PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

ह्यारी केन पेनाल्टीमा चुक्दा  फ्रान्सले इङ्ग्ल्याण्डलाई हरायो, सेमिफाइनलमा मोरोक्कोसँग भिड्ने



पहिलोपोस्ट

ह्यारी केन पेनाल्टीमा चुक्दा  फ्रान्सले इङ्ग्ल्याण्डलाई हरायो, सेमिफाइनलमा मोरोक्कोसँग भिड्ने
Photo: AP

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा फ्रान्सले इङ्ग्ल्याण्डलाई हराएको छ। अल बायेत स्टेडियममा सम्पन्न खेलमा विश्वकपको साविक विजेता फ्रान्सले इङ्ग्ल्याण्डमाथि २-१ गोलअन्तरले जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

खेलको १७ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा औरेलियन चोउवामेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा इङ्ग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। ५४ औं मिनेटमा गोल गरेसँगै केन इङ्ग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा ५३ गोल गर्दै वायने रुनीको कीर्तिमानसँग बराबरी गरे। ७८ औं मिनेटमा फ्रान्सका ओलिभर जिरुडले गोल थप्दै फेरि अग्रता दिलाए। यता इङ्ग्ल्याण्डले फेरि ८४ औं मिनेटमा पेनाल्टीको अवसर पायो। तर, यसपटक केनले अवसरलाई सदुपयोग गर्न सकेनन्। र, २-१ गोलअन्तरले पराजित हुँदै इङ्ग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलबाट बाहिरिन पुग्यो।

अर्कोतर्फ साविक विजेता फ्रान्सले सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। सेमिफाइनलमा फ्रान्सले मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो खेलमा मोरोक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell