
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकपको उपाधि जित्नबाट तीन खेल पछाडि छ। तर, भरे रातिको क्वाटरफाइनल खेलमा जारी प्रतियोगितामा भेटेको प्रतिद्वन्दीमध्येकै कडा प्रतिस्पर्धी अर्जेन्टिनाले पाउँदैछ। त्यो हो - नेदरल्याण्ड्स।
८९ हजार दर्शक क्षमताको लुसइल स्टेडियममा राति पौने एक बजे हुने खेलमा धेरैको चासो हुनुको अर्को मुख्य कारण यी दुई टोलीबिचको इतिहास पनि हो। आठ वर्षअघि भएको विश्वकपमा यी दुई टोली सेमिफाइनलमा भिडेका थिए। निर्धारित समय र अतिरिक्त समयसम्म पनि खेल गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ ले खेल जितेको थियो। त्यसबाहेक सन् १९९८ को क्वाटरफाइनलमा र अर्जेन्टिनाले पहिलो पटक विश्वकप जित्दा १९७८ फाइनलमा यिनीहरु भिडेका थिए।
पछिल्लोपटक सन् २०१४ मा यी दुई टोली भिडेयता केही महत्वपूर्ण खेलाडीहरु अझै दुबै टोलीमा छन्। त्यसताका प्रशिक्षक लुइस भान गाल फेरि डच टोलीको प्रशिक्षकमा फर्किएका छ्न्। त्यस्तै भेटरान लेफ्टब्याक डेले ब्लाइन्ड अझ टिममा छन् भने अर्जेन्टिनाका मेस्सीको चर्चा विश्वभर छ। आज हुने खेलमा धेरैको ध्यान ३५ वर्षे मेस्सीमै रहनेछ किनभने उनी अर्जेन्टिनाबाट 'अट्याकिङ'का 'थ्रेट' हुन्। जारी विश्वकपमै मेक्सिकोविरुद्धको उत्कृष्ट 'स्ट्राइक' र अस्ट्रेलियाविरुद्धको 'वेल-वर्क-मुभ' बनाएका मेस्सी करियरको उत्तरार्धमा रहेर पनि अर्जेन्टिनी टोलीका साथै विश्वभरका समर्थकको धड्कनका रुपमा रहेका छन्।
'अहिलेको सन्दर्भमा उनी आफ्नो करियमा 'एइजिङ जिनियस'का रुपमा रहेका छन्,' खेलकुद वैज्ञानिक सिमोन ब्रुन्डिसले सीएनएनसँग भने, 'उनीसँग टोलीमा (पाउलो) डिबालासँग जति दौड गर्ने क्षमता छैन, तर उनी यति प्रतिभाशाली छन् जसले खेल जिताउन सक्ने क्षमता राख्छ।'
खासमा यो विश्वकपमा अर्जेन्टिनाको खेलहरूमा मेस्सीको पिचमा हिँडाइले ध्यान खिचेको छ। उदाहरणका लागि फिफाकै तथ्यांक अनुसार अन्तिम १६ को अस्ट्रेलियाविरुद्धको खेलमा उनी ४७५२.७ मिटर मैदानमा हिँडे। जुन उक्त खेलमा कुनै पनि अर्जेन्टिनी खेलाडीको भन्दा कम्तीमा ३ सय मिटर धेरै हो।
'यदि तपाईंले मेस्सीलाई स्पष्ट रूपमा हेर्नुभयो भने विपक्षीहरूले बल पाएको बेला उनी त्यस्तो स्पेसमा उभिएको देख्नुहुनेछ, 'ब्रन्डिशले भने, 'मेस्सी हिँडाईले अर्जेन्टिनाको रक्षात्मक संरचनालाई पनि केही संकेत दिइरहेको हुन्छ।'
मेस्सीभन्दा माथि
अर्जेन्टिना र नेदरल्याण्ड्स दुबैले कतारमा अप्रत्यासित नजिता देखि सकेका छन्। अर्जेन्टिनाले साउदी अरेबियासँग अप्रत्यासित २-१ गोलको हार ब्यहोर्दा नेदरल्याण्ड्स इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको थियो। कतारमा यी दुबै टोलीले सन् २०१४ पछि पहिलो पटक सेमिफाइनल पुग्ने होडमा छन्।
नेदरल्याण्ड्स कतार विश्वकपमा आफ्नो नाममा तीन गोल गरेका कोडी गाक्पो र अन्तिम अमेरिका विरुद्धको उत्कृष्ट फिनिसिङ गर्ने मेम्फिस डिपेको सहायतामा प्रभावशाली देखिन्छ। यता अर्जेन्टिना आफ्नो 'मास्टर प्लेमेकर'ले नेदरल्याण्ड्सको थ्री-एट-द-ब्याक डिफेन्स 'अनलक' गरेर गोल थप्न सक्छ भन्नेमा आशावादी छ।
'लियोले तपाईंलाई हरेक दिन उसले गर्ने कामबाट अचम्मित पार्ने गर्छ, ' अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले बिहीबार पत्रकारहरूलाई भने, 'तपाईं देख्न सक्नुहुन्छ उनी खुसी छन्। र, हाम्रो लागि यो धेरै महत्त्वपूर्ण छ।'
यसो भनिरहँदा अर्जेन्टिनी टोलीलाई मेस्सीसँगमात्र जोडेर हेरिरहन मिल्दैन। मिडफिल्डर एन्जो फर्नान्डेज र स्ट्राइकर जुलियन अल्भारेजले पछिल्लो समय प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। विशेषगरि अष्ट्रेलियाविरुद्धको खेलमा गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई क्वाटरफाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
डच टोलीका कप्तान भर्जिल भान डाइकले पनि कुनै खेलाडीलाई लिएर भन्दा पनि दुई टिम अर्जेन्टिना र नेदरल्याण्ड्सलाई केन्द्रमा राखेर हेर्नुपर्ने बताए।
'यो मेस्सीविरुद्ध म वा नेदरल्याण्ड्सको खेल होइन। नेदरल्याण्ड्स र अर्जेन्टिना विरुद्धको खेल हो,' भान डाइकले भनेका छन्, 'उनीहरू उत्कृष्ट खेलाडीहरूसहितको उत्कृष्ट टोली हुन्, र हामीले खेलका सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्नुपर्नेछ।'
तीनपटक विश्वकपको फाइनलमा पुगेर पनि जित हात पार्न नसकिरहेको र अघिल्लो विश्वकपमा छनोट नै हुन असफल भएको नेदरल्याण्ड्सका लागि क्वाटरफाइनलको खेलले ठूलो अर्थ राख्छ। त्यसमाथि अर्जेन्टिनासँगको विश्वकपको प्रतिद्वन्दिताबारे त माथि नै उल्लेख भइसकेको छ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले यी दुई टोलीबिच 'सुन्दर खेल' हुने विश्वास लिएको बताएका छन्।
'दुई ऐतिहासिक टोलीको साथमा यो निकै सुन्दर खेल हुनेछ। दुर्भाग्यवश एउटा टोलीले हार्नु पर्नेछ र हामी आशा गर्छौं हामीले यो चरण पार गर्नेछौं,' उनले भने, 'हामीले अफ्ठ्यारा प्रतिद्वन्दीहरुसँग खेलेका छौँ। उनीहरुसँग जस्तै राम्रो खेल्ने हाम्रो आशा छ। तर, सायद उनीहरु डच टोली जति भने चम्किएका थिएनन्।'
त्यस्तै, अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पनि खेल 'टफ' हुने बताएका छन्।
'उनीहरूसँग उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक छन्। यो खेलमा कडा प्रतिस्पर्धा हुनेछ,' उनले भने, ' यो विश्वकपको क्वाटरफाइनल हो र सुरुदेखि नै टफ बनेको विश्वकपको यो चरण झनै कठिन हुनेछ।'
अर्कोतर्फ विश्वकै उत्कृष्ट 'सेन्टरब्याक' मध्येका भान डाइक भएको टोली नेदरल्याण्ड्सलाई मेस्सीलाई रोक्ने चुनौती हुनेछ। प्रशिक्षक भान गालको डच टोली मेम्फिस डिपे 'फिटनेस'मा फर्किँदा कतारमा तीन गोल गर्ने फ्रन्टम्यान कोडी गाक्पोको निरन्तर राम्रो फर्मबाट पक्कै उत्साहित छ।
प्रशिक्षक भान गाल कतारमा डच टोलीले पहिलो पटक विश्वकप जित्ने दाबी गरेयता थप दवाबमा छन्।
'हामी त्यहाँ बाहिर गएर हाम्रो स्तर देखाउन चाहन्छौं। टिम भावना देखाउन चाहन्छौं। हामीसँग भएको एकता देखाउँदै अगाडि बढ्न चाहन्छौं। आशा छ, अर्को चरणमा पुग्न सफल हुनेछौ,' उनले भने, 'हामी उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौं। बाँकी सबै कुरा पिचमै छोड्छौं। आशा छ हामीलाई सफलता मिल्नेछ। हाम्रो लागि यो अवसर हो र हामी अवसरको मजा लिन सक्छौं र यसबाट पनि अगाडि जान सक्छौं।'