
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किने भएका छन्। उनीविरुद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए।
संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ।
गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाअभियोग दर्ता भएको थियो। जबरामाथि न्यायपालिका जगेर्ना गर्न असक्षम रहेको, अदालतमा विचौलिया र भ्रष्टाचारलाई बढावा दिएको, इजलास बाहिर बोल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको, सरकार प्रमुखसँग मन्त्री पदका लागि ‘बार्गेनिङ’ गरेको लगायत आरोपहरु लागेका थिए।