PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

ब्राजिलियन फुटबल टोलीको 'सेलिब्रेसन' र आलोचनाका कुरा, क्रोएसियाका लागि किन महत्वपूर्ण छ मोड्रिचको भूमिका?



पहिलोपोस्ट

ब्राजिलियन फुटबल टोलीको 'सेलिब्रेसन' र आलोचनाका कुरा, क्रोएसियाका लागि किन महत्वपूर्ण छ मोड्रिचको भूमिका?
Photo : AFP/Reuters

अन्तिम १६ मा दक्षिण कोरियाविरुद्धको जितपछि ब्राजिलका खेलाडीमा 'कन्फिडेन्ट' देखिए। कोरियाविरुद्ध ४-१ गोलको फराकिलो जित निकाल्दा नेइमार, लुकास पक्वेटा, भिनिसियस जुनियर र रिचार्लिसनले गोल गरेपिच्छे नृत्य गरे। उनीहरुले कतारमा हरेक गोलपछि फरकफरक नृत्य गरेर 'सेलिब्रेट' गरे।

अझ रिचार्लिसनको गोल पछि त ब्राजिलका प्रशिक्षक टिटेले पनि उनको ट्रेडमार्क 'पिजन' सेलिब्रेसन गरे। उनको गोलपछि प्रशिक्षक र खेलाडीहरूले गोलो घेरा बनाए, आफ्नो कम्मरमा हात राखे र परेवाको नक्कल गर्दै आफ्नो टाउकोलाई अगाडि पछाडि घुमाउन थाले। 'पिजन' रिचार्लिसनको उपनाम पनि हो।

उक्त खेलपछि एउटा भिडियोमा रिचार्लिसनले ब्राजिली फुटबल लेजेन्ड रोनाल्डोलाई 'पिजन डान्स' सिकाइरहेको भिडियो चर्चित भएको थियो। हरेक गोलपछि गर्ने यस्तो सेलिब्रेसनले उनीहरुले आलोचना पनि नब्यहोरेका होइनन्।

आयरल्याण्डका पूर्व खेलाडी तथा कमेन्टेटर रोए किनले ब्राजिली खेलाडीले 'विपक्षीको अपमान गरेको' आरोप लगाएका छन्। खासगरि त्यस्तो सेलिब्रेसनमा प्रशिक्षक पनि सामेल हुनुलाई उनले कडा शब्दमा आलोचना गरेका हुन्।

तर, प्रशिक्षक टिटेले आफ्ना खेलाडीको 'डिफेन्ड' गरेका छन्।

'यसको अर्थ गोल, प्रदर्शन र जितका कारण खुसी हुनु हो...’ उनले भने,'यो विपक्षीलाई अनादर या अपमान होइन।'

उनले खेलअघि रिचार्लिसनसँग मजाक गर्दै यदि उनले गोल गरे आफूले पनि 'पिजन' सेलिब्रेसन गर्ने बताएको उल्लेख गरेका छन्।

उनले आफ्नो लागि जित महत्वपूर्ण भएको भन्दै क्यामरुनसँगको हारपछि खेलाडीको मनोबल बढाउन आवश्यक भएको बताए। नेइमारको उपस्थितिले टिममा फरक परेको उनको दाबी थियो।

नेइमारले सर्बियाविरुद्ध २-० गोलको जित पछि दाहिने घुँडाको चोटका कारण दुई खेल गुमाएका थिए। ब्राजिलले त्यसपछि स्विट्जरल्याण्डलाई १-० ले हराउँदा क्यामरुनसँग १-० गोलले हारेको थियो।

दुई दशकपछि विश्वकप उपाधिको खोजीमा रहेको विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल आज बेलुका पौने ९ बजे क्रोएसियासँग भिड्दैछ। क्रोएसियाविरुद्ध पनि आफ्नो नृत्य 'सेलिब्रेसन'लाई निरन्तरता दिने लक्ष्यमा रहने छ ब्राजिल। आलोचनाहरुका बावजुत ब्राजिली खेलाडीले आफ्नो 'सेलिब्रेसन'लाई नफेर्ने स्पष्ट पारिसकेका छन्।

'यो ब्राजिलको संस्कृतिको हिस्सा हो,' ब्राजिलका प्रशिक्षक टिटेले बिहीबार भने, 'यो हाम्रा विरोधीहरूलाई अपमान गर्ने बारे होइन। यो केबल हामी के हो भन्ने बारे हो।'

ब्राजिली फर्वाड भिनिसियस जुनियरले ब्राजिलको सफलतामा अझ नृत्य गर्दै जाने बताएका छन्।

'गोल गर्नेहरूका लागि मात्र नभई सम्पूर्ण देशको लागि गोल फुटबलमा सबैभन्दा महत्त्वपूर्ण क्षण हो, 'भिनिसियस जुनियरले भने, 'हामीसँग अझै धेरै उत्सवहरू बाँकी छन् र आशा छ हामी फाइनलसम्म यसरी गोल र नाच जारी राख्न सक्छौं।' भिनिसियसले रियल मड्रिडमा छँदा पनि आफ्नो 'सेलिब्रेसन'का कारण आलोचना ब्यहोरेका थिए। यद्यपि, नाच जारी राख्न ब्राजिलले लुका मोड्रिचको नेतृत्वमा रहेको क्रोएसियाको कडा चुनौतीलाई पार गर्नुपर्नेछ।

अघिल्लो संस्करणमा फाइनलमा फ्रान्ससँग पराजय ब्यहोर्दै उपाधि जित्न नसकेको क्रोएसिया चार वर्षपछि विश्वकपको फाइनलमा फर्कने प्रयासमा छ।

'हामी अझ धेरै गर्न चाहन्छौं,' मोड्रिचले भने,‘हामी क्वाटर फाइनलमा पुगेर मात्रै सन्तुष्ट हुनुहुँदैन। हामीलाई अगाडि बलियो प्रतिद्वन्द्वी भएको थाह छ। हामीसँग आफ्नै 'स्ट्रेन्थ'हरु छन् र हामीलाई आफैंमा विश्वास छ।'

मोड्रिचले केही ब्राजिलियनहरूलाई राम्ररी चिन्छन्। भिनिसियस जुनियर, रोड्रिगो र एडर मिलिटोसँग उनी स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्छन्। उनीसँगको टोलीमा कासेमिरो पनि केही समय अघिसम्म थिए। भिनिसियस जुनियरले ३७ वर्षे अनुभवी मिडफिल्डर मोड्रिचबाट धेरै कुरा सिकेको बताएका छन्।

'भिनीले मेरो प्रशंसा गरेको सुन्दा धेरै खुशी लाग्यो। उनी राम्रो व्यक्ति हुन् र हामीसँग धेरै बलियो सम्बन्ध छ,' मोड्रिचले भने, 'उनले रियल मड्रिडमा आवद्ध भएदेखि नै प्रगति गरेका छन् र विश्वकपमा पनि त्यसलाई देखाउँदै आएका छन्। उनलाई रोक्ने प्रयास गर्न हामीलाई गाह्रो काम हुनेछ।'

मोड्रिचले भिनिसियसलाई कसरी रोक्नु पर्ने भनेर आफ्नो टोलीका साथीहरुलाई सुझाव दिन सक्ने बताए।

रियल मड्रिडका मिडफिल्डर मोड्रिचले आफ्नो देशलाई २०१८ को विश्वकपको फाइनलमा पुर्‍याएका थिए। आज उपाधि दाबेदार ब्राजिलविरुद्ध क्वाटरफाइनल खेल्दै गर्दा उनको प्रयास रहने छ विश्वकप उपाधिको होडमा कायम रहने। किनभने सायद ३७ वर्षे उनको यो अन्तिम विश्वकप हुनेछ।

क्रोएसियाका लागि मोड्रिच सधैं जस्तै महत्त्वपूर्ण छन्। उनको टोलीले मैदानमा गर्ने 'अट्याकिङ' को पछि उनकै रणनीति हुन्छ, जुन उनीहरुका लागि सफलताको महत्वपूर्ण पक्ष हो। युवा खेलाडीहरूको नयाँ पुस्ताको लागि उनी 'फादर फिगर'का रूपमा टिममा छन्। यदि क्रोएसियाले ब्राजिललाई हराउँछ भने मोड्रिचको करियरको सुनौलो पक्ष हुनेछ।

ब्राजिलजस्तै क्रोएसियाले पनि जारी विश्वकपमा अहिलेसम्म दुई गोलमात्र खाएको छ। टोलीले समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेल्दा क्यानडालाई ४–१ गोलअन्तरले हराएको थियो। राउण्ड अफ १६ को खेलमा क्रोएसियाले जापानसँग १-१ गोलको बराबरी खेलेपछि अन्तिममा पेनाल्टी सुटआउटमा विजयी भएको थियो।

ब्राजिलले सर्बिया र स्विट्जरल्याण्डलाई जितेर यस प्रतियोगिताको सुरुवात गरेको थियो भने समूहको अन्तिम खेलमा क्यामरुनसँग हारेको थियो। अन्तिम १६ मा दक्षिण कोरियाविरुद्धको जितमा सुरुदेखि नै दबदबा कायम राखेको थियो।

सर्बियाविरुद्धको पहिलो जितमा दाहिने घुँडाको चोट लागेका नेइमार पनि नाचेर सेलिब्रेसन गर्ने खेलाडी हुन्। उनी दक्षिण कोरियाविरुद्धको खेलमा फर्किएपछि लयमा फर्कने तयारीमा छन्।

ब्राजिलले लगातार आठौं विश्वकपको क्वाटरफाइनल खेल्दैछ।  समग्रमा ब्राजिलले १४ औं पटक क्वाटरफाइनलमा खेल्दैछ। यो रेकर्ड ब्राजिल र जर्मनीसँगमात्रै छ। ब्राजिलले पछिल्ला चार क्वार्टरफाइनल खेलहरूमध्ये तीनमा हारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell