PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

नयाँ बसपार्कमा राजस्व विभागको पहिरनमा नक्कली छापा, नगद र मोबाइल-पेबाट रकम असुल्ने गिरोह पक्राउ



पहिलोपोस्ट

नयाँ बसपार्कमा राजस्व विभागको पहिरनमा नक्कली छापा, नगद र मोबाइल-पेबाट रकम असुल्ने गिरोह पक्राउ

काठमाडौं : मंसिर २३ गते अपराह्न ४ बजे निलो कोट पाइन्ट लगाएका व्यक्तिहरु नयाँ बसपार्कमा रहेको होटल र पसलहरुमा चहार्दै थिए। राजस्व अनुसन्धान विभागको कर्मचारी बताउने उनीहरुले पसल र होटलहरुको कर तिरे नतिरेको बारे बझ्न आएको बताए। पसल र रेष्टुरेन्टहरुलाई कर नतिरेको भन्दै उनीहरुले जरिवना रकम असुल गरिरहे।

बजारमा राजस्वका कर्मचारीहरुले छापा हान्दै गर्दा व्यापारीहरुमा खैलाबैला मच्चियो। तर, सरकार भेषमा आएर रकम असुल गरेका ती व्यक्तिहरुले नक्कली परिचय बनाएर ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले राजस्व अनुसन्धान कार्यालयको कर्मचारीको भेषमा ठगी र कीर्ते गर्ने सो गिरोहमा संलग्न ८ जना पक्राउ गरेको छ। कर्मचारीको युनिफर्म र परिचयपत्र लगाएर आएकाहरुले नयाँ बसपार्क क्षेत्रमा आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउँदै होटल रेष्टुरेन्टहरुमा पुगेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कर्मचारीको भेषमा नयाँ बसपार्कमा रहेको होटल तथा रेष्टुरेन्टहरुमा पुगेर सो गिरोहले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नु पर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरेका थिए। नक्कली छापा खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले उक्त कार्यमा संलग्न विभिन्न ८ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा २९ वर्षीय बिन बहादुर बि क, २२ वर्षीया सृजना भट्टराई, १९ वर्षका सागर जंग लुहार, २३ वर्षीया प्रमिशा तामाङ, २३ वर्षीया की दुधकला बि क, २१ वर्षीया अञ्जना तामाङ, २४ वर्षका राजिब बिष्ट र २५ वर्षका डेबिड धामी रहेका छन्।

पक्राउ पर्ने व्यक्तिहरुबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प, अनुगमन अधिकृत लेखिएको स्टाम्प, हस्ताक्षर भएको स्टाम्प, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलिहरुका साथै राजस्व सम्बन्धी किताबहरु समेत बरामद गरेको छ। यस्तै, प्रहरीले आन्तिक राजस्व कार्यालयको परिचयपत्रसमेत उनीहरुबाट फेला पारेको छ।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२१ को २४९ को ठगी गर्न नहुने कसूर तथा परिच्छेद-२५ को २७६ को कीर्ते गर्न नहुने कसूर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार  विगत ४ दिनदेखि सो गिरोहले नयाँ बसपार्क इलाकामा रहेका विभिन्न होटल लज, पसलहरु तथा फुटपाथ पसलहरुबाट समेत विभिन्न परिमाणमा रकम असुल गरेको खुलेको छ।

राजस्व अधिकृत बनेर उनीहरुले पीडितहरुबाट प्राप्त रसिद र मोबाइल-पेबाट समेत गरि जम्मा ५ लाख ८ हजार ६४० रुपैयाँ समेत सङ्कलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ। सो गिरोहविरुछ हालसम्म चारजनाले लिखित जाहेरी दिएका छन्। अन्य पीडितहरु पनि प्रहरीको सम्पर्कमा आउने क्रम जारी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell