PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रतिबन्ध हटेपछि कहिलेदेखि आयात होला ३०० डलरमाथिका स्मार्टफोन? अवैध मदिराको कारोबारले थपिँदै चुनौती



उन्नत सापकोटा

प्रतिबन्ध हटेपछि कहिलेदेखि आयात होला ३०० डलरमाथिका स्मार्टफोन? अवैध मदिराको कारोबारले थपिँदै चुनौती

काठमाडौं : विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु पनि एलसी खोल्ने तयारीमा जुटेका छन्।

विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत वैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको सरकारले साउन १ गतेबाट थप कडाई गर्दै ३ सय डलर माथिको फोन आयात रोक्ने निर्णय गरेको थियो।

स्मार्टफोन विलासी वस्तु नभएको भन्दै व्यवसायीहरुले स्मार्टफोन आयात रोक्ने काम वैज्ञानिक र व्यवहारिक नभएको भन्दै विरोध गर्दै आएका थिए। सँगै भारतसँगको खुला सिमानाका कारण स्मार्टफोनसँगै विदेशी मदिराको अवैध आयात बढ्ने तर्फ व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

तर, सरकारले झण्डै ८ महिना व्यवसायीहरुको गुहारलाई वास्तै गरेन। फल स्वरुप बजारमा छ्याप्छ्याप्ती अवैध रुपमा भित्रिएका प्रतिबन्धित स्मार्टफोन र विदेशी मदिरा सजिलै भेटाउने अवस्था बन्यो। न सरकारले अवैध आयातलाई रोक्न सक्यो न त त्यसको अनुगमनमा कडाई नै। त्यसैले त राजस्व मै धक्का पुग्यो।

सरकारले ढिलै भए पनि स्मार्टफोन आयात खुलाएको प्रति खुसी हुँदै मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष एवं आइएमएस समूहका अध्यक्ष दीपक मल्होत्राले पुस १ गतेबाट प्रतिबन्ध लगाइएका स्मार्टफोन आयात गर्ने प्रक्रिया आफूहरुले सुरु गरिसकेको बताए।

हवाई माध्यमबाट आफूहरुले स्मार्टफोन आयात गर्ने भएकाले एलसी खोलेको १५ दिन भित्रै नेपाली बजारमा ३ सय डलर माथिका फोन पुर्‍याउन सक्ने मल्होत्राले जानकारी दिए।

‘हाम्रो बजार भनेको ३ सय डलरसम्म ५० प्रतिशत हो। बाँकी ५० प्रतिशत बजार ३ सय डलर माथिको हो। बजारमा वैध माध्यमबाट फोन नआउँदा देखिएको अभाव हामी १ गतेबाटै एलसी खोलेर पूर्ति गर्ने तयारीमा लागिसकेका छौं,’ मल्होत्राले भने।

त्यसैगरि, सरकारले रोकेको विदेशी मदिराको एलसी पनि पुस १ गतेबाटै खोल्ने तयारीमा व्यवसायीहरु लागेका छन्। विदेशी मदिरा व्यवसायी सौरभ शारडा आफूहरुले एलसी खोलेको ४५ देखि ६० दिन भित्रमा नेपाली बजारमा विदेशी मदिरा ल्याइसक्ने बताउँछन्। प्रतिबन्धका कारण बजारमा वैध माध्यमबाट भित्रिने मदिराको चरम अभाव भएकाले आफूहरु सकभर अझै छिटो ल्याउने योजनासहित काम गरिरहेको उनले बताए।

‘नेपाली बजारमा मुख्य गरि विदेशी स्कच ह्वीस्की, सिंगल मल्ट, भोड्का, वाइन धेरै माग हुनेगर्छ। आयात प्रतिबन्धले यी सबै मदिराको अभाव छ। अबको केही समयमै हामी नेपाली बजारमा यसको सहज आपूर्ति गर्छौं,’ शारडाले भने।

लामो समयदेखि बजारमा अवैध माध्यमबाट भित्रिएका विदेशी मदिराका कारण आफूहरुलाई बजार व्यवस्थापनका चुनौती थपिने शारडा स्वीकार्छन्। नेपालको तुलनामा भारतले मदिरामा कम कर लगाउने भएकाले त्यहाँ सस्तो पर्छ। जसको फाइदा उठाउँदै सरकारले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा देशका मुख्य शहरहरुमा अवैध मदिरा बिक्री भइरहेको भेटिएको थियो। यो जालोलाई तोड्ने सरकारले भन्सार नाकामा कडाई गर्नुका साथै अवैध आयात नियन्त्रणमा विशेष पहल गर्नुपर्ने सुझाउँछन् शारडा।

‘आयात रोकिँदा झन् मौलाएको अवैध आयात हाम्रो लागि ठूलै टेन्सनको विषय हो। आयात प्रतिबन्ध हुनुअघि पनि ३०० देखि ४०० पेटी अवैध मदिरा काठमाडौंमै भेटिएकै हो नि। प्रतिबन्ध नलाग्दै अवस्था यस्तो थियो भने प्रतिबन्ध लाग्दा झन् कति बिकराल भएको होला। सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्छ,’ शारडाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell