
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डको सिरिजको अन्तिम खेलमा पनि नेपाली टोली पराजित भएको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा आज सम्पन्न खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदा सोमपाल कामीले १६, दीपेन्द्र सिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन्।
ओपनर अर्जुन साउद डकआउट हुँदा अर्का ओपनर आशिफ शेख १ रन बनाएर पभेलियन फर्किए। त्यस्तै ज्ञानेन्द्र मल्लले ९ रन बनाउँदा आरिफ शेखले ६, हरिशंकर साहले १ तथा गुल्सन झाले ५ रन बनाए।
बलिङतर्फ स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र साफयान सरीफ र मार्क वाटले समान २ विकेट लिँदा क्रिस सोल, क्रिस ग्रिभेस र क्रिस्टोफर म्याकबिटले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक अविजित ४६ रन बनाउँदा जर्ज मुन्सेले ४५ रन बनाए। त्यस्तै कप्तान रिची बेरिङटन १२ रनमा अविजित रहँदा केल कोएट्जरले १६ रन बनाए। बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
जितसँगै स्कटल्याण्ड ३२ खेलबाट ४६ अंक जोडेर शीर्षस्थानमा छ भने २४ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। नामिबिया सिरिजका चार खेलमा जित निकाल्न नसकेको नेपालले नामिबियासँगको पहिलो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो। दोस्रो खेलमा स्कटल्याण्डसँगै ३ विकेटको हार ्ब्यहोरेको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको हार ब्यहोरेको थियो। त्यस्तै सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको हार ब्यहोर्दा नेपाल जितविहीन बनेको हो।