काठमाडौं: सांसद बन्न कतिको गाह्रो साह्रो पर्यो? नवनिर्वाचित सांसदले यसको अनुभव पक्कै गरे होलान्। तर सांसद बन्न त्याग, नागरिकसँगको बलियो सम्बन्ध र पार्टीप्रति लगाव चाहिन्छ भन्ने सोच छ भने त्योभन्दा सजिलो नातागोता हो। प्रमुख राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीले यही भन्छ। कानुन निर्माण गर्ने ठाउँमा समानुपातिक समावेशी प्रतिनिधित्व कायम गराउनका लागि समानुपातिक निर्वाचन प्रणाली अपनाइएको भए पनि नेताहरूले भने आफ्ना नातेदारलाई उपहारका रूपमा पद बाँडेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलमा नेतादारले राम्रै स्थान पाए। लामो समयसम्मको राजनीतिक संघर्ष र इमान भएका नेता कार्यकर्तालाई भन्दा नातागोता र पार्टी नेतृत्वसँग साँठगाँठ गर्नेहरू हाबी हुन थालेका हुन्। चुनावमा गएर जित्न नसक्ने तर पार्टीका लागि संघर्ष गर्नेहरूले तथा समावेशी सिद्धान्तको मर्म प्रतिबिम्बित समानुपातिक सांसदहरूमार्फत हुनुपर्ने हो। राजनीति विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमको विचारमा पनि प्रतिनिधित्व हुन नसक्ने समुदायका लागि समानुपातिक व्यवस्था हो।
‘पार्टीको रियल भ्वाइसको रिप्रिजेण्ट हुनुपर्ने हो। चुनावमा जित्न नसक्ने तर पार्टीलाई नभई नहुने मान्छेलाई बनाइनु पर्ने हो,’ उनको तर्क छ।
एमालेका महासचिव र उपाध्यक्षका आफन्त समानुपातिकमा
एमालेले प्रतिनिधि सभाको समानुपातिकमा ३४ सिट जितेको छ। शनिबार निर्वाचन आयोगमा बुझाएको सूचीमा २२ महिला र १२ जना पुरुष रहेको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। सूचीमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा मगर पनि अटाइन। प्रत्यक्षमा बादल चुनावी मैदानमा होमिएनन्। बरु उनले पत्नी नैनकलालाई समानुपातिकबाट प्रतिनिधि सभामा पुर्याएका छन्। यसअघि माओवादी परित्याग गरेर एमालेमा लागेपछि उनलाई माओवादी केन्द्रले राष्ट्रिय सभाबाट हटाएको थियो भने उनी पछि एमालेका तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार बन्दा पराजित भएका थिए गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटासँग। नैनकला एमालेको बन्द सूचीको आदिवासी जनजाति समूहको पहिलो नम्बरमा थिइन्।
एमालेका महासचिव शंकर पोखरेल पनि नातावादबाट टाढा रहन सकेनन्। आफू दाङ २ बाट माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित हुँदा उनले बहिनी मेनका पोखरेललाई समानुपातिकबाट प्रतिनिधि सभाको सांसद सुरक्षित गराए। मेनका खस आर्य समूहको पहिलो नम्बरमा थिइन्।
माओवादीमा पनि शक्तिशाली नेताकै नातेदार बन्दै सांसद
नेकपा (माओवादी केन्द्र) पनि नातावादबाट टाढा रहने कुरै भएन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातावादको आलोचना त भइरहेकै हुन्छ तर पछिल्लो समय माओवादीका अरू नेताले पनि प्रचण्डलाई पछ्याइरहेका छन् नातावादको राजनीतिमा। माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा बहिनी नारायणी शर्मा सांसद हुने निश्चित भएको छ। जनार्दनले रुकुमबाट प्रत्यक्षमा चुनाव जितेर सांसद भइसकेका छन्। शर्मा माओवादी केन्द्रभित्रको शक्तिशाली नेताको रूपमा हेरिन्छ। किनभने महासचिवका लागि बलियो दाबेदारी गरेका उनले आफूलाई उपमहासचिव बनाएकोमा प्रचण्डको खुलेरै आलोचना गरेका थिए। जनार्दनकी बहिनी नारायणी माओवादीको बन्द सूचीको खस आर्य तर्फको तेस्रोमा थिइन्।
जनार्दनकी बहिनी मात्रै होइन अर्का उपमहासचिव शक्ति बस्नेतले पनि आफ्नी बहिनी ज्ञानु बस्नेत सुवेदीलाई समानुपातिकमा अघि बढाएका छन्। खस आर्यको पहिलो नम्बरमा रहेकी ज्ञानुलाई माओवादी केन्द्रले शनिबार निर्वाचन आयोगमा बुझाएको सूचीमा समेटेको छ। शक्ति जाजारकोटबाट प्रत्यक्षमा निर्वाचित भएर प्रतिनिधि सभामा प्रवेश गरिसकेका छन् यसपटक पनि। माओवादीमा शर्मा र बस्नेत दाजु बहिनी नै प्रतिनिधि सभामा देखिने भएका छन्। माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेले भने श्रीमती बलावती शर्मालाई सांसद बनाउन असफल भएका छन्।
देउवा र खाँणले बनाए श्रीमतीलाई सांसद
एमाले र माओवादी मात्रै होइन नेपाली कांग्रेस पनि नातावादबाट टाढा रहने सकेको छैन। समानुपातिक सूचीमा कांग्रेसका नेताले पनि आफन्त छुटाएनन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पनि श्रीमान् श्रीमती नै संसदमा देखिने भएका छन्।
पत्नी आरजुलाई देउवाले समानुपातिकबाट प्रतिनिधि सभाका लागि सुरक्षित गराएका छन्।
कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण आफू रुपन्देही-३ बाट राप्रपाका दिपक बोहोरासँग पराजित भए पनि श्रीमतीलाई सांसदका लागि अघि सार्न भने सफल भएका छन्। उनकी श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा अटाएकी हुन्।
समानुपातिक उम्मेदवार छान्ने पद्धति खै?
समानुपातिकमा नातेदार र आसेपासेलाई सांसद बनाइनु एकातिर संसदीय प्रणालीकै विपरीत त हो नै अर्कोतिर संसदीय प्रणालीमा बढिरहेको विकृति पनि हो। राजनीतिक विश्लेषक गौतम समानुपातिक उम्मेदवार छान्नेबारे पद्धति नै नबनाइएको तर्क गर्छन्।
‘समानुपातिकमा कसरी उम्मेदवार छान्ने भन्ने पद्धति नै बनाइएको छैन। कसरी उम्मेदवार छानिए भन्नेबारेमा चर्चा भएको छैन,’ उनले भने।
समानुपातिक समावेशी सिद्धान्तको गलत प्रयोग हुँदा अहिले नेताहरूले आफू अनुकूलका मान्छेलाई उम्मेदवार बनाएको गौतमको तर्क छ। समानुपातिक सांसद छान्दा जे जस्ता विकृतिहरू देखिएका छन् त्यसमा ठूला नेतालाई देखाएर अरू नेता/कार्यकर्ता उम्किने ठाउँ भने छैन। किनभने समानुपातिकको बन्दसूची बझाउँदा नै समानुपातिक के कस्तो आधारले बनाउने भन्नेबारेमा जोडदार बहस नै हुन सकेको छैन।
‘संसदका लागि खाँचो पर्ने व्यक्तिलाई ल्याउनुपर्ने खालको पद्धति बनाउनुपर्ने। त्यस्तो पद्धति निर्माण गरिएन मात्रै होइन त्यस्तो डिमान्ड नै कसैले गरेन,’ गौतमले भने।