PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘फेब्युलस फ्राइडे’ : क्रोएसियाले रोक्न सक्ला ब्राजिलको ‘कार्निभल’, मेस्सी र भान गालमध्ये कसको होला बिदाइ?



पहिलोपोस्ट

‘फेब्युलस फ्राइडे’ : क्रोएसियाले रोक्न सक्ला ब्राजिलको ‘कार्निभल’, मेस्सी र भान गालमध्ये कसको होला बिदाइ?
Photo: GETTY IMAGES

फिफा विश्वकप फुटबलअन्तर्गत क्वाटर फाइनलका खेलहरु आज बाट सुरु हुँदैछ। आज राति क्वाटर फाइनलका दुई खेल हुँदै छन्।

२०१८ को उपविजेताविरुद्ध ‘टूर्नामेन्ट फेभरेट’ भिड्ने छ। त्यसपछिको अर्को ‘ग्लामरस म्याच-अप’मा १९७८ को फाइनल दोहोरिएको देख्न पाइनेछ।

क्रोएसिया र ब्राजिलबिचको खेल शुक्रवार राति ८:४५ वजे छ भने नेदरल्यान्ड्स र अर्जेन्टिना १२:४५ मा मैदानमा उत्रिनेछन्।

क्रोएसियाले रोक्न सक्ला ब्राजिलको ‘कार्निभल’?

लामो समयदेखि फुटबल फ्यानहरूमाझ लोकप्रिय टिम हो ब्राजिल। त्यसमाथि यो टुर्नामेन्टमा राम्रो प्रदर्शन गरेर ब्राजिलले फेरि आफ्ना समर्थकहरूलाई खुशी पारेको छ।

अन्तिम १६ को खेलमा आक्रमक प्रदर्शनमार्फत दक्षिण कोरियाको सपनालाई टुक्र्याएर अघि बढेको टाइटको टिम १८ डिसेम्बरमा ट्रफी उचाल्ने एक बलियो प्रतिस्पर्धी हो।

कोरियाविरुद्ध ४-१ को जितको खुसीमा नाच्दै आफ्ना खेलाडीहरूसँग सामेल भएर प्रशिक्षक टाइटले पनि आनन्द उठाए। शुक्रवार उनीहरु थप मनोरञ्जन प्रदान गर्ने लक्ष्यमा देखिएका छन्।

‘मैले अहिलेसम्म के देखेको छु भने उनीहरूका खेलाडीहरू, उनीहरूको गुणस्तर, कौशलता र मूल्य हेर्दा त्यो वास्तवमै डरलाग्दो छ,’ क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिकले भने, ‘हामीले धेरै आशा, आत्मविश्वास र अवसरका साथ मैदानमा उत्रिनुपर्छ र ब्राजिलसँग खेल्ने अवसरको आनन्द लिनुपर्छ, त्यो नै पर्याप्त हुनेछ।’

सन् २०१८ को विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसिया पाँच पटकको च्याम्पियन ब्राजिलका अगाडि अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाको रुपमा उभिने सम्भावना उत्तिकै छ।

३७ वर्षीय रियल म्याड्रिड मिडफिल्डर लुका मोड्रिचको नेतृत्वमा क्रोएसिया पुनः क्वाटर फाइनलसम्म आइपुगेको छ। मोड्रिचले कतार आउनुअघि यो उनको अन्तिम मुख्य टूर्नामेन्ट हुन सक्ने संकेत गरेका थिए।

क्रोएसियाका फुल ब्याक जोसिप युरानोभिच भन्छन्, ‘लुका मोड्रिच जस्ता खेलाडीहरू दौडिरहेको र पिचमा मरेर लागिरहेको देखिन्छ, अनि हामी जस्ता युवा खेलाडीहरूलाई दौडन थप ऊर्जा मिल्छ।’

मेस्सी वा भान गाल, कसले पाउलान् बिदाइ?

नेदरल्यान्ड्स र अर्जेन्टिना विश्वकपमा फेरि आमनेसामने हुँदा विभिन्न पुस्ताका मानिसहरुको मानसपटलमा पूराना सम्झनाहरू जाग्नेछन्।

सन् १९७८ को फाइनलमा अर्जेन्टिनालाई जित दिलाउन मारियो केम्पेसको प्रदर्शन होस् या नेदरल्यान्ड्सलाई १९९८ को सेमिफाइनलमा पुर्‍याउन डेनिस बर्गक्याम्पको उत्कृष्ट फिनिश होस्, अथवा २०१४ मा अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरो पेनाल्टी सुटआउटको नायक बनेको भिडन्त नै किन नहोस्, यी राष्ट्रबिचको एक लामो प्रतिद्वन्द्वितालाई शुक्रवारको खेलले झनै रोमान्टिक बनाउने छ।

यो शो पनि अन्यभन्दा फरक हुनेछैन। अर्जेन्टिनाका लियोनेल मेस्सीलाई विश्वकपमा देख्न पाउने यो नै अन्तिम अवसर पनि हुन सक्छ, जसलाई धेरैले अहिलेसम्मकै महान खेलाडीको रूपमा मान्ने गरेका छन्। अनि, नेदरल्यान्ड्सका कोच लुइस भान गाललाई डगआउटमा देख्ने पनि यो नै अन्तिम हुन सक्छ।

३५ वर्षीय मेस्सी अर्जेन्टिनाका भरोसा हुन्। उनले यसपटक आफ्नो नाममा पहिलो विश्वकप ट्रफि जित्ने आशा धेरैले राखेका छन्। यता, ७१ वर्षीय भान गालले यस वर्षको सुरुमा प्रोस्टेट क्यान्सरलाई जितिसकेका छन्। उनी विश्वकपपछि प्रशिक्षकको पदबाट पछि हट्ने तयारीमा छन्। त्यसकारण पनि तीन पटकको उपविजेता बनेको नेदरल्यान्ड्सलाई अन्ततः एक कदम अगाडि लैजान उनी प्रयासरत रहनेछन्।

अनुभवी प्रशिक्षक भान गालको आजको योजना धेरै हदसम्म मेस्सीलाई नियन्त्रणमा राख्ने र अर्जेन्टिनासँग २०१४ को हारको बदला लिने नै हुनेछ।

‘हाम्रो योजनाले हामी जुनसुकै टोलीहरूलाई चकित पार्न सक्छौँ। हामी त्यतिबेला पनि राम्रो टोली थियौँ र अधिकांश समय मेस्सीको खुट्टामा बल पर्न दिएका थिएनौँ,’ भान गालले भने।

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell