PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

टरिगाउँ विमानस्थल डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर अझै भएन रिफिल



पहिलोपोस्ट

टरिगाउँ विमानस्थल डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर अझै भएन रिफिल
Photo: naa.edu

तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन।

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ।

त्यस्तै, मंगलवार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ। रिफल गर्न योग्य भएको कुरा एक हप्ता अघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन।

नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन। मङ्सिर महिनामा १७ गते शनिवार मात्रै हवाई उडान भयो। त्यसअघि र त्यसपछि जहाज नै आएको छैन।

शनिवार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए। उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सञ्चालन हुने र रिफिलको काम हुनेछ।

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ। एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ। यसअघि काठमाडौंबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो। त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनुपर्ने अवस्था थियो। त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो।

अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ। एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन्। जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन्।

अहिले दाङ-काठमाडौं हवाई भाडा न्यूनतम आठ हजार आठ सय १० रुपैयाँ छ भने अधिकतम १२ हजार छ सय ६५ रुपैयाँ रहेको छ। काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैयाँ बढी हुन्छ। काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैयाँ बढी लाग्ने गर्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell