PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भक्तपुर र ललितपुरका सडक झिलिमिली हुँदा काठमाडौंका सडक भने अन्धकार, बत्ती राख्न प्राधिकरणसँग 'बार्गेनिङ' गर्दै महानगर



दिनेश खड्का

भक्तपुर र ललितपुरका सडक झिलिमिली हुँदा काठमाडौंका सडक भने अन्धकार, बत्ती राख्न प्राधिकरणसँग 'बार्गेनिङ' गर्दै महानगर
FILE PHOTO

काठमाडौं : साँझमा कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा सडक झिलिमिली हुन्छ। भक्तपुरका धेरैजसो सडकमा बत्ती बलेको हुन्छ। ललितपुर महानगरपालिकाका गल्ली-गल्ली पनि सडक बत्ती राखेर झिलिमिली छन्। ललितपुरका मेयर चिरिबाबु महर्जनले धेरैजसो टोलको सडकमा बत्ती पुर्‍याइसकेका छन्। तर, देशको राजधानी काठमाडौं महानगरका मुख्य सडकहरु अँध्यारा छन्।

भक्तपुर र ललितपुरका गल्ली-गल्ली झिलिमिली हुँदा पनि काठमाडौं किन छ अँध्यारो? काठमाडौं महानगरपालिकाले अनावश्यक सर्त राखेर सडक बत्ती राख्न आफैं ढिलाइ गरिरहेको स्रोतले बताएको छ।

नेपाल विद्युत प्राधिकरणले सडकबत्ती राख्न ४० र ६० प्रतिशत लगानीको योजना ल्याएको छ। यो योजना अनुसार सडकमा राख्ने स्मार्ट बत्तीका लागि प्राधिकरणले ४० र महानगरले ६० प्रतिशत लगानी गर्नुपर्छ। यो योजना अनुसार अरु नगरपालिकाहरुले बत्ती राखेका छन्। तर, काठमाडौं महानगरले ६० प्रतिशत लगानी नराख्ने भन्दै बार्गेनिङ गरिरहेकाले सडक अँध्यारो भएको हो।

'राजधानीको सडक अँध्यारो छ। तर महानगरले अनावश्यक सर्त राखेर बसिरहेको छ,' प्राधिकरणका एक अधिकृतले भने, 'यस्तो संवेदनशील विषयमा मेयर आफैं अग्रसर हुनुपर्ने हो।' प्राधिकरण र काठमाडौं महानगरबिच सम्पत्ति कर र विद्युत महसुलको विषयमा चर्को विवादले पनि यो अगाडि नबढेको स्रोतले बताएको छ।

महानगरले आफ्नो नाम रहेको भवन तथा सम्पत्तिको विवरण बुझाएर प्राधिकरणले कर नतिरेको भन्दै सूची निकालेको थियो। त्यसको प्रतिउत्तरमा प्राधिकरणले २ अर्ब रुपैयाँ बराबरको बिजुलीको महसुल महानगरपालिकाले नतिरेको सूचना जारी गरेको थियो। यो विवादको छाया सडक बत्तीमा परेको स्रोतको दाबी छ।

काठमाडौंका मुख्य सडकहरुमा स्मार्ट स्ट्रीट लाइट राख्ने विषयमा २०७६ माघ ३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा निर्णय भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोड, त्रिपुरेश्वर, महाराजगंज, नवनिर्मित रिङरोड (कलंकी-कोटेश्वर), सूर्यविनायक-कोटेश्वर, बालुवाटार लगायतको एरियामा जडान गर्ने सहमति भएको थियो। र, अरु ठाउँ पहिचान गर्ने र उपत्यकाभरि नै बत्ती राख्ने योजना थियो।

२०७७ मंसिर २५ गते काठमाडौं महानगरपालिका, सडक विभाग  र विद्युत प्राधिकरणबिच यसै विषयमा सहमति पनि भएको थियो। सहमति अनुसार एक वर्षमा बत्ती राखिसक्नुपर्ने थियो। तर, अहिलेसम्म महानगरको असहयोगका कारण कामले गति लिन सकेको छैन।

प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीका अनुसार अहिले योजनाअनुसार सोलार बत्ती राखिएकै पोलहरुमा स्ट्रीट लाइट राख्न लागिएको हो। 'सोलार बत्तीको सम्झौता एउटा कम्पनीसँग भएको छ। विज्ञापन राख्नेगरि सहमति भएको छ। हामीले उहाँहरुलाई बोलाइराखेका छौं,' उनले भने,'हामी छिट्टै सहमति गर्छौं। त्यही हिसाबले काम अघि बढेको छ। तर, यसका लागि महानगरको पनि सहयोग चाहिन्छ।'

उनका अनुसार महानगरले सहमति दिनेबित्तिकै ७० किलोमिटरमा बत्ती राख्न लागिएको हो। दायाँ र बायाँ गरि करिब ३५ किलोमिटरमा यस्तो बत्ती राखिने छ। योजनाअनुसार एयरपोर्टबाट बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकीसम्म एउटा रुट छ। माइतीघरबाट सिंहदरबार घुमेर पुतलीसडक-रत्नपार्क, लाजिम्पाट हुँदै चक्रपथसम्म अर्को रुट हुनेछ। एयरपोर्ट, पशुपति वरिपरिको क्षेत्रमा समेत सडक बत्ती राख्न लागिएको छ।

के गर्दैछ प्राधिकरण?

प्राधिकरणले ठेक्का निकालेर आवेदन दिएका कम्पनीहरुको मूल्यांकन अघि बढाएको छ। '२/३ वटा कम्पनी प्राविधिक प्रस्तावमा पास हुन्छन्। उनीहरुसंग आर्थिक प्रस्ताव माग्छौं। खरिद ऐन अनुसार उत्कृष्ट कम्पनीले ठेक्का पाउँछ,' प्राधिकरणका एक अधिकारीले भने।

ज्ञवालीका अनुसार प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनलायले सोलार बत्तीको जिम्मा दिएको थियो। निर्देशनालयले आयोजनालाई सो पोलहरु प्रयोगको अनुमति दिनुपर्छ। पोल राख्ने कम्पनीको समेत स्वीकृति चाहिन्छ। प्राधिकरणले कोटेश्वर-सूर्यविनायक, भक्तपुर खण्डमा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ। सडक खण्डको बिचमा रहेको मेडियन स्ट्रीप आइल्याण्डमा जडान गरिएको छ। 

सडकका पोलमा १२० वाटका क्षमताका बत्तीहरु जडान गरिएको छ। विद्युत कम खपत गर्ने तर उज्यालो बढी दिने ४५० बत्तीहरु जडान गरेको दाबी गरिएको छ। त्यसका लागि छुट्टै ट्रान्सफर्मर राखिएको छ। आफ्नो क्षेत्रमा पर्ने सडकमा बल्ने बत्तीको सम्बन्धित नगरपालिकाले नै विद्युत महसुल तिर्नुपर्ने व्यवस्था गरिएको छ।

स्मार्ट बत्ती संचालनको प्रणाली प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था सफ्टवेयरबाटै छ। सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै हेर्न मिल्ने व्यवस्था गरिएको छ।

प्राधिकरण पन्छिन मिल्दैन : काठमाडौं महागरपालिका

मुलुकको संघीय राजधानी काठमाडौंका मुख्य सडकहरु अँध्यारो हुनुमा महानगरभन्दा विद्युत प्राधिकरणले नै बढी जिम्मेवारी लिनुपर्ने काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन्। काम गर्न सम्झौता भइसकेकाले सडकबत्तीका लागि लगानी हुने पैसा नरोकिने उनी बताउँछन्।

'हाम्रो रातो किताबमा आएको बजेट चलाउन मिल्दैन। सारा काठमाडौं अँध्यारो छ। छिटो-छिटो बत्ती बाल्न परिसक्यो,' उनले भने 'प्राधिकरणसँग सम्झौता छ, अरुलाई दिन मिल्दैन। हामी चाँडै गर्नुपर्‍यो भनिरहेका छौं।'

प्राधिकरणले पैसा नदिएर रोकेको भन्न नमिल्ने उनले बताए। बरु उसको जिम्मेवारीको काम भएकाले सुरु गरिहाल्नु पर्ने उनले प्रष्ट पारे ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell