PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उधौलीको उमंग : टुँडिखेलमा यस्तो देखियो साकेलाको रौनक

उधौलीको उमंग : टुँडिखेलमा यस्तो देखियो साकेलाको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : किराँत समूदायको ‘साकेला उधौली’ पर्व मनाउने क्रम जारी छ। बिहीवारबाट शुरु भएको साकेला उभौलीको तेस्रो दिन किरात समुदाय आज टुँडिखेलमा जम्म भए। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए।

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको ‘साकेला उधौली’ मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ। वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन्।

उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरुन् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ।

साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइने गरिएको छ। साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन्।

अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ। चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख, सुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell