्टीले एउटा स्वतन्त्र अनुसन्धान समूहको गठन गर्नुपर्छ। र, किन यस्तो परिणाम आयो भनेर सबैले गम्भीर भएर छलफल गर्नुपर्छ।’

उनले पार्टीमा आफू नेतृत्वमा आउने उद्देश्यले क्रियाशील सदस्यताको वितरण गर्दा अन्तर्घातजस्तो विकृति भित्रिएको चर्चा गरे।

कोइरालाको भनाइ थियो, ‘केही नबुझेको र पार्टीमा केही नगरेको व्यक्ति क्रियाशील बनाइन्छ। अनि त्यही व्यक्ति महाधिवेशन, महासमिति र केन्द्रीय समितिसम्म पुग्छ। खासमा त्यस्तै व्यक्तिले अन्तर्घात गरेको हुन्छ।’

पार्टीका अर्का नेता डा. चन्द्र भण्डारीले नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने दाबी गर्दै यसका लागि युवा पुस्तामा नेतृत्वको हस्तान्तरण आवश्यक भएको बताए।

डा. भण्डारीले अबका साथीहरूले मेरैजस्तो कपाल फुलाउने कि नेतृत्व खोसेर लिने भन्ने प्रश्न गरे।

उनले आफ्नो सानो समूहको मात्र नेता बन्ने र सिङ्गो पार्टीको नेता बन्न नसक्ने व्यक्ति नेतृत्वमा भएका कारणले नै यो मुलुकको दुर्गति भएको हो भन्ने विचार व्यक्त गरे।

पुस्तकका लेखक घिमिरेले प्रत्येक नेतासित जनताले हिसाब माग्ने उल्लेख गर्दै नेताले जनतालाई हिसाब बुझाउन सक्नेगरी राजनीति गर्नुपर्ने सुझाव दिए।

नेता घिमिरेले प्रजातन्त्रको पुनःस्थापना र त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको यतिका वर्ष बितिसक्ता पनि जनताको जीवनस्तर जस्ताको तस्तै रहेको चर्चा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell