PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउनु चुनौतीपूर्ण



पहिलोपोस्ट

बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउनु चुनौतीपूर्ण
File Photo: UNICEF

काठमाडौं : विश्वभर बढिरहेको जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउने काम चुनौतीपूर्ण बन्दै गएकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। राजधानीमा आयोजित दुईदिने पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यशालाका वक्ता तथा प्रस्तोताले पानीको पर्याप्त व्यवस्थाका लागि सोच्नुपर्ने बेला भएको आवश्यकता औँल्याइएका हुन्।

खानेपानी सचिव मणिराम गेलालले बढ्दो शहरीकरण र जनसङ्ख्याको वृद्धिले संसारभर खानेपानी, ऊर्जा र खाद्यान्नको माग बढिरहेको बताए। स्वच्छ खानेपानीको स्रोत सीमित भएकाले अभाव देखिएको र तिनको समयमा नै संरक्षण गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

पूर्व मन्त्री गणेश साहले थोपाथोपा पानीको महत्व रहेको उल्लेख गरे। उनले भने, ‘अहिल्यै विश्वको जनसङ्ख्या आठ अर्ब पुगिसकेको छ, सबैलाई सम्मानित जीवन बिताउनका लागि हामीले यथेष्ट पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउनु पर्दछ।’

पानीका स्रोतको संरक्षण, आकाशे पानीको सदुपयोग, नवीकरणीय ऊर्जाको उपयोग बढाउने, थोरै पानीको प्रयोग गरी बढी अन्न उब्जाउने प्रविधि विकास गरेर यो क्षेत्रमा देखिएका चुनौतीको समाधान गर्न सकिने पूर्व मन्त्री साहले बताए।

पूर्व सचिव सुमन प्रसाद शर्माले विश्व जनसङ्ख्यालाई भोकमरी मुक्त पार्न र पोषिलो खाना उपलब्ध गराउने कार्य चुनौतीपूर्ण रहेको बताए। नेपालका बालबालिकामा पोषणको अभावले पुड्कोपन देखापरेको उल्लेख गर्दै उनले सन् २०५० मा विश्व जनसङ्ख्या नौ अर्ब पुग्ने भएकोले तिनलाई स्वच्छ खानेपानी, पर्याप्त स्वच्छ ऊर्जा र पोषणयुक्त खाद्यान्न पुर्‍याउन सरकार गम्भीर हुनुपर्ने बताए।

स्मार्ट वास सोलुसन्सका अध्यक्ष इन्जिनियर रामदीप साहले बढ्दो सहरी जनसङ्ख्याका लागि स्वच्छ खानेपानी, स्वच्छ ऊर्जा र पर्याप्त पोषिलो खाद्यान्न कसरी पुर्‍याउन सकिन्छ भनेर विकसित देशको अनुभव लिन कार्यक्रमको आयोजना गरेको बताए।

अर्का विज्ञ डा उनहर शिनले पानी, ऊर्जा र खाद्यान्नको अन्तरसम्बन्ध, सहरी खानेपानी  व्यवस्थापन, खानेपानीको चुहावट नियन्त्रण, दिगो विकासअनुरुपको व्यवस्थापन शैलीको बारेमा प्रकाश पारेका थिए। सोही सत्रमा काठमाडौं विश्वविद्यालयका प्राडा विम श्रेष्ठले पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिमार्फत नेपालमा खानेपानी, ऊर्जा र खाद्यान्न सुरक्षामा गरिएका योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell