PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

शान्तदासलाई साहित्य सृष्टि सम्मान, अनुज्ञालाई राकुपा बालप्रतिभा



पहिलोपोस्ट

शान्तदासलाई साहित्य सृष्टि सम्मान, अनुज्ञालाई राकुपा बालप्रतिभा

काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक शान्तदास मानन्धर सम्मानित भएका छन्। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आइतवार काठमाडौंको नयाँ बानेश्वरमा रहेको थाहा पुस्तकालयमा एक कार्यक्रम आयोजना गरी मानन्धरलाई सम्मान गरेको हो।

नेपाली बालसाहित्यको क्षेत्रमा आधा शताब्दीदेखि अनवरत सेवा जारी राखेका उनलाई नगद २५ हजार रुपैयाँसहित 'साहित्य सृष्टि वाङ्मय साधना सम्मान' प्रदान गरिएको केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जनाए। मानन्धरलाई अध्यक्ष श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरे भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सम्मानपत्र र नगद प्रदान गरे।

केन्द्रका अध्यक्ष प्रधानले आफ्नो छोरी सृष्टि प्रधानको नाममा यो सम्मानका लागि २०७८ पुस ११ गते अक्षय कोष स्थापना गरेका हुन्। बाल साहित्य साधकलाई सम्मान गर्न अक्षयकोष स्थापनापछि हरेक वर्ष बालसाहित्य क्षेत्रमा साधना गरेका एक व्यक्तिलाई यो सम्मान प्रदान गरिने केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले बताए। ३० वर्ष बालसाहित्यका क्षेत्रमा सेवा पुर्‍याएका साधकलाई यो पुरस्कार प्रदान गरिने केन्द्रको नीति रहेको र शान्तदास यो सम्मान पाउने पहिलो सर्जक बनेका छन्।

सम्मानले आफूलाई उत्साह जागेको तर साहित्यमा बलियो हुनुपर्ने पुस्ता विस्तारै बिदेशिएकोमा दु:ख लागेको बताए। यस्तो विषयमा रोक्न अब बालबालिकालाई विशेष साहित्य सिर्जना गर्नुपर्ने बताए।

शान्तदासको जन्म विसं १९९१ जेठको शुक्ल दशमीमा काठमाडौंको वसन्तपुरमा भएको थियो। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा निरन्तर समर्पित रहका कारण मानन्धरलाई २०७५ साल असोज २५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७४’ बाट सम्मानित गरिएको थियो।

अनुज्ञालाई बाल प्रतिभा

यसैगरी अनुज्ञा नेपाललाई राकुपा बाल वाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ। अनुज्ञाको कविता संग्रह 'उज्यालोको खोजी - २०७८' का लागि यो पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ। उनलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ।

२०७९ असार २५ गते वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी ‘राकुपा बालबाङ्मय पुरस्कार’ घोषणा ‍गरेका हुन्। केन्द्रका सल्लाहकारसमेत रहेका पाँडेले बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए। यो पुरस्कार २० वर्ष मुनिका बालक एवं किशोरले रचना गरेका प्रकाशित किताबमध्ये उत्कृष्टलाई प्रदान गरिने नीति छ। अनुज्ञा यो पुरस्कार पाउने पहिलो व्यक्ति बनेकी छिन्।

अनुज्ञाको उज्यालोको खोजीका साथमा हामी गर्न सक्छौ चित्रकविता पनि प्रकाशित रहेको छ। एम्बिसन एकेडेमीमा कक्षा १२ सकाएकी उनले यसअघि नुरगंगा राष्ट्रिय राष्ट्रिय बालसाहित्य पुरस्कारसमेत प्राप्त गरिसकेकी छन्। पुरस्कारले आफूलाई सिर्जनामा थप उर्जा मिलेको बताइन्।

जिउँदो शालिक लोकार्पण

कार्यक्रममा पाँडेको पुस्तक 'जिउँदो सालिक'समेत लोकार्पण भयो। किशोर अध्याय पुस्तकका रुपमा आफूले यो पुस्तक प्रकाशन गरेको र यसमा १० विभिन्न लेख रहेको उनले बताए। मानिसहरु विभिन्न कारणले जिउँदो सालिक बनेको विषयलाई आफूले किताबमा समेटेको पाँडेले बताए।

केन्द्रका महासचिव अनन्त वाग्लेले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, केन्द्रका सल्लाहकार डा धर्म डंगोल, सिर्जना शर्मालयागतको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रका उपाध्यक्ष आचार्यले स्वागत गरेका थिए भने कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित व्यक्तिबारे प्रकाश पारेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell