PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मधेशमा सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसदको भूमिका अहम, को बन्ला मुख्यमन्त्री?



राधेश्याम पटेल

मधेशमा सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसदको भूमिका अहम, को बन्ला मुख्यमन्त्री?

वीरगंज : प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ। आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री र मन्त्रीका लागि लबिङ गर्न थालेका छन्।

मधेश प्रदेशमा प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७, जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४-४ सिट जितेका छन। विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन्।

प्रत्यक्षतर्फ २९ सिट जितेको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आँकलन गरिएको छ। प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले-जसपा-राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आँकलन गरिएको छ। त्यसैगरि, प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ। यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य निर्णायक हुने देखिन्छ।

मधेशमा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरि कुल १०७ प्रदेशसभा सदस्यमध्ये ६४ जना सरकार गठनका लागि चाहिन्छन्। सत्ता गठबन्धनले सरकार गठनका लागि ६ जना स्वतन्त्र सांसद र जनमत पार्टीसँग छलफल गरिरहेको छ। स्वतन्त्र उम्मेदवार वा जनमत पार्टीले गठबन्धनलाई सहयोग गरे मधेश प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्न सक्छ।

एमाले र जसपा सहकार्यले निरन्तरता नपाउने अवस्थामा मधेशको सत्ता समीकरण पनि नयाँ सम्भावनातर्फ अघि बढेको छ।

सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख दाबेदार हुन सक्छन्। संविधानसभाका सभासदसमेत रहेका यादव रौतहट १ (ख) बाट निर्वाचित भएका हुन्। निर्वाचनका बेला एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उनलाई मुख्यमन्त्री उम्मेदवार भन्दै चिनाएका थिए।

यसबाहेक प्रदेशका पूर्व मन्त्री रामसरोज यादव र पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्री पनि मुख्यमन्त्रीका आकांक्षी छन्। जसपाले सत्ता गठबन्धनसँग निकटता बढाउँदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिन दबाब दिइरहेको छ। त्यसैगरि, एमालेले पनि अन्य दलसँग सरकार गठनको लागि पहल गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell