PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सांसदको स्वागतका लागि तयार गरिँदै वाग्मती प्रदेशसभा बैठक कक्ष, अरु के के भइरहेको छ काम?



निशा गुरुङ

सांसदको स्वागतका लागि तयार गरिँदै वाग्मती प्रदेशसभा बैठक कक्ष, अरु के के भइरहेको छ काम?

हेटौंडा : दलहरुले निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ समानुपातिक उम्मेदवारहरुको सूची बुझाइरहेका छन्।

संघको मतपरिणाम राष्ट्रपतिलाई र प्रदेशको सम्बन्धित प्रदेश प्रमुखलाई नतिजा बुझाउने तयारीमा छ आयोग। यसबिच नयाँ सांसदहरुको स्वागतका लागि तयारी भइरहेको छ।  

वाग्मती प्रदेशसभामा ११० जना नयाँ सांसदहरुका लागि पुरानै भवन मर्मत भइरहेको छ। नयाँ भवन निर्माण हुन समय लाग्ने भएपछि पुरानै भवनको मर्मत भइरहेको वाग्मती प्रदेश संसद सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठक कक्षको रंगरोगन र सरसफाइदेखि संसदीय दलको कार्यालयसम्म निर्माण भइरहेका छन्। यसअघिका प्रदेशसभाका सभामुख , उपसभामुखको २-२ कोठा भत्काएर अहिले फराकिलो पारिएको छ।

प्रदेशसभामा आउने नयाँ सभामुख र उपसभामुखको कार्यकक्षलाई रंग्याउनको लागि काठमाडौंबाट कामदार ल्याइएको छ। वालपेपर टाँसेर काम गर्ने कामदार हेटौंडामा नपाएपछि काठमाडौंबाट ल्याइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए।

त्यसैगरि, संसद सचिवालयले दलको संख्या हेरेर संसदीय दलको कार्यालय पनि तयार गरिरहेको सचिव खड्काले जानकारी दिए। प्रदेश सभामा चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरि १३ स्थान जितेको छ। अघिल्लो पटक बागमती प्रदेशसभामा राप्रपाबाट दुईजना समानुपातिक सांसद मात्रै थिए। अहिले राप्रपाको लागि संसदीय दलको कार्यालय निर्माण कार्य पनि जारी छ।

वाग्मतीको अंकगणित

वाग्मती प्रदेशसभामा यसपटक हाम्रो नेपाली पार्टीले पनि प्रवेश पाएको छ। प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सभामा तेस्रो दल बनेको नेपाली कांग्रेस यसपटक वाग्मती प्रदेशको सबैभन्दा ठूलो दल बनेको छ। ११० सदस्यीय प्रदेशसभामा कांग्रेसले ३७ सिट प्राप्त गरेको छ। कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको हो। प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ। प्रदेशसभाको पहिलो कार्यकालमा पहिलो दल बनेको एमाले हाल २७ सिटसहित दोस्रो स्थानमा खुम्चिएको छ।

त्यसैगरि नेकपा माओवादी केन्द्र २१ सिट प्राप्त गरेको छ। प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो। प्रत्यक्षमा ५ सिट र समानुपातिकमा दुई सिट प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाचौं स्थानमा छ। त्यसैगरि प्रत्यक्षमा एक सिट जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ दुई सिट गरि कुल ३ सिट प्राप्त गरेको छ।

पहिलो पटक प्रदेश सभामा प्रवेश पाउन लागेको हाम्रो नेपाल पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरि २ सिट जितेको छ।

सत्तारुढ गठबन्धनले निरन्तरता पाए वाग्मतीमा सहजरुपमा बहुमत जुट्ने छ। सरकार बनाउन ५६ संसद्को समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ संसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell