
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका छन्। शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने बताएका हुन्।
कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले 'कर्नर'मा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर एमाले दोस्रो बन्न पुगेको उल्लेख गरे। ‘जनमतको हिसाबले एमाले एक नम्बर पार्टी हो’, पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छन्।’
नेकपा माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताए।
‘वामपन्थीबिच सहकार्यको प्रश्नै छैन। एमाले मात्रै वामपन्थी पार्टी हो अनि को सँग सहकार्य? पौडेलले प्रश्न गरे।
पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरू पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए। पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरे। प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभाको भए पनि अहिलेको सरकारले विधि प्रकृया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको उनले बताए।
उनले रुपन्देहीलाई पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए।