काठमाडौं : अहिले विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। यही अवसरमा किशोरीहरुलाई विभिन्न पदभार हस्तान्तरण गरिँदै छ।
गर्ल्स टेक ओभर अभियान अन्तर्गत मंसिर २३ गते फिनल्यान्डको राजदूतको पदभार १६ वर्षीया किशोरी सृष्टि चौधरीलाई हस्तान्तरण गरियो। फिनल्याणकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलेरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन्।
बालिका तथा किशोरीहरूको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम आयोजना गर्दै आएको छ। यसै अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको हो।
पद हस्तान्तरण गर्दै रिना रिक्का हेक्कालेले 'गर्ल्स टेक ओभर' अभियान बारे निकै उत्साहित भएको बताइन्। 'सानो उमेरदेखि नै यस्तो जिम्मेवारी दिँदा उनीहरुलाई धेरै कुराको प्रत्यक्ष रुपमा ज्ञानहरु हुन्छ। भविष्यमा करियरको हिसाबले पनि निकै मद्धत पुग्ने छ,' उनले भनिन्।
एक दिनको फिनल्याणको राजदूतको पदको जिम्मेवारी सम्हालेकी चौधरीले आफूलाई निकै खुसी लागेको र जिम्मेवारी बोध भएको बताइन्।
पद ग्रहण गरेसँगै चौधरीले लैङ्गिक समावेशी शिक्षा, किशोरीहरुले कसरी काम गर्न सकिन्छ, महिनावरीमैत्री शौचालय तथा स्यानिटरी प्याडको अभाव, लैङ्गिक विभेद, बालविवाह लगायतको किशोरीहरू तथा बालिकाहरू सम्बन्धी थुप्रै विषयहरू छलफल पनि गरेकी थिइन्। साथै उनले विभिन्न जिल्लाका किशोरीहरू मिलेर तयार पारिएको ९ बुँदे ज्ञापन पत्र फिनल्याणकी राजदूत रिना रिक्का हेक्कालाई हस्तान्तरणसमेत गरेकी थिइन्।
‘गर्ल्स टेक ओभर’ अन्तर्गत यस वर्ष जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली र सुर्खेका विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुतावास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिएको थियो। ‘गर्ल्स टेक ओभर’ अन्तर्गत आजसम्म देशभरका ९ जिल्लामा १०० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा १०० पदको नेतृत्व लिइ सकेका छन्।