PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

हिमाल र आरोही चिनाउने पोखराको पर्वतीय संग्रहालय

हिमाल र आरोही चिनाउने पोखराको पर्वतीय संग्रहालय

रिना थापा/पहिलोपोस्ट


पोखरा : गण्डकी यस्तो प्रदेश हो जहाँ आफनै भूगोलभित्र ८ हजार माथिका हिमालका चुचुराहरु छन्। र, यहीँ छ हिमाल आरोहणको गर्विलो इतिहास पनि।

सन् १९५० मा मौरिस हर्जोगका पाइलाहरु अन्नपूर्ण तेस्रोमा पुगेका थिए। त्यसको तीन वर्षपछि मात्र सगरमाथामा आरोहण सुरु भएको थियो।

हिमाल आरोहणको इतिहास रचेका मौरिसका बारे बुझ्न उनी जीवित त छैनन्। तर, उनलाई जीवन्त बनाउने माध्यम बनेको छ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय।

गण्डकीमा रहेका ८ हजारभन्दा अग्ला धौलागिरी, अन्नपूर्ण र मनास्लु जस्ता चुचुरा र चुचुरोसम्म पुग्ने आरोहीहरुलाई चिनाउने साझा थलो बनेको छ पोखरा-१७ मा रहेको पर्वतीय संग्रहालय। विश्वको अग्ला चुचुरोमा आरोहण गर्ने आरोहीहरुको ऐतिहासिक सामग्री र तथ्यहरु देख्न पाइन्छ संग्रहालयमा।

यो बाहेक यहाँ साँस्कृतिक रहनसहन र भेषभुषा झल्काउने साम्रागी पनि देख्न पाइन्छ। संग्रहालयले हिमालदेखि तराई र पहाडको संस्कृति झल्काउँछ।

यस्तै, गण्डकी क्षेत्रमा रहेको संस्कार, संस्कृतिबारे बुझाउने सामग्री पनि देख्न सकिन्छ। सन् २००५ बाट औपचारिक रुपमा पर्यटकको लागि खुल्ला भएको संग्रहालयमा दैनिक हजारभन्दा बढी पर्यटक आउँछन्।

पोखरामा घुम्ने स्थलमध्येको प्रमुख गन्तव्यमा संग्रहालय पनि पर्छ। विद्यार्थीहरुको लागि संस्कृति र भेषभुषा बुझाउन सहज हुने थलो पनि बनेको छ संग्रहालय। त्यसैले पनि संग्रहालयमा दैनिक घुम्न आउने विद्यार्थीहरुको उपस्थिति बढी हुन्छ।

शैक्षिक भ्रमणको यो समयमा पोखरा बाहिरका विद्यार्थीहरुको चाप हुने समय पनि हो यो। हिमाल खुल्ने यो समयमा पर्वतीय संग्रहालयबाट देखिने माछापुच्छ्रेको चुचुरोले पनि विद्यार्थीसँगै पर्यटकको मन लोभ्याउँछ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको पूर्व सन्ध्यामा छ संग्रहालय। नेपाल पर्वतारोहण संघले डिसेम्बर ११ मा मनाइदै आएको पर्वतीय दिवस मनाउनलाई महोत्सव आयोजना गरेको छ। ‘वुमन मुभ माउन्टेन’नारा सहित मनाउन लागिएको ७औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवले यसवर्ष पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell