PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मेटिएका पदचाप पछ्याउँदै शिखर चुमेकी फुरदिकी, देखाउँदैछिन् हिमाल र शिक्षाको बाटो



रिना थापा

मेटिएका पदचाप पछ्याउँदै शिखर चुमेकी फुरदिकी, देखाउँदैछिन् हिमाल र शिक्षाको बाटो

पोखरा : सोलुखुम्बुको दिङबोचे गाउँमा चौरी चराउँदै बाल्यकाल बिताएकी फुरदिकी शेर्पा घरकी जेठी छोरी हुन्। कहिले सगरमाथाको नजिक त कहिले तिब्बत पुग्ने उनका बाबा-आमा घरमा नहुँदा घरधन्दाको जिम्मेवारी सानैदेखि उनैले लिने गर्थिन्।

स-साना घरधन्दामै अल्झिदै बित्यो उनको बाल्यकाल। एकदिन मिङ्मा शेर्पा आइपुगे। फुरदिकीलाई देखेर मनपराएका मिङ्माले उनको हात परिवारसँग मागे। परिवारको मञ्जुरीमा नयाँ जीवनको सुरुआत गरे दुवैले। र, उक्लिए दिङबोचेभन्दा माथिको गाउँ छुदुममा।

सगरमाथा पुग्ने आरोहीको विश्रामस्थल हो छुदुम। जहाँ उनीहरु चिया बेचेर भोलिको भविष्य कोर्दै थिए। फुरदिकीका बाबा ‘आइस म्यान डाक्टर’, जसले सगरमाथा चढ्ने व्यक्तिको लागि बाटो बनाउँथे। केहीसमयपछि मिङ्मा पनि फुरदिकीका बाबासँग बाटो बनाउन लागे।

मिङ्माको हिमाल यात्राले फुरदिकीलाई मात्र चियापसल धान्न गाह्रो बन्यो। त्यसैले फेरि झरिन् आफ्नै बाल्यकाल बिताएको गाउँ दिङबोचे। यसबिच तीन छोरी भइसकेका थिए उनीहरुको। उनीहरुको परिवार हिमाली भेगमा दुःख भोग्दै र रमाउँदै खुशी थियो।

दिङबोचे झरेपछि चौरी किनेका थिए। त्यसैमा आरोहीको सामान ओसार्थे। मिङ्मा सगरमाथामा बाटो बनाउन पुग्थे। फुरदिकी चौरी लिएर बेसक्याम्प उक्लिन्थिन्। बाटो बनाएर थकाई मार्न बेसक्याम्प झरेका मिङ्मा र आरोहीको सामान पुर्‍याउन माथि उक्लिएकी फुरदिकीबिच त्यहीँ भेट हुन्थ्यो।

न्यानो प्रेमको याद बतासिएको थियो बेसक्याम्पमा। त्यसैले हिँडिरहेको बाटो लामो समयपछि पनि परिचित थियो फुरदिकीका लागि। तर, लामोसमयपछि हिँडेको यात्रा फरक थियो यसपालि। बाबा र श्रीमानको मेटिइसकेको पदचाप पछ्याउँदै उक्लिएकी थिइन् सगरमाथामा फुरदिकी।

२०१३ मा उनको बाबाको घरमै मृत्यु भयो। त्यसको केही समयपछि श्रीमान पनि गुमाइन् उनले। सगरमाथाको बाटो बनाउन जाँदा मिङ्मा हिउँको खोँचमा लडे। चिसो हिउँमा मिङ्माको शरीर पनि चिसियो। एकैपटक परेको पीडा असह्य भयो उनको लागि। अतीत भुलाउन काठमाडौं पसिन्। तर, यादले साथ कसरी छोड्थ्यो?

त्यहीँ क्रममा उस्तै कथा मिल्ने निमा शेर्पासँग उनको भेट भयो। आँसु बगाउँदा बगाउँदै दुवैका आँखा थाकिसेका थिए। तर, रोकिएका थिएनन् आँसु। एकदिन फुरदिकीलाई लाग्यो रोएर अर्थ छैन। बाबा र श्रीमान हिँडेको बाटोमा लाग्ने उनले साहस जुटाइन्। र, योजना बनाइन् निमासँग सगरमाथा चढ्ने।

‘टु विडोज एभरेष्ट एक्सपिडिसन’ नाम दिँदै २०१९ मा सगरमाथा आरोहणको योजना बनाए दुवैले। जसमा आङ छिरिङ शेर्पाले पनि साथ दिए। योजना बनाएर लामो समयपछि आफू हिँड्ने बाटो उक्लिएकी थिइन् फुरदिकी। जहाँ सम्झनाको बतासले चिसो स्याँठ हान्थ्यो। तर, त्यो स्याँठमा प्रेमील यादको न्यायोपन लिँदै सगरमाथा चढ्ने अठोटका साथ लागिपरिन् उनी। दुवैको अठोटले २०७६ जेठमा सफलता पायो।

त्यो सफलतालाई गर्वको रुपमा सम्झिन्छन् फुरदिकी। भन्छिन्, ‘मलाई एकदमै चुनौती थियो। त्यसैले त्यही अनुसार तयारी गरेर गएको थियो। मेरो बुबा, भाइ, श्रीमान यो हिमाल क्षेत्रमा काम गर्नुहुने भएकाले मैले पनि उहाँहरुको पाइलालाई पछ्याएँ। महिलाहरु पनि केही गर्नसक्छन् भन्ने हिसाबले गएको थियो।’

डोब हराएका पाइला पछ्याउँदै जाँदा सफलता हासिल गरेर उनीहरुले कीर्तिमान बनाए। सगरमाथा आरोहण गर्ने पहिलो नेपाली एकल महिलाका रुपमा परिचय स्थापित गरे फुरदिकी र निमाले।

‘आत्म बलियो बनाएर गयौँ। सक्सेस भयो। संसारमा चिनियौँ। एभरेष्ट चढेर देशको इज्जत राख्नसक्नु र आफ्नो पहिचान राख्नको लागि हामी शेर्पा ड्रेसमा चढ्न सफल भयौँ। हामी दुई जना विधुवा प्रथम भयौँ। त्यहीँ भएर जहाँ पनि यस्तो सम्मान र मिडियामा आउँदा गर्व लाग्छ,’  फुरदिकीले सुनाइन्।

एकल महिलाले पनि केही गर्न सक्छन् भन्ने देखाउने लक्ष्य थियो उनीहरुको। सगरमाथा आरोहण सफल भएपछि दुवैले एकल महिलाको लागि सहयोग गर्ने वाचा गरे। सगरमाथा चढ्ने महिलाको लागि ट्रेनिङ दिने उनको रहर छ। तर, हिमाल आरोहण गरेको केही समयपछि कोरोना महामारी सुरु भयो। दुई वर्षसम्म पयर्टन र हिमाल आरोहण बन्द रह्यो।

‘हामीले बोलेको जस्तै विधुवा महिलाहरुको लागि खटिराखेको थियौँ। दुर्भाग्य, कोरोनाले गर्दा केही काम चल्न पाएन, भर्खर हामीले हल्काफुल्का ट्रेनिङ गर्दै छौँ। अरुलाई ट्रेनिङ दिनको लागि आफूपनि सक्षम हुनुपर्छ त्यहीँ भएर लिइरहेछु,’ उनले भनिन्।

फुरदिकी सामाजिक सेवामा पनि अग्रसर छिन्। आर्थिकरुपमा सहयोग गर्न सक्षम नभएपनि सहयोग जुटाउने कार्य भने गर्छिन् उनी। अमेरिकामा रहेका तीन छोरीहरुको फन्डिङमा चल्ने संस्था छ छिरिङ फाउन्डेसन। सोही संस्थाबाट उनले आवश्यक पर्नेका लागि सहयोग जुटाउँछिन्।

‘अहिले म आर्थिकरुपमा सपोर्ट गर्ने परिस्थितिमा त छैन, सहयोग नगरेपनि मेरो छोरीहरुको स्पोन्सरमा चल्ने छिरिङ फाउन्डेसन भन्ने संस्था छ त्यसले चाहिँ सकेको गर्छ। मैले सहयोग गर्न नसकेपनि स्पोन्सरसँग कुरा गरेर हाम्रो गाउँको अलि दुःख पाएकालाई हेरेको छु। छोराहरुलाई त खासै हेर्दैन, छोरीहरु चाहिँ पढिरहेको छ अहिले,’ उनले भनिन्।

उनले आफूले सकेको सहयोग गर्छिन्। आफूले नसकेपनि सहयोग खोज्ने बाटो खोज्छिन् अरुका लागि।

‘म आफैँले नसकेपनि अरु संस्थाबाट सहयोग मागेर हुन्छ कि अब यसरी सल्लाह सुझाव गरेर हुन्छ विधुवा महिला मात्र नभई सबै महिलालाई एकदम अगाडि बढ्नुपर्छ भनेर भन्छु। अगाडि बढे मान्छेले यसरी चिन्दो रहेछ भनेर बुझाउँछु। म ४६ वर्षको उमेरमा पुग्दा पनि मैले अझै केही गर्छ भन्ने छ तिमीहरु अझै योङ छ आउनुपर्छ भन्छु,’ आशावादी सुनिन्छिन् उनी।

यो बाहेक आरोहण गर्ने आरोहीहरुलाई उनी कपडा सहयोग गर्छिन्। आरोहण गर्दा आवश्यक पर्ने कपडा महँगो हुन्छ। कतिले फन्डिङ गरेको पैसाले किन्छन्। कतिलाई पुग्दैन। नपुग्नेलाई आफ्नो आरोहण साम्रागी प्रयोग गर्न दिन्छिन् उनी।

‘लुगाहरुरु एकदमै महँगो पर्छ। धेरै पैसा पर्ने लुगाहरु हुन्छ। फाइनेन्सली नभए लुगा दिन्छु। शेर्पा कम्युनिटी मात्र नभएर जुनै महिलाहरु आउनुभयो भने मेरो लुगा फिट हुनेसम्म म सहयोग गरिराखेको छु पठाइराखेको छु। स्टिल पनि दिएको छु। हिमाल चढ्नलाई लुगाको पनि आवश्यकता हुन्छ। धेरै महँगो पर्ने लुगा हो,’ उनले भनिन्।

उनको बाल्यकाल यसै हिमाली क्षेत्रमा बित्यो। पढ्ने सोच कतैबाट पनि मिलेन। तर, दुनियाँ देख्दै जाँदा पढाइको आवश्यकता उनले बुझिन्। त्यसैले आफूले पढ्न नपाएपनि शिक्षा दिन्छिन् उनी। आर्थिक रुपमा विपन्न परिवारका छोरीहरुलाई पढाई खर्च जुटाउने काम पनि गर्छिन् उनी।

आफूले पढ्न नपाएपनि तीनै छोरीलाई शिक्षा दिएकी छिन्। स्पोन्सरमा तीनै जना छोरी अमेरिका पुगेका छन्। सुनिश्चित छ उनीहरुको भविष्य। जसमा ढुक्क छिन् उनी। त्यसैले त अरु छोरीहरुको भविष्य बनाउन शिक्षा प्राप्त गर्ने बाटो खोलेकी छिन् उनले।

‘स्पोन्सरबाट बाहिर अमेरिका लगेर उनीहरु उतै पढिराखेको छ। मलाई मेरो छोराछोरीको व्यवहारिक चिन्ता छैन। त्यही भएर अरुको बच्चाहरु आमाबाबा अल्लि नाजुक हुनेहरुलाई चाहिँ सहयोग गर्छु। नसकेको बेला स्पोन्सरसँग कुरा गरेर खुम्बुमा मात्र नभई धेरै ठाउँमा सहयोग गरिराखेको छ,’ उनले भनिन्।

एभरेष्टको सफल आरोहणपछि उनी आमा दब्लम हिमाल चढिन्। टेक्निकली असहज मानिने सो हिमाल आरोहणमा पनि उनी सफल भइन्। अहिले उनी हिमाल आरोहणको पथ पर्दशकको रुपमा काम गर्छिन्। सँगै महिलाले पनि गर्न सक्छन् भन्ने विश्वास दिलाउँदै अघि बढ्दैछिन् उनी। उनको पथ प्रदर्शनको कामले आरोहीलाई हिमालको बाटो मात्र होइन हिमाली क्षेत्रका कयौँ बालिकालाई शिक्षाको बाटोपनि देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell