PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बलिउड फिल्ममा अहिले कथा र आत्मा छैन, केवल प्रोजेक्ट बनिरहेका छन्: प्रकाश झा  



पहिलोपोस्ट

बलिउड फिल्ममा अहिले कथा र आत्मा छैन, केवल प्रोजेक्ट बनिरहेका छन्: प्रकाश झा  

काठमाडौंः फिल्म निर्देशक प्रकाश झाले बलिउडमा पछिल्लो समय कथा बिनाका प्रोजेक्ट केन्द्रित फिल्म निर्माण हुन लागेको बताएका छन्। काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को २०औं संस्करण उद्घाटन गर्दै झाले कथा र आत्माबिनाका फिल्म हाबी भएको बताएका हुन्।

उनी भन्छन्, ‘हामी दुई कारणले फिल्म बनाउँछौं। पहिलो कारण कथा भएपछि त्यसलाई सुनाउन हामी फिल्म बनाउँछौं। अर्को कारण पैसा कमाउनका लागि फिल्म बनाउँछौं। जब तपाईं फिल्मबाट पैसा कमाउने सोच्नुहुन्छ तब स्टार, लोकेसन, इमोसनका कुराहरु हाल्नुहुन्छ। अहिले बलिउडमा थुप्रै प्रोजेक्टहरूको लाइनअप देखिन्छ, जसमा कथा र आत्मा छैन। उनीहरू दक्षिण भारतका फिल्मको रिमेक बनाउँदै छन्। उनीहरु केवल प्रोजेक्ट गर्न चाहन्छन्।’

झाले किम्फमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। राम्रो कथावस्तु भए नेपाली फिल्म मेकरसँग सहकार्य गर्ने झाले बताए।

नेपाली फिल्मकर्मीले सीता, गौतम बुद्ध, मधेश र हिमालका कथा भन्न आवश्यक रहेको प्रकाश बताउँछन्। बलिउडको अधोगतिलाई हेरेर नयाँ पुस्ताका फिल्म निर्माताले पाठ सिक्नुपर्ने उनको सुझाव छ।

उद्घाटनमा कमलकुमार निर्देशित डकुमेन्ट्री फिल्म ‘बाघको बंगारा’ को प्रिमियर गरिएको थियो। ‘हेर्ने कथा’ कार्यक्रमकी सञ्चालिका विद्या चापागाईंले निर्माण गरेको फिल्मले जाजरकोटको पहाडी क्षेत्रमा बस्ने स्थानीयको कथालाई समेटिएको छ।

त्यसैगरि, झाको अभिनय रहेको फिल्म ‘मट्टोकी साइकिल’ को विशेष प्रदर्शन गरिएको थियो। विशेष शोमा झासहित फिल्म निर्देशक एम गनी पनि उपस्थित थिए। फिल्म ‘मट्टोकी साइकिल’ ले एक गरिब परिवारको व्यक्तिको दैनिक जीवन र उसको साइकलसँगको सम्बन्धको कथा भन्छ।

‘दिगो आरोहण' मूल नारा रहेको फेस्टिभलमा ३० देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइने छन्।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिने छन्। मंसिर २५ सम्म महोत्सव चल्नेछ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। नेपाली अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell