PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोभिड-१९ विरुद्ध चीनको १० बुँदे नयाँ नियम : अनिवार्य परीक्षण हट्यो, यात्रा गर्दा हेल्थ कोडसमेत देखाउन नपर्ने



विधुर ढकाल

कोभिड-१९ विरुद्ध चीनको १० बुँदे नयाँ नियम : अनिवार्य परीक्षण हट्यो, यात्रा गर्दा हेल्थ कोडसमेत देखाउन नपर्ने
Photo : Reuters

सांघाई: चीनले देशव्यापी रुपमा कोभिड-१९ सम्बन्धि नियमलाई खुकुलो पारेको छ। कोभिड-१९ विरुद्धका कडा नियमलाई थप समायोजन र अनुकुल बनाउँदै चीनले १० बुँदे नयाँ निमय जारी गरेको छ। 

चीनको स्टेट काउन्सिलले परिवर्तित अवस्थालाई मध्य नजर गर्दै नयाँ नियम ल्याएको हो। जसअनुसार अब नियमित कोभिड-१९ को परीक्षण देखि सार्वजनिक स्थानमा प्रवेशका लागि नियमलाई खुकुलो पारिएको छ। 

अब कोभिड-१९ का सामान्य लक्षण भएका वा लक्षण नै नभएका संक्रमितको हकमा घरमा नै क्वारेन्टिनमा बस्न दिइनेछ। यद्यप‍ि, उनीहरुलाई सामुहिक क्वारिन्टिन सुविधा रोज्न छुट भने दिइएको छ। घरमा नै क्वारिन्टिन बस्नेको हकमा स्वास्थ्य अनुगमनलाई कडाइ पार्ने तथा संक्रमितको सम्पर्कमा रहेकाहरुको हकमा पनि पाँच दिन होम क्वारेन्टिन वा सामुहिक क्वारेन्टिनमा रहनुपर्ने उल्लेख छ। 

त्यस्तै, नयाँ नियम अनुसार न्युक्लिक टेस्टिङ, आम परीक्षणलाई कम गर्दै लैजाने र एन्टिजिन परीक्षणलाई आवश्यकता अनुसार गर्न सकिने छ। नर्सिङ होम, सामाजिक भवनहरु, स्वास्थ्य संस्थाह, बाल स्याहार केन्द्र, प्राथमिक तथा माध्यामिक विद्यालय जस्ता निर्धारित क्षेत्र बाहेकका स्थानमा प्रवेशका लागि न्युक्लिक एसिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने र यस्तो स्थानमा हेल्थ कोड पनि नहेरिने नयाँ नियममा उल्लेख छ। 

देश भित्रै एक क्षेत्रबाट अर्को क्षेत्रमा यात्रा गर्दा देखाउनुपर्ने नेगेटिभ परीक्षण रिपोर्ट र हेल्थ कोड पनि अब देखाउनुपर्ने छैन। यसअघि यात्रा गर्दा एयरपोर्ट तथा रेल स्टेसनमा यस्ता रिपोर्ट परीक्षण गरिँदै आएको थियो। नयाँ नियम अनुसार खोप दरलाई बढाइने भएको छ। विशेष गरी ६० देखि ७९ वर्ष र ८० वर्ष माथिका उमेर समूहका नागरिकमा खोप वितरण बढाउनका लागि विशेष व्यवस्था गरिने भएको छ। त्यस्तै वृद्ध वृद्धाका लागि खोप दिनका लागि केन्द्रहरु स्थापना हुनेछन्। 

सामान्य दैनिक जीवनलाई अगाडि बढाउनका लागि स्वास्थ्य सेवा तथा अन्य कार्यहरुलाई रोकिने छैनन्। कुनै पनि कार्य तथ उत्पादन तथा व्यवसायीक गतिविधिमा रोक लगाइने छैन। 

अधिकारीहरुले स्वास्थ अवस्थाको व्यवस्थापन र वर्गीकरणलाई बलियो बनाउनुपर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ। साथै उनीहरुले स्थानीय स्वास्थ्यकर्मी तथा पारिवारिक चिकित्सकहरु नै कोभिड-१९ विरुद्ध गेट किपर बन्नुपर्ने बताएका छन्। साथै समुदायलाई अवस्थाको अनुगमन तथा जोखिमपूर्ण समुदायलाई ध्यान दिन अनुरोध गरेका छन्। 

साथै, विद्यालयहरुलाई वैज्ञानिक रोकथामका नियम लागु गर्न भनेको छ। त्यस्तै संक्रमण नभएका क्याम्पसहरुलाई सामान्य जस्तै अफलाइन क्लास संचालन गर्न तथा क्याम्पसभित्रका सुपमार्केट, क्यान्टिन, रंगशाला, पुस्तकालयलाई सामान्य रुपमा संचालन गर्न भनिएको छ। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड-१९ विरुद्धको टास्क फोर्सका प्रमुख लियाङ वाननियानले नयाँ खुकुलोपन पूर्ण रुपमा खुलापन नभएको भन्दै अझै सतर्कता अपनाउनुपर्ने बताएका छन्। बुधवार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले महामारी विरुद्ध देशले थप वैज्ञानिक उपायह अपनाएको भन्दै नयाँ नियम कोभिड भेरियन्टका नयाँ विशेषता अनुसार लागु गरिएको बताए। 

उनले नयाँ नियमले कोभिड-१९ विरुद्धका नयाँ नियमले जनजीवनलाई सामान्य बनाउने तथा र्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा राखेका बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell