
तीन घन्टा सम्म एजुकेशन सिटी स्टेडियममा समर्थकको हुटिङ चल्यो। जसै मोरोक्कोका एचरफ हकिमीले पेनाल्टीमा गोल गरे स्टेडियममा सन्नाटा छायो। एकपटक विश्वकपको उपाधी उचालिसकेको स्पेनलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो मोरोक्कोले। त्यसैले रातो जर्सीमा स्टेडियममा हुटिङ गरिरहेका मोरक्कनहरुका लागि त्यो क्षणको महत्व सायद शब्दमा वर्णन गर्न नसकिने थियो।
हकिमी। स्पेनको मड्रिडमा जन्मिएका उनको काँधमा अफ्रिका र अरबको जिम्मेवारी थियो। जब हकिमीले त्यो गोल गरे, मोरोक्कोमा मात्र नभएर मोरोक्कन डायस्पोरामा पनि 'वाइल्ड' सेलिब्रेसन गरियो जसको सायद अपेक्षा र अनुमान गरिएको थिएन।
यो ऐतिहासिक दिन थियो मोरोक्कोका लागि, अरबका लागि, अफ्रिकाका लागि, मुस्लिमका लागि। किनभने सन् २०१० को विश्वकप विजेतालाई हराउँदै मोरोक्को कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा पुगेको थियो। यो धेरैलाई अचम्म पनि लागि रहेको थियो। आखिर मोरोक्को विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको अन्तिम ८ मा कसरी पुग्यो?
'यसअघि मोरक्कनहरूले मात्र हामीलाई समर्थन गरेका थिए,' मोरोक्कोका प्रशिक्षक वालिद रेरागुईले खेलपछि भनेका थिए, 'अब यो अफ्रिकी र अरबको प्रतिष्ठा हो।'
मोरक्कोको 'रोजेको छोरा'को फिर्ती
विश्वकपको तीन महिनाअघि मोरक्कन फुटबल संघले प्रशिक्षक वाहिद हलिलहोजिकलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। विश्वकपमा मोरोक्कोलाई छनोट गराएका उनलाई बर्खास्त गर्ने निर्णय कम अनौठो थिएन। तर, मोरक्कोमा बस्नेहरूका लागि अब मोरक्को कोचिङ विरासतको उत्तराधिकारी आफ्नो ठाउँ लिन आउँदै थियो।
मायाले उनलाई मोरोक्कोमा 'रास ल'एभोकाट' (एभोकाडो हेड) भनिन्छ। यसको कारण हो उनको चिन्डो टाउको। फ्रान्समा जन्मिएका रेग्रागुई खेलाडी छँदा एक कडा-ट्याकलिङ डिफेन्डर थिए। फ्रान्समा जन्मिए पनि उनले मोरोक्कोको प्रतिनिधित्व गर्दै ४५ खेल खेले। प्रशिक्षक बनेयता उनको सफलता अझ चुलिएको छ। एक मिड-टेबल मोरक्कन क्लब फुस रबातलाई उनीहरूको एक मात्र लिग उपाधि दिलाउन उनी सफल भएका थिए।
उनले कतारमा छोटो समय बिताएका थिए जहाँ उनले अल दुहेल एससीसँग लिग जितेका थिए। मोरक्को फर्कनु अघि उनले वाइडाड क्यासाब्लान्कालाई यस वर्षको सुरुमा लिग र च्याम्पियन्स लिग डबलमा नेतृत्व गरे।
धेरै मोरक्कनहरूले सोचेका थिए उनले विश्वकप पछि या केही वर्षमा मोरोक्कोको राष्ट्रिय टोलीको जिम्मेवारी लिनेछन्। राष्ट्रिय टोलीको जिम्मेवारी कहिले लिने हो वा होइन भन्ने कुरा अलग कुरा हो। तर, मोरोक्कोलाई विश्वकपसम्म पुर्याएका प्रशिक्षकलाई हटाएर जब उनलाई ल्याउने घोषणा भयो, यसमा कोही पनि दुखी भएनन्। विश्वकपमा आफ्नो पहिलो खेल भन्दा सय दिन भन्दा कम पहिले राष्ट्रिय टोलीको नेतृत्व उनले लिन पुगे।
अफ्रिकी फुटबलमा रेग्रागुईलाई जोसे मोरिन्होसँग उनको रणनीतिक अनुशासन र उत्कृष्ट म्यान-म्यानेजमेन्ट सीपहरूको लागि तुलना गरिएको छ।
मोरक्कोले जारी विश्वकपमा ४ सय मिनेट भन्दा बढी फुटबल खेलेको छ। एटलस लायन्सले एकपटक मात्र गोल 'कन्सिड' गरेको छ, त्यो हो समूह चरणको अन्तिम खेलमा, क्यानाडासँग दुर्भाग्यपूर्ण आत्मघाती गोल।
स्पेनविरुद्धको नाटकीय शुटआउट जित पछि रेग्रागुई स्ट्यान्डमा दौडदै गएर भीडमा रहेकी आमालाई अँगालो हाले र चुम्बन गरे। सो भिडियो सोशल मिडियामा चर्चित भएको थियो। रेग्रागुई फ्रान्समा जन्मिएका मोरक्कन हुन्। उनले विश्वकपको लागि तयार गरेको टोलीमा मोरक्को बाहिर जन्मिएका तर मोरोक्कन मूलका खेलाडीलाई भेला गरेका छन्। २६ जना खेलाडीमध्ये १४ जना मोरक्को बाहिर ६ वटा देशमा जन्मिएका खेलाडी छन्।
विश्वकप प्रतियोगितामा 'नेभिगेट' गर्न भावनात्मक रूपमा गाह्रो हुन सक्छ। खेलाडीहरू हप्तौंका लागि घरबाट टाढा हुन्छन्। तर, रेग्रागुईले खेलाडीहरूको परिवारलाई कतारमा क्याम्पमा टोलीसँग बस्न अनुमति दिएका छन्। त्यसैले त मोरोक्कोका खेलाडीको हरेक खेलपछि आमाबुवासँगको तस्बिरहरु चर्चामा आइरहन्छन्।
रेग्रागुईले आफ्नी आमालाई अँगालो हालेको भावनात्मक भिडियो जति चर्चामा आएको थियो त्योभन्दा बढी हृदयस्पर्शी तस्बिरहरू हाकिमी र उनको आमाको सार्वजनिक भएको थियो। स्पेनविरूद्ध मोरक्कोको विजय पछि हाकिमीलाई उनकी आमाले गालामा चुम्बन गरिरहेको तस्बिर निकै भाइरल बनेको थियो।
रेग्रागुई आफैंलाई आफ्नी आमा फातिमालाई भेट्न स्ट्यान्डमा जाँदै गरेको भिडियोलाई मोरक्को प्रसारक अररियादियाले आफ्नो लागि धेरै अर्थ राख्ने बताइन्। 'एक खेलाडी र प्रशिक्षकको रूपमा उनको (रेग्रागुइ) सम्पूर्ण करियरमा मैले उनलाई हेर्न कहिल्यै यात्रा गरिन,' फातिमाले भनिन्, 'म फ्रान्समा ५० वर्षभन्दा बढी समयदेखि बस्दै आएको छु र मैले पेरिस छोडेको यो पहिलो प्रतियोगिता हो।'
जब फुटबल संघले फुटबललाई गम्भीर रुपमा लियो
मोरोक्कोको फुटबल टोलीले फुटबलमा सफलता हात पारिरहँदा त्यहाँको संघ रोयल मोरोक्कन फुटबल फेडेरेसन (एफएमआरएफ)ले यसको श्रेय पक्कै पाउनेछ। राजा मोहम्मद ६ को समर्थनमा एफएमआरएफले राष्ट्रको फुटबल संरचनालाई परिमार्जन गर्ने निर्णय गरेको थियो।
सन् २००९ मा एफएमआरएफले आफ्नो राष्ट्रिय फुटबल एकेडेमी, मोहम्मद ६ फुटबल एकेडेमी खोल्यो। जसले वर्तमान अन्तर्राष्ट्रिय खेलाडीहरू नयेफ अगुएर्ड र युसेफ एन-नेस्रीयीलाई विकास गर्न मद्दत गर्यो। साथै मोरक्कन डायस्पोरामा झण्डा लगाउन प्रतिभा पत्ता लगाउन प्रयास गर्यो। खासगरि युरोपमा रहेका योग्य युवा खेलाडीहरू पत्ता लगाएर मोरक्कन टिममा भित्र्याउने काम सो एकेडेमीले गर्यो।
संघले महिला फुटबलमा पनि लगानी गर्न सुरु गरेको छ। विद्यालय र क्लबमा फुटबलको विकास गर्ने र राष्ट्रिय लिगको संरचना निर्माण गर्ने काम पनि सुरु गरेको छ। मोरक्को हाल विश्वको एक मात्र राष्ट्र हो जहाँ महिला फुटबलको दुई तहहरू छन् जुन दुवै पूर्ण 'प्रोफेसनल' छन्।
मोरोक्कोको राजधानी रबतको छेवैमा अवस्थित मोहम्मद ६ फुटबल कम्प्लेक्स मोरोक्कोले फुटबलमा गरेको लगानीको केन्द्र हो। ट्रेनिङ कम्प्लेक्समा चार पाँच-तारे होटेलहरू, आठ फिफा स्टान्डर्ड फुटबल पिचहरू छन्। त्यस्तै एउटा 'क्लाइमेट कन्ट्रोल्ड' भवन छ। साथै दन्त चिकित्सकसमेत समावेश गर्ने गरिको चिकित्सा सुविधा छ। पछिल्लो दशकको त्यो लगानीले अहिले 'पे ब्याक' दिन सुरु गरेको छ।
इतिहासमा पहिलो पटक मोरक्कन पुरुष र महिला क्लबहरू अफ्रिकी च्याम्पियन्स लिग उपाधिका साथै पुरुष कन्फेडेरेसन कप अफ्रिकाको सशक्त टिम र च्याम्पियनहरु हुन्। मोरक्को अफ्रिकी नेसन्स च्याम्पियनसिपको च्याम्पियन पनि हो। त्यस्तै महिला टोली यस वर्षको सुरुमा महिला अफ्रिका कप अफ नेसन्समा दोस्रो भयो र आफ्नो पहिलो विश्वकपको लागि छनोट भयो।
विश्वकपमा मोरक्कोको सफलता प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट कथा हुन सक्छ। तर, यो भाग्य र साहसको नतिजा होइन, बरु विशेषज्ञता र योजना प्रतिफल हो।