PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सिद्धार्थनगरमा पनि चल्यो डोजर, अवैध संरचना हटाउन सुरु



पहिलोपोस्ट

सिद्धार्थनगरमा पनि चल्यो डोजर, अवैध संरचना हटाउन सुरु

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाउन सुरु गरेको छ।

सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटकपटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेको भन्दै पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो। आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटाको घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ।

नौडिहवा टोल विकास समितिले मोहम्मद हसन तेली घरधनी रहेको दुईवटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरि संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो। सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरि उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए। उनले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्तर्गत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरि संरचना बनाएको भए आफुहरुलाई सूचना दिन आग्रह गरे।

सिद्धार्थनगर नगरपालिकाको नक्सा शाखा प्रमुख ईन्जिनियर मानप्रसाद श्रेष्ठले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नापजाँच पश्चात एकिन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताए।

नगर प्रमुख इश्तियाक अहमद खानले नगरभित्र सार्वजनिक जग्गा, कुलो लगायत मिचेर कसैले संरचना निर्माण गरेको भए आफै भत्काउन आग्रह गरेका छन्। डोजर पुगेको अवस्थामा नगरपालिकाको कार्यालयले नियमानुसार अघि बढ्ने उनले बताए।

‘हामीहरु कसैले निर्माण गरेको घर संरचना भत्काउन चाहदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह गर्छौ,’ उनले भने, ‘यदि हाम्रो आग्रहलाई वेवास्ता गरेर सार्वजनिक जग्गा मिचेर संरचना बनाइन्छ भने नगरपालिका कार्यालय नियमानुसार अघि बढ्छ।’

नगर उपप्रमुख उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन्। उनले सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाहरुको साथ र सल्लाह-सुझाव आवश्यक रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell