PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मेलम्चीको खानेपानी वितरण सुरु, सरकार भन्छन् : दीर्घकालिन रुपमा समस्या समाधान गर्छौं



पहिलोपोस्ट

मेलम्चीको खानेपानी वितरण सुरु, सरकार भन्छन् : दीर्घकालिन रुपमा समस्या  समाधान गर्छौं

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन्। महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरेका हुन्।

'हामीले पटक पटक पानी पुनः वितरण गर्नु नपरोस्। हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ', उनले भने।

उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताए। वाग्मतीको पानी मेलम्चीको 'ट्रिटमेन्ट प्लान्ट'मा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखेका थिए। त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए। उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए। खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको उनको दाबी थियो।

केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौं उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिए। उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाएका छन्।

मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाभित्र हाल नयाँ पाइपमार्फत पानी वितरण हुने बताए। उनले उपत्यकाभित्र कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको बताउँदै पुरानो पाइपलाइन केही महिनाभित्र मर्मत गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell