PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

समानुपातिक उम्मेदवार बुझाउन आयोगले दललाई ३ दिनको समय दिने, राष्ट्रपतिसम्म कहिले पुग्छ निर्वाचन परिणाम?



प्रकाश भण्डारी

समानुपातिक उम्मेदवार बुझाउन आयोगले दललाई ३ दिनको समय दिने, राष्ट्रपतिसम्म कहिले पुग्छ निर्वाचन परिणाम?

काठमाडौं: निर्वाचन आयोगले समानुपातिक तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न गरेको छ। मंगलबार आयोगले मतगणना सम्पन्न गरेको हो। उक्त नतिजाबारे थप निर्णय गर्न आयोगमा मंगलबार बैठक बसेको थियो। मतगणना सकिएपछिको प्रक्रियालाई टुंग्याउने तयारीमा आयोग लागेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

कस्तो हुन्छ प्रक्रिया?
समानुपातिक तर्फ प्रतिनिधि सभामा ११० र प्रदेश सभाका २२० जनाका लागि निर्वाचन भएको थियो। दलहरुले समानुपातिकमा पाएको मत आधारमा आयोगले सूत्र प्रयोग गरेर कुन दलले कति सिट पाए भन्ने निकाल्ने छ।

'अब आयोगले दलले पाएको मतका आधारमा सूत्र प्रयोग गरी दलको सिट निकाल्छ,' अर्यालले भने।

दलले पाउने सिट यकिन भइसकेपछि आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउने तयारी गरेको छ। 

३ दिनको समय दलहरुलाई
निर्वाचन आयोगले उम्मेदवारको नाम पठाउन दलहरुलाई ३ दिनको समय दिने तयारी गरेको छ। आयोगमा दलहरुले बुझाएको बन्दसूचीमा भएका नामहरुबाट क्रमबद्ध रुपमा नाम पठाउनुपर्ने अर्यालले बताए। उक्त नाममा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने छ। निर्वाचन आयोगले अरु ठाउँको मतगणना केही दिन अघि नै सकिसकेको थियो। सोमबार र मंगलबार बाजुरा र दोलखाको समानुपातिकको मतगणना गरेको हो।

राष्ट्रतपिकहाँ कहिले पुग्छ रिपोर्ट?
निर्वाचन आयोगले दलहरुले उम्मेदवारको नाम टुंगो लगाउन २३ गतेसम्मका लागि समय दिने तयारी गरेको छ। उम्मेदवारको नाम टुंगो लगाएसँगै आयोगले निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ। 

'अब २३ गते सम्म दलहरुले बुझाए भने २६ गते सम्म राष्ट्रपतिलाई बुझाउने भन्ने तयारी छ। अब त समय लाग्दैन्,' अर्यालले भने।

निर्वाचन परिणाम आयोगले बुझाएपछि सरकार गठन र संसद् अधिवेशन आह्वानको प्रक्रिया सुरु हुने छ। 

एमाले पहिलो बन्यो
समानुपातिक निर्वाचनमा सहभागी ४७ दलमध्ये ७ दलले मात्रै ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्। १ करोड ५ लाख ६० हजार ६७ मत समानुपातिक तर्फ सदर भएको थियो। थ्रेसहोल्ड कटाउन उक्त मतको ३ प्रतिशत अर्थात ३ लाख १६ हजार ८०३ मत ल्याउनुपर्ने थियो। सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि उक्त थ्रेसहोल्ड पुरा गर्न सकेन। समानुपातिकमा नेकपा (एमाले) सबैभन्दा धेरै मत ल्याउने दल बनेको छ। 

एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएको हो। प्रत्यक्षतर्फ ४४ सिट ल्याएर दोस्रो भएको एमाले समानुपातिकमा भने पहिलो दल बनेको हो।नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत ल्याएको छ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत ल्याएको आयोगले जानकारी दिएको छ। जनता समाजवादी पार्टी, नेपालको ४ लाख २१ हजार ३१३ मत छ।  

कसको कति सिट?

एमालेको समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरि ७८ सिट पुग्छ प्रतिनिधि सभामा। कांग्रेसको प्रत्यक्षको ५७ र समानुपातिकको ३२ गरि ८९ सिट हुँदा माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरि ३२ सिट पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरि २० सिट, राप्रपाको प्रत्यक्षमा ७ र समानुपातिकमा पनि ७ गरि १४ सिट, जनता समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरि १२ सिट र जनमत पार्टीको समानुपातिकमा ५ र प्रत्यक्षमा १ गरि ६ सिट हुन जान्छ।

थ्रेसहोल्ड पार गर्ने ७ दलको प्रतिनिधि सभामा २५१ जना सांसद पुग्छन्। स्वतन्त्र ५, एकीकृत समाजवादीका १०, नेपाल मजदुर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, नागरिक उन्मुक्ति पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना गरी प्रतिनिधिसभाको २७५ जनाको संख्या पूरा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell