काठमाडौं : प्रमुख राजनीतिक दलहरु समानुपातिकको सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा लागेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद छान्न जुटेका हुन्।
एमालेको सचिवालय बैठक र माओवादी केन्द्रको पदाधिकारी बैठक सांसद छान्नकै लागि बसिरहेको छ। संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी हुनुपर्ने संविधानमा व्यवस्था छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा गरी ३३ प्रतिशत महिला अनिवार्य गरिएको हो।
'संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्नेछ,' संविधानको धारा ८४(८) मा भनिएको छ। निर्वाचन आयोगले उम्मेदवारको नाम टुंगो लगाउन ३ दिनका लागि दिएको समयसीमा शनिवार सकिँदै छ।
एमालेले कति महिला सांसद छान्दैछ?
एमालेले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट जितेको छ प्रतिनिधि सभा निर्वाचनमा। राष्ट्रिय सभामा एमालेका १५ जना सांसद छन्। दुवैगरी संघीय संसदमा एमालेका ९३ जना सांसद छन्। ९३ जना सांसदको ३३ प्रतिशत ३०.६९ हो। यस हिसाबले एमालेले संघीय संसदमा ३१ जना महिला सांसद छान्नुपर्ने छ।
एमालेका राष्ट्रिय सभामा इन्दिरा देवी गौतम, इन्दु कडरिया, तुलसा कुमारी दाहाल, दीपा गुरुङ, दिल कुमारी रावल थापा (पार्वती),भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट, सुमित्रा बि.सी गरी ९ जना महिला सांसद छन्।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भगवती चौधरी सुनसरी-३ बाट, जुली महतो धनुषा-३, ज्वाला कुमारी साह बारा-३, विद्या भट्टराई कास्की-२ गरी ४ जना निर्वाचित भएका छन्। समानुपातिक छाडेर संघीय संसदमा एमालेका १३ जना महिला सांसद छन्। एमालेले ३१ जना महिला सांसद पुर्याउन १८ जनालाई समानुपातिकबाट महिलालाई अनिवार्य सांसद बनाउनुपर्ने छ।
माओवादीका कति?
माओवादी केन्द्रको प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना सांसद छन्। राष्ट्रिय सभामा माओवादी केन्द्रको सांसद संख्या १५ छ। संघीय संसदमा माओवादीको सांसद संख्या ४७ छ। ४७ जना मध्ये महिला ३३ प्रतिशतका हिसाबले माओवादीले महिला सांसदको संख्या १५ पुर्याउनुपर्ने छ। माओवादी केन्द्रका राष्ट्रिय सभामा उर्मिला अर्याल, गंगा कुमारी बेल्वासे, वीना पोखरेल गरी ४ जना महिला सांसद छन्। १ जना रेखा शर्मा दाङ-२ बाट निर्वाचित हुदा माओवादीको अहिले संघीय संसदमा ५ जना सांसद महिला छन्। अब माओवादी केन्द्रले समानुपातिकको १४ सिट मध्ये ९ जना महिला छान्नुपर्ने छ। पार्टीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समानुपातिक सांसदको सूची फाइनल गर्न जिम्मा दिएको छ।
को को बन्छन् त महिला सांसद?
मुख्य पार्टीहरुले अधिकांश पुरुष नेताहरुलाई मात्रै प्रतिनिधि सभामा उम्मेदवार बनाएका थिए। पुरुषलाई मात्रै उम्मेदवार बनाएकाले प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित भएर आउने सांसदको संख्या न्युन छ। ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट महिला छान्नुपर्ने दबाबमा दलहरु परेका हुन्।
एमालेले खस आर्यमा १७, आदीवासी जनजातिबाट १६, थारु ४, दलीत ८, मधेशी ९, मुस्लिम ३ गरी ५७ जना महिलालाई बन्द सूचीमा राखेको थियो। ५७ मध्येबाट १८ जना महिला एमालेबाट महिला सांसद छानिने छन्।
माओवादी केन्द्रले पनि ५७ जना महिलालाई बन्द सूचीमा उम्मेदवार बनाएको थियो। त्यसमध्येबाट माओवादी केन्द्रले ९ जना महिला छान्नुपर्ने छ।