
काठमाडौं : गण्डकीमा तीन दलले समानुपातिकमा ‘थ्रेस होल्ड’ कटाउँदा पनि सिट भने पाउन सकेन। हाम्रो नेपाली पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले यहाँ समानुपातिकमा थ्रेस होल्ड कटाएका छन्। तर, थ्रेस होल्ड कटाए पनि निर्वाचन आयोगले सिट संख्यामा भने उनीहरुलाई शुन्य राखेको छ।
प्रदेशमा थ्रेस होल्ड कटाउन १.५ प्रतिशत मत भए पुग्छ। यी तीनै दलको मत १.५ प्रतिशत माथि नै छ। तर पनि तीनै दलले सिट पाएन?
किन यस्तो भयो ? यसबारे हामीले निर्वाचन आयोगका प्रवक्ता गुरुप्रसाद वाग्लेलाई सोध्यौं।
जवाफमा वाग्लेले भने, ‘गण्डकीमा निर्वाचित हुने प्रदेश सभा सदस्यको संख्या थोरै छ। थोरै भएपछि कुल सांसदको संख्याले भाग गर्दा र अरुले धेरै मत ल्याउँदा उनीहरुले पाएनन्।‘
गण्डकीमा प्रत्यक्षबाट ३६ जना प्रदेश सभा सदस्य निर्वाचित हुन्छन्। त्यसैगरि समानुपातिकमा २४ जना सदस्य निर्वाचित हुन्छन्।
यस्तै नियति कर्णालीमा नेपाल मजदुर किसान पार्टीले व्यहोर्नुपरेको छ। १.५९ प्रतिशत मत ल्याएर पनि नेमकिपाले कुनै सिट पाउन सकेन।
कर्णालीमा पनि निर्वाचित हुने प्रदेश सभा सदस्यको संख्या कम हुँदा नेमकिपाले सिट पाउन नसकेको प्रवक्ता वाग्लेले बताए।