PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अनि 'मट्टो' बन्न तयार भए प्रकाश झा…



लक्ष्मी बलायर

अनि 'मट्टो' बन्न तयार भए प्रकाश झा…
तस्विर : आजतक

काठमाडौं : बिहीवार साँझ काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ मा ‘मट्टो की साइकिल’ को विशेष प्रदर्शनी भएको थियो। फिल्मको प्रदर्शनी सकिएसँगै राष्ट्रिय सभागृहको मञ्चमा देखिए प्रकाश झा र एम गनी। गनी निर्देशित ‘मट्टोकी साइकिल’ मा मुख्य भूमिका निर्वाह गरेका छन् झाले। मञ्चमा आउँदा प्रकाशका आखाँ रसाएका थिए। सायद आफूले निर्वाह गरेको पात्रको पीडा देखेर होला!

मट्टो पाल(प्रकाश झा) का लागि साइकल एक साइकल मात्र थिएन। परिवारको हिस्सा थियो र सँगै यात्रा गर्ने साथी पनि। त्यो साइकलनै उनको जीवनको सहारा थियो। किनकी साइकलकै भरमा टाढा काम गर्न जान्छन् अनि ज्याला मजदुरी गरेर एक श्रीमती र दुईछोरीहरु पालेको हुन्छन् उनले। त्यसैले त उनको लागि साइकल जीवनभन्दा माथि छ। तर, एकदिन उनको त्यो साइकल ट्याक्टरले कुल्चिन्छ र जीवनको सबथोक मानेको साइकल काम नलाग्ने हुँदा निकै दु: खी हुन्छन् मट्टो।

त्यसपछि उनको दोस्रो साइकल किन्नको लागि संघर्ष सुरु हुन्छ। जसोतसो आधा पैसा तिरेर किस्ता तिर्ने सर्तमा नयाँ साइकल लिन्छन्। तर, त्यो साइकल पनि चोरी हुन्छ। साइकल चोरी भएपछि मट्टोले जिन्दगीले भोग्नुपरेको उताडचडापको कथा हो ‘मट्टो की साइकिल’। यो फिल्मले दैनिक ज्यालादारीभित्रको गरिबी भन्छ। समाजमा गाडिएको अर्को समाजको कथा देखाउँछ।

कसरी बन्यो मट्टो की साइकिल?

गनी आत्मनिर्भर रुपमा फिल्म बनाउन रुचाउँछन्। पहिलो फिल्म बनाउँदा दुई हजार भारतीय रुपैयाँमा बनाएको उनी सम्झन्छन्।

‘मट्टो की साइकिल’ को कथा तयार थियो। सुरुमा यस फिल्मलाई आफैँ निर्माण गर्ने सोचमा थिए उनी। तर, उनका साथीले एकपटक स्क्रिप्टलाई केही निर्माताहरुकोमा पठाउन सुझाए। त्यसपछि फिल्मको स्क्रिप्ट लिएर उनी मुम्बई पुगे। निर्माताहरुले कथामा लगानी गर्न तयार भएको प्रतिक्रिया दिए। तर, निर्माता आफ्नै चाहनाको अभिनेता राख्न चाहन्थे।

तर, गनीलाई आफ्नो कथाको मुख्य पात्र 'मट्टो'को रोलका लागि प्रकाश झा मात्रै उपयुक्त लागिरहेको थियो। प्रकाश झाको विकल्प प्रकाश झा नै देखेको गनी बताउँछन्।

भने, ‘हुनत मैले प्रकाश जीलाई निर्देशकको रुपमा चिनेको थिएँ। लगभग उहाँको सबै फिल्म हेरेको छु। तर, उहाँको अभिनय पनि देखेको थिएँ। उनको ‘सेन्स अफ सिनेमा’ मेरो नजिक थियो। उहाँ कहिलेकाहिँ अभिनय गर्नुहुन्छ। जब उहाँ यस फिल्ममा अभिनय गर्नुहुन्छ तब मट्टो जीवित हुनसक्छ। अनि मैले स्क्रिप्ट पठाएँ।’

प्रकाश कहाँ धेरै फिल्मका स्क्रिप्ट आइरहन्छन्। मट्टोको स्क्रिप्ट पुगेको केही महिनापछि गनीले प्रकाशलाई फोन गरे। त्यसपछि प्रकाशले फिल्मको कथा पढ्न थाले। फिल्मको स्क्रिप्ट पढ्दा आफू निकै 'सरप्राइज' भएको झाले सुनाए।

‘फिल्मको स्क्रिप्ट पढ्दा निकै सप्रराइज भएँ। एक जमाना थियो मैले नैदामुल र परिणिती जस्ता वास्तविक र मौलिक कथाका फिल्म बनाएँ। जुन जोन मलाई थाहा थियो। अचानक धेरैपछि एउटा स्क्रिप्ट मिल्यो जहाँ एक साधारण र मौलिक कथा थियो। जसको धेरै लेयर थियो। मैले यस स्क्रिप्टमा पूरा हिन्दुस्तानको कहानी देखेँ। जसलाई हामी देख्दैनौँ। तर,जसको सारा जीवन साइकिलको गतिमा बढिरहन्छ,’ अन्तर्क्रिया कार्यक्रममा झाले आफ्नो अनुभव सुनाए।

फिल्मको कथा मन परेपछि प्रकाशले फोन गरेर गनीलाई भेटन बोलाए। अनि भेटघाटका क्रममा प्रकाशले गनीलाई भने, ‘कहानी निकै राम्रो छ। जस्तो छ त्यस्तै बनाउनुपर्छ।’

त्यसपछि गनीले फ्याट्ट भनिहाले,‘ मट्टो तपाईं नै हो सर’।

यसअघि गनीले अभिनय गर्ने बारे थाहा दिएका थिएनन् प्रकाशलाई। अभिनयको अफर गर्दा प्रकाशले स्क्रिप्ट नै रिजेक्ट गर्ने डरले जानकारी नदिएको बताउँछन् गनी।

प्रकाश भन्छन्, ‘फिल्मको कथाले निकै मन छोएको थियो। फिल्मको इन्डिङ पनि मन परेको थियो। मट्टो एक आशावादी पात्र हो।’

तर, मट्टो बन्न प्रकाशका लागि निकै चुनौतीपुर्ण थियो। व्यक्तिगत रुपमा मात्रै नभइ प्राविधिक र अभिनयको हिसाबले  पनि उनले कठिनाई देखे। उनलाई थाहा थियो मट्टो बन्न सकेपछि काम बन्नेछ। यदि बन्न सकेन भने यो फिल्म खेर जानेछ ।

अनि प्रकाशको मट्टो बन्ने यात्रा सुरु भयो। उनी मथुरा जान थाले। त्यहाँका मानिसहरुसँग कुरा गर्न सुरु गरे। उनीहरुको भाषा र बोल्ने तरिका बुझ्न थाले। मजदुरहरुको दैनिकीसँग नजिक हुन थाले। कपडा लगाउनेदेखि खाने तरिकासम्म जानकार भए। अन्तत: सबै कुरा सिक्दैर बुझ्दै जाँदा प्रकाशलाई 'मट्टो' मिल्यो।

‘मेरो पूरा जिम्मेवारी थियो मट्टोलाई आफूभित्र राख्नु। जसको लागि मैले पूरा मेहनेत गरेँ। २४/२५ दिनपछि बल्ल म फिल्मको लागि तयार भएँ। जसमा निर्देशकले निकै साथ दिनुभएको छ’, उनी भन्छन्, ‘जब म मट्टोमा घुसेँ तब मलाई आफ्नै व्यक्तिगत कहानीजस्तै लाग्न थाल्यो। साइकिलमा छोरी दिशालाई देख्न थाले। यस फिल्मको कहानी एकअर्कासँग गाँभिएको छ।’

प्रकाश फिल्म बनाउनेदेखि लेखन, अभिनय र निर्देशन हरेक कुरामा 'फिट' हुन्छन्। अन्तर्क्रियाका क्रममा पत्रकारले यी सबै कुरा गर्न कसरी सम्भव हुन्छ? भनि प्रश्न सोधे।

जवाफमा प्रकाशले भने, ‘म कुक पनि, खाना राम्रो बनाउँछु। मलाई सबै काम गर्न मन पर्छ। अभिनयदेखि निर्देशन, लेखन सबै चलिरहेको हुन्छ। तर, जब म काम गर्छु त्यसमा मन लगाउँछु। रमाइलो मान्छु। सबैभन्दा ठूलो कुरा हो जिम्मेवारी। जब कुनै निर्देशकको लागि वा अरुको लागि काम गर्नुहुन्छ। तब जुन भिजन छ त्यसलाई साकार गर्नुपर्छ। त्यसलाई पाउनका लागि पूरा तागत लगाउनुपर्छ। त्यसमै आनन्द छ।’

फिल्ममा साइकल नै रोज्नुलाई भावनात्मक रुपमा जोड्छन् लेखक तथा निर्देशक गनी।

गनी भन्छन्, ‘साइकलसँग धेरैको सम्बन्ध जोडिएको हुन्छ। मेरो बुवा पनि एउटा साइकल किन्न चाहनुहुन्थ्यो। तर, उहाँले पुरानो साइकल मात्रै किन्न सक्नुभयो। फिल्ममा कुनै पनि चिज राख्न सकिन्थ्यो। तर, यो साइकलको मात्र कहानी होइन मट्टोको पनि कहानी हो। मट्टोहरुको जिन्दगीलाई भन्न कोही धागो चाहिन्थ्यो। र, मलाई साइकल राम्रो माध्यम लाग्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell