PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गण्डकीमा कांग्रेस बन्यो ठूलो दल: कस्को नेतृत्वमा बन्ला सरकार?



रिना थापा

गण्डकीमा कांग्रेस बन्यो ठूलो दल: कस्को नेतृत्वमा बन्ला सरकार?

पोखरा: गण्डकी प्रदेश सभामा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८, नेकपा (एमाले)ले १२, नेकपा (माओवादी केन्द्र) ले ४, नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्रबाट दीपक मनाङेले जितेको छन्। यद्यपि, स्वतन्त्र रुपमा निर्वाचित भएपनि मनाङे हाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

कुल २४ सिटको समानुपातिकतर्फ एमालेले १० सिट जितेको छ। यस्तै, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिटमा जित निकालेका छन्।

दोस्रो दल बनेको एमालेले प्रत्यक्ष र समानुपातिक गरी २२ सिट पाएको छ भने माओवादी केन्द्रले ७ पाएको छ।

गठबन्धन कायम रहे गण्डकीमा कांग्रेस र माओवादी केन्द्र मात्र मिलेपनि ३१ जनाको स्पष्ट बहुमत मिल्छ। तर, माओवादी केन्द्रले कसलाई समर्थन दिन्छ स्पष्ट भइसकेको छैन। यसले गर्दापनि गण्डकीमा कुन दलको नेतृत्वमा सरकार गठन हुन्छ निश्चित छैन।

२२ सिट जितेको एमालेलाई माओवादी केन्द्रले साथ दिएपनि सरकार गठनको लागि बहुमत मिल्दैन। गण्डकीको सदनमा पहिलोपटक इन्ट्री गरेको राप्रपाको पनि साथ मिले भने गण्डकीमा एमालेको सरकार गठन गर्नपनि सहज हुने छ। २२ एमाले, ७ माओवादी केन्द्र र २ राप्रपाको सांसद मिले बहुमतको लागि ३१ जना सांसदको संख्या पुग्छ।

निर्वाचनमा विभिन्न स्थानमा गठबन्धन गरेर राप्रपा र एमाले चुनावमा होमिएपनि गण्डकीमा राप्रपाको भूमिका के हुन्छ हेर्न बाँकी छ। यो भने निश्चित प्राय छ कि गण्डकीमा एमालेको सरकार गठन गर्न राप्रपा भने निर्णायक भूमिकामा रहने छ। तर, माओवादी केन्द्रको साथ एमालेलाई नगए राप्रपाको पनि अर्थ रहँदैन।

गठबन्धन गरेर झन खुम्चिएको माओवादी केन्द्रले कांग्रेसलाई समर्थन दिन्छ वा दिँदैन आँकलन गर्न सकिँदैन। निर्वाचनको मतपरिणामले माओवादी भने कांग्रेससँग रुष्ट छ। गण्डकीका माओवादी नेता खुलेर कांग्रेसप्रति नैराश्यता व्यक्त नगरेपनि आन्तिरक रुपमा उनीहरु असन्तुष्ट छन्। यसले सरकार गठनमा असर पार्ने पनि देखिन्छ। यद्यपि, प्रदेशका माओवादी नेताको असन्तुष्टी भन्दापनि केन्द्रको निर्णय महत्वपूर्ण हुनेछ।

सरकार गठनको अनिश्चितता बनेको बेला एमालेबाट नवनिर्वाचित सांसद भीम कार्कीले गण्डकीमा एमालेको सरकार आउने आशय व्यक्त गरेका छन्। कार्की कास्की २(१)बाट निर्वाचित प्रदेशसभा सांसद हुन्। निर्वाचन परिचालन कमिटी कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधवार उनले गण्डकीमा एमालेको सरकार गठनको सम्भावना रहेको दाबी गरेका हुन्।

‘गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत छैन। त्यसकारण सम्भावना सबै खुल्ला छन्। दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अहिलेको जनादेश हो। परिस्थिति जसरी आउँछ त्यसरी नै जाने छौँ। परिस्थितिको आँकलन अहिल्यै गर्दा छिटो हुन्छ कि भन्ने लाग्छ,’ नवनिर्वाचित सांसद कार्कीले भने।

सांसद कार्कीले भने जस्तै गण्डकीमा सरकार गठनको लागि कुनैपनि दलसँग बहुमत छैन। एक वा दुईभन्दा बढी दल मिलेर नै गण्डकीमा सरकार गठनको सम्भावना छ। गठबन्धन गर्दा माओवादी र कांग्रेसलाई भने सहज छ।

एमालेले माओवादी केन्द्रको साथ मात्र पाएर सरकार बनाउन सक्ने अवस्थामा छैन। एमालेलाई राप्रपाको पनि साथ आवश्यक छ। त्यसैले सरकार गठन गर्न महत्वपूर्ण स्थानमा रहेको माओवादी केन्द्र कुन दलप्रति ढल्किन्छ त्यसले निश्चित गर्नेछ गण्डकीको अबको नेतृत्व कसको हातमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell