
काठमाडौं : विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन्। तर, प्रहरीमा भने यस किसिमका अपराधबारे न्यून उजुरी पर्ने गरेको छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तो ठगी गतिविधिमा संलग्न केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम रोकिएको छैन।
पोर्चुगल पठाइदिने नाममा २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
घिमिरेले उमेश अधिकारीसमेत गरि चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ। आचायले पोर्चुगल जान १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको छ।
यसरी पोर्चुगल गएपछि मासिक एक लाख कमाइ हुने भनि प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट २७ लाख असुलेको खुलेको छ। आचार्यलाई थप कारबाहीका लागि मंगलवार वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा बुझाइएको छ।