PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

पश्चिम सेती बनाउने भारतीय कम्पनी भरपर्दो छ, ठग्ने कम्पनी हैन : प्रधानमन्त्री देउवा



एम बम

पश्चिम सेती बनाउने भारतीय कम्पनी भरपर्दो छ, ठग्ने कम्पनी हैन : प्रधानमन्त्री देउवा

कैलाली : प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाले अब गति पाउने बताएका छन्। बिहीवार कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले अब पञ्चेश्वर पनि अघि बढ्ने बताए। निर्वाचनको पूर्व सन्ध्यामा सुदूरपश्चिमका हरेक चुनावी सभालाई सम्बोधन गर्दा बाँडेको आश्वासन देउवाले धनगढी पुगेर पनि दोहर्‍याएका हुन्। ‘भारतका प्रधानमन्त्रीले पञ्चेश्वरको विकासका लागि पनि चासो राख्नुभएको छ,’ देउवाले भने, ‘पञ्चेश्वरको मात्र हैन अब पश्चिम सेतीको जिम्मा लिएको भारतीय कम्पनी ठग्ने कम्पनी हैन, भर पर्दो हो। त्यो सँगै अब पञ्चेश्वर पनि अघि बढ्ने मैले विश्वास लिएको छु।’

यी दुई आयोजना सम्पन्न भएपछि सुदूरपश्चिमको आर्थिक समृद्धि हुने देउवाले बताए। कैलालीको उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा सुरु भएको १६ औँ संस्करणको महोत्सवमा देउवालाई १५ बुँदे मागसहितको १५ किलाको माला लगाइएको थियो। यस अघि २१ किलोको माला र २१ बुँदे माग प्रधानमन्त्री समक्ष राख्दै आएको सङ्घले केही माग सम्बोधन भएका भन्दै १५ किलोको माला लगाएको हो।

ती मागसँगै रानीजमरा कुलरीया सिँचाइ आयोजनालगायत अन्य राष्ट्रिय गौरवका आयोजना, गौरीफन्टा र खक्रौला सिमानाकाको स्तरोन्नतिका लागि समेत पहल गरिने देउवाको भनाई छ।

२ करोड लागतमा आयोजना गरिएको महोत्सव कैलालीको पशुपति टोलमा पौष २ गतेसम्म सञ्चालन हुने छ। १० करोडको कारोबार हुने र कोरोनाले ठप्प व्यवसायले गति पाउने यस क्षेत्रका व्यवसायीको आशा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell