PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

अमेरिकामा हुने नेफ्टा अवार्डमा सरप्राइज दिने आयोजकको तयारी



पहिलोपोस्ट

अमेरिकामा हुने नेफ्टा अवार्डमा सरप्राइज दिने आयोजकको तयारी

काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ। आउँदो जेठ १३ गते टेक्ससमा हुन लागेको अवार्डमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने बताइएको छ।

बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर सार्वजनिक गरिएको छ। कार्यक्रममा निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको शुभकामना दिए। त्यस्तै, अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतिपूर्ण हुने भए पनि कार्यक्रम सफल हुने विचार राखे।

फिल्म अवार्डलाई यसपटक अमेरिकामा पुर्‍याउन पाउँदा खुशी लागेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए। ‘कोरोना महामारीपछि नेपाली फिल्मको बजार अझै विस्तार भएको छ। अमेरिकालाई नेपाली फिल्मसँग जोडेर हेर्न सकेको खण्डमा नेपाली फिल्म क्षेत्रले अझै फाइदा लिनेछ भन्नेमा विश्वस्त छौं,’ उनले भने।

यसअघि नेपालसँगै मलेसिया, कतार, हङकङ र दुबईमा यो अवार्ड आयोजना भएको थियो।

अवार्डमा राजनीतिज्ञसहित नेपाली फिल्म क्षेत्रका राजेश हमाल र नीर शाह लगायतका ३ दर्जन बढी कलाकार सहभागी हुने अध्यक्ष लामाले सुनाए। 

४२ विधा रहेको अवार्डलाई भव्यताका साथ थुप्रै सरप्राइज सहित आयोजना गरिने फेम नेपालका संचालक विमल कुमार पछाईले जानकारी दिए। उनले अवार्डमा हलिउड र बलिउडका प्रतिनिधिहरुलाई समेत सहभागी गराउने कोसिस भइरहेको बताए।

यो अवार्ड ६३ सय दर्शक अट्ने क्षमता भएको टेक्सस ट्रष्ट सियू थिएटरमा आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell