PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति



पहिलोपोस्ट

महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

काठमाडौं : दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो। महाकाली नदीको धार परिवर्तन गर्ने प्रयास गरेपछि सरकारले पनि भारतलाई कुटनीतिक नोट पठाएको थियो।

बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरु नगर्ने सहमति बनेको छ।

भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबिच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको  थियो। आज भएको  छलफलमा १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो।

खलङ्गाका स्थानीयवासीको मागअनुसार नदीको बिचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए।

नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यकबाहेकका अस्थायी निर्माण गरेका संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमतिसमेत भएको उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार तोकिएको समय १० दिनभित्र सहमतिअनुसार काम गरे नगरेको अवस्थालाई हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell