PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गर्ल्स टेक ओभर : १५ वर्षीया कञ्चनले एकदिनका लागि सम्हालिन् त्रिवि लैङ्गिक अध्ययन विभाग प्रमुखको पदभार



पहिलोपोस्ट

गर्ल्स टेक ओभर : १५ वर्षीया कञ्चनले एकदिनका लागि सम्हालिन् त्रिवि लैङ्गिक अध्ययन विभाग प्रमुखको पदभार

काठमाडौं : विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ। यही अभियानको समर्थनमा त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुखको पद १५ वर्षीया किशोरी कञ्चन भण्डारीलाई हस्तान्तरण गरिएको छ। विभागकी प्रमुख विन्दु पोखरेलले एक दिनका लागि बर्दियाको बढैयाताल गाउँपालिकाकी कञ्चन भण्डारीलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन्।

बालिकाहरूलाई केन्द्रमा राखेर कार्य गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ। किशोरी सशक्तिकरणको एक नियमित अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको हो।

‍आफ्नो पद हस्तान्तरण गर्दै विन्दु पोखरेलले 'गर्ल्स टेक ओभर' अभियानले बालिका तथा किशोरीहरूलाई नेतृत्वदायी भूमिकाहरू अनुसरण गर्न प्रोत्साहन गर्ने बताइन्। 'एक दिनको लागि नै भए पनि उहाँले प्रत्यक्ष रुपमा जिम्मेवारीहरु महसुस गर्न पाउने हुन्छ। म पनि यहाँ पाग्न सक्छु भन्ने प्रेरणा पनि मिल्छ,' उनले भनिन्।

एक दिनको लागि त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख बनेकी भण्डारीले आफूलाई जिम्मेवारीबोध भएको बताइन्।

उनले भनिन्, 'यहाँ बस्दा जिम्मेवारीको पनि भार महसुस भइरहेको छ। परिवर्तन आँफैबाट सुरु हुन्छ र गर्नुपर्छ भन्ने पनि मलाई बोध भयो।'

पद ग्रहण गरेसँगै भण्डारीले लैङ्गिक समावेशी शिक्षा, लैङ्गिक विभेद, बालविवाह लगायतको किशोरीहरू तथा बालिकाहरू सम्बन्धी थुप्रै विषयहरू छलफल पनि गरिन्। कञ्चन भण्डारीले विभिन्न जिल्लाका किशोरीहरू मिलेर तयार पारिएको ९ बुँदे ज्ञापन पत्र त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख पोखरेललाई हस्तान्तरणसमेत गरिन्।

‘गर्ल्स टेक ओभर’ अन्तर्गत यस वर्ष जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली र सुर्खेका विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुतावास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिएको थियो। ‘गर्ल्स टेक ओभर’ अन्तर्गत आजसम्म देशभरका ९ जिल्लामा १०० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा १०० पदको नेतृत्व लिइ सकेका छन्। पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२२बाट सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell