PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

हेलीले थर्कामान हिमाली क्षेत्र, हिमाल काला पत्थर बन्नेमा आरोहीको चिन्ता



रिना थापा

हेलीले थर्कामान हिमाली क्षेत्र, हिमाल काला पत्थर बन्नेमा आरोहीको चिन्ता

पोखराः विश्वको अग्लो चुचुरो चुम्न सफल प्रथम नेपाली महिला हुन् पासाङ ल्हामु शेर्पा। सोलुखुम्बमा पर्ने सगरमाथाको चुचुरो चुमेर इतिहास रचेकी थिइन् ०५० सालमा पासाङले। उनै इतिहास रच्ने पासाङको नाममा खुम्बु पासाङ ल्हामु गाउँपालिका नाम राखिएको छ। यही गाउँपालिकामा पर्छ विश्वको अग्लो चुचुरो सगरमाथा र इतिहास रच्ने पासाङको जन्मस्थान।

सोलुखुम्ब र यो गाउँपालिका पासाङ ल्हामुको नामले मात्र परिचित भने छैन। पहिलोपटक नेपाली एकल महिलाको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्ने फुरदिकी शेर्पाको पनि गाउँपालिको हो यो। फुरदिकी शेर्पा र निमा डोमा शेर्पाले ०७६ जेठमा सगरमाथाको सफल आरोहण गर्दै इतिहासमा नाम लेखाउन सफल भएका थिए।

उनै फुरदिकी अन्तर्राष्ट्रिय पर्वतीय दिवसको पूर्वसन्ध्यामा वक्ताको रुपमा भेटिइन्। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा आयोजना गरेको सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा वक्ताका रुपमा सुनिएकी हुन् उनी।

‘हिमाली वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताका रुपमा पोखरा आमान्त्रित भएकी हुन् उनी। उनी बाहेक यस विषयमा अन्तरक्रिया गर्न महिला आरोही तथा पथ प्रदर्शक लाक्पा फुटी शेर्पा, फुन्जो लामा र पूर्णिमा श्रेष्ठ पनि आमन्त्रित थिए कार्यक्रममा।

जलवायु परिवर्तनका कारण हिमाल र हिमाली क्षेत्रमा पर्न गएको असर बारे खुलेर आफनो विचार राखे सबैले।

विचार राख्ने क्रममा फुरदिकीले भनिन्, ‘लक्जरियस एक्सपेन्डिजर खोज्छन्। ४ वटा टेन्ट अटाउने ठाउँमै एउटामात्रै अटाउने गरी ठूलोठूलो क्षेत्र ओगटेर बसेको छ एक्सपेन्डिजर कम्पनी। आइस भएको ठाउँमा खनेर चउर बनाउँछ। त्यसले आइस भास्सिँदै जान्छ।’

कालो पत्थर बन्न लागेको हिमाल देखेर कारण जलवायु परिवर्तन रहेको बहस गर्दै गर्दा फुरदिकीले भने फरक कारण तेर्साउँछिन्। हिमालमा हिउँ पग्लिनु र घट्नुको कारण आरोही एक्सपेन्डिजर कम्पनी पनि जिम्मेवार रहेको बताउँछिन् उनी।

हिमाली समुदायले हिमाललाई भगवानको रुपमा पुज्छन्। पग्लिदै गएको हिउँले हिमालको सुन्दरता मात्र नभई संस्कृति पनि पग्लिदै गएको सुनाउँछिन् उनी। हिमालीसँगै हिमाली क्षेत्रको संस्कृति पनि मासिँदै गएको धारणा राख्छिन् फुरदिकी।

एक्सपेन्डिजर कम्पनीको बढ्दो सेवाले हिमाली क्षेत्रमा कोलाहल वातावरण सिर्जना गरेको सुनाउँछिन् उनी। हिमाली क्षेत्रमा दैनिक उड्ने हेलिकप्टरको आवाजले बस्ती थर्कामान भएको बताउँछिन्।

‘काठमाडौंको क्षेत्रमा ट्याक्सीले त्यति काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ। आकाशमा चराभन्दा बढी हेली उड्छन्। ठूला-ठूला कम्पनीहरुले मान्छेले बोक्न नसकेको सामान हेलीबाट लैजान्छन्। फलामदेखि टेन्ट र प्लाइउड हेलीमा पुर्‍याएर पर्यटकलाई लक्जरियस सुविधा दिन्छन्। कति शेर्पाहरुले काम पाउन छोडे,’ उनले भनिन्।

यसले हिमाली क्षेत्रको मानिसहरुको रोजगार पाउने अवसर, जनजीवनमा असर पुर्‍याएको धारणा राख्छिन् उनी। आपतकालीन उद्धार र पर्यटकलाई दिन खोजेको लक्जरिएस सुविधाले पनि हिमालको अस्तित्व मेटाउने कार्य भइरहेको बताउँछिन् उनी।

उनी मात्र होइन अन्य वक्ता पनि हिमालको अस्तित्व काला पत्थरमा परिणात भइरहेको भनाइमा सहमत छन्। गोरखाकी आरोही तथा पथप्रदर्शक फुन्जो लामा दिनप्रतिदिन हिमाल काला पत्थरमा परिणात भइरहेकोमा दुखेसो पोख्छिन्। जलवायु परिवर्तनले बेसिजनको समयमा मनसुन सुरु हुने र हिउँ नै नपर्न थालेको उनले सुनाइन्।

मनास्लु हिमालको काखमा नै हुर्किएकी फुन्जोले पनि नजिकैबाट नियालेकी छिन् परिवर्तन भइरहेको हिमाल।

‘मनास्लु चढेको मात्र होइन। त्यसकै काखमा हुर्केको हो म। सानोदेखि अहिलेसम्म हिमाली भेगको परिवर्तन धेरै देखेको छु। पहिले डिसेम्बर, जनवरीतिर हिउँ पर्थ्यो। अहिले हिउँ नै पर्दैन। अक्टुबरमै मनसुन सुरु हुन्छ,’ उनले भनिन्।

जलवायु परिवर्तनसँगै हिमाल आरोहणमा लक्जरियस सुविधा खोज्दा थप समस्या निम्तिएको भनाइ राख्छिन् उनले पनि।

भगवानको रुपमा हिमाललाई पुज्ने हिमाली समुदायले हिमाललाई नराम्रो गरे प्राकृतिक विपद्को सामना गर्नुपर्ने विश्वास राख्छन्। हिमाललाई देखाएको खराब व्यवहारले स्थानीयले बढी समस्या भोग्नुपरेको बताउँछिन् उनी।

‘आरोही आउँछन्। रमाइलो गर्छन्। आइसफल खन्छन्। त्यसको परिणाम हामीले भोग्नुपर्छ। मनास्लुमा केही समय अघि हिउँ पहिरो आयो। हिमाललाई माया नगर्दा आएको विपद् हो त्यो। आरोही हेलीबाट गए। हामीले स्थानीयले समस्या भोग्नुपर्‍यो। कतिदिन बाटो खुलेन। हामीले पाएको दुःख कसले देख्छ र बुझ्छ ,’ प्रश्न गरिन् उनले।

फोटो पत्रकार हुन् पूर्णिमा श्रेष्ठ। सगरमाथामा आरोहण गर्ने पहिलो महिला पत्रकारको रुपमा कीर्तिमान बनाएकी छिन् पूर्णिमाले पनि। कीर्तिमान कायम गर्न सफल बनेकी पूर्णिमाले एक-दुई वटा हिमाल दोहोर्‍याएर आरोहण पनि गरेकी छिन्। पहिलोभन्दा दोस्रो र तेस्रो आरोहणमा हिमाल बदलेको देखेकी छिन् उनले पनि।

‘हिमाल पहिलाभन्दा धेरै पग्लिराखेको छ। जलवायु परिवर्तनको असर सामान्यतय १०-२० वर्षमा देखिन्छ। तर, मैले चार वर्षमा नै खुम्बु तथा अन्य हिमाली क्षेत्रमा धेरै परिवर्तन देखेँ। यसलाई सिरियस इस्युको रुपमा लिइएन भने हिमाल कालो पत्थर हुने दिन छिटो आउँछ,’ उनले भनिन्।

हिमाल संरक्षण गर्न नीतिगत रुपमा सुरुवात भए तानि त्यसको प्रतिफल राम्रो नभएको सुनाउँछिन्। यसको कारण नीतिगत स्थानमा हिमालसम्बन्धी जानकार भएको व्यक्ति नहुनु रहेको बताउँछिन् उनी। साथै हिमाली वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने महिला नीतिगत तहमा समावेश नभएका कारण पनि प्रतिफल नमिलेको धारणा राख्छिन् उनी।

‘हिमाल जोगाउन महिलाको भूमिका पनि बढी हुन्छ। नीतिगत निर्णय लिँदा कतै पनि उनीहरुलाई सामेल बनाइँदैन। नीतिगत निर्णय लिँदा महिला र त्यसमा पनि हिमालसँगै जोडिएका समेटिनुपर्छ। राजनीतिक नियुक्त दिएर काम गरिन्छ। निर्णय लिने स्थानमा हिमालसम्बन्धी केही जानकारी नभएका व्यक्तिले समेत नियुक्ति पाउँछन्,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell