
फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।
त्यसअघि निर्धारित समय र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएको थियो। लियोनल मेस्सीको पासमा नहुएल मोलिनाले खेलको ३५ औं मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो। त्यस्तै ७३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल थपेका थिए। तर, दुई गोलले पछि परेको अवस्थाबाट नेदरल्याण्ड्स नाटकीय पुनरागमन गर्न सफल रह्यो। खेलको ८३ औं मिनेट र इन्ज्युरी समयमा ववउट विघ्रोस्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। र, अतिरिक्त समयमा दुबै टोलीले गोल थप्न नसक्दा खेलमा २-२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा नेदरल्याण्ड्सका भर्जिल भान डाइक र स्टेभेन बर्गुइस चुक्दा टेउन कुपमेइनेर्स, विग्रोस्ट र लुक डि जोङले गोल गरेका थिए। अर्जेन्टिनाका लागि मेस्सी, लियोनार्दो परेडेज, गोञ्जालो मोन्टिएल र लौटरो मार्टिनेजले गोल गर्दा इन्जो फर्नान्डेज चुकेका थिए।
जितसँगै मेस्सीले सेमिफाइनलमा प्रतिस्पर्धि क्रोएसिया पाएको छ। क्रोएसियाले गएराति नै सम्पन्न अघिल्लो खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो।