PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तत्कालका लागि देउवाको नेतृत्व आवश्यक छ : प्रकाशशरण महत (अन्तर्वार्ता)



नेत्र तामाङ

तत्कालका लागि देउवाको नेतृत्व आवश्यक छ : प्रकाशशरण महत (अन्तर्वार्ता)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन - २०७९ को मतपरिणाम आएसँगै नयाँ सरकार बनाउने जोडघटाउ सुरु भएको छ। यो निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाए पनि बहुमत भने पाएन। अब सरकार कसको बन्छ? कांग्रेस कसरी अघि बढ्छ? नेपाली कांग्रेसको चुनाव प्रचारको कमान्डसमेत सम्हालेका प्रवक्ता डा प्रकाशशरण महतलाई हामीले सोधेका छौं :  

चुनावलाई कसरी समीक्षा गरिरहनुभएको छ?
हाम्रो अपेक्षा अनुरुपको परिणाम आएन। तैपनि अब हामी करिब बहुमतमै छौं। मलाई लाग्छ कांग्रेसको गठबन्धनले यो परिणाम ल्याएको छ। यसमा धेरै असन्तुष्ट हुनुपर्ने छैन। अपेक्षा त फराकिलो अन्तरले बहुमत ल्याउने भन्ने थियो। कांग्रेसले समानुपातिकमा पनि धेरै ल्याउँछ र प्रत्यक्षमा पनि थप १५ सिट आउने अपेक्षा थियो। त्यो भएन।

गठबन्धन गर्दा पनि ३४ सिट जित्न सकेन कांग्रेसले, गठबन्धन त घाटाको सौदा नै भयो नि हैन?
हैन, अब पोस्टमार्टम त हरेकले गर्छन्। आलोचना, समालोचना हरेकले गर्छन् नै। तर जुन परिवेशले गठबन्धन बनेको थियो। जुन लक्ष्य निर्धारण गरिएको थियो। त्यो अवस्थामा यो गठबन्धनलाई साथै लिएर जानुपर्छ भन्ने सर्वसम्मत पार्टीको निर्णयलाई अघि बढाएको हो।

जे भए तापनि हामी एकल लड्दा कमजोर थियौं। अहिले हामी सबभन्दा ठूलो दल भएका छौं अपेक्षित परिणाम नआए पनि। गठबन्धन भएर यस्तो बिग्रियो भन्ने निष्कर्षमा पुग्नु चै उत्तम हुँदैन।

तर, समानुपातिकमा त पहिलो बन्न सकेन नि?
गठबन्धनले गर्दा समानुपातिकमा मत घटेको हो। किनकि ६१ ठाउँमा प्रदेश र प्रतिनिधि सभातर्फ हाम्रा उम्मेदवार थिएनन्। त्यसले गर्दा सामान्यतय प्रत्यक्ष उम्मेदवारले नै मतदातालाई परिचालित गरिरहेको हुन्छ। त्यसमा केही निष्क्रियता आयो। कतिपय ठाउँमा हाम्रो मतदाताको प्रशस्त संख्या हुँदाहुँदै पनि हाम्रो उम्मेदवार छैन किन जाने भन्ने अवस्था आयो। थप कारण अन्तर्घात हुने र असहयोग हुने हो। यसको मुल्यांकन हुँदैछ।

सूचना आउँदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापित पार्टीका कारण देशले अपेक्षित परिणाम प्राप्त गरेन भनेर खासगरी जबर्जस्त सोसल मिडिया क्याम्पेन गरे र अरु दलले पनि त्यसो गरे त्यसको कारणले पनि कतिपय मत त्यता ट्रान्सफर भए। अपेक्षा थियो ओलीजीको शासनकालमा निराशा नेपाली युवाहरुमा जन्मायो। त्यसको सम्पूर्ण क्षतिपूर्ति आशामा रुपान्तरण गर्नु एक वर्षमा सम्भव थिएन।

त्यसकारण त्यसको भुक्तानी मूल्य हामीले पनि चुकाउनुपर्‍यो। दलहरुलाई खबरदारी हो। तपाईंहरु खरो उत्रन सक्नुभएन भन्ने सन्देश पनि हो यो। 

समानुपातिकमा सुरक्षित बस्नुभयो तपाईं अनि कार्यकर्तालाई दोष दिने?
मेरो त आफ्नो जिल्लामा प्रत्यक्षमै टिकटको दाबी थियो। यसमा धेरै बहस पनि भयो। तर यसपाली गठबन्धनमा जाँदा माओवादीले छोड्दै नछोडेको अवस्थामा पार्टी नेतृत्वले यस्तो आइपर्‍यो तपाईं समानुपातिकमा बस्दिनुपर्‍यो भन्ने आयो।

म प्रत्यक्ष निर्वाचनबाट भागेको पनि हैन। सहज रुपमा राम्रो मत ल्याएर म जित्थें पनि। आफ्नै जन्मस्थानमा जहाँ धेरै काम गरेको थिएँ त्यही लड्न चाहन्थे। समानुपातिक भनेको पनि कुनै नियुक्ति हैन। यसमा पनि मत नै आउनुपर्‍यो। प्रत्यक्षमा पनि पार्टी लड्ने हो। व्यक्ति लड्ने भए सबै एक्लाएक्लै लडे भैहाल्यो नि। पार्टीले टिकट दिएर पार्टीको मतले नै जितेर जाने हो।

त्यसैले समानुपातिक र प्रत्यक्षको फरक भनेको यति हो - समानुपातिक देशैभरिको मतबाट निर्वाचित हुन्छ। प्रत्यक्षमा त्यो क्षेत्रमा प्राप्त मतको आधारमा निर्वाचित हुने हो। तर जे भएता पनि समानुपातिकतर्फ मलाई विश्वास गरेर पार्टीले मलाई राख्यो पार्टीले प्राप्त गरेको मतको आधारमा म निर्वाचित हुने अवस्थामा पुगेको छु। 

मुस्किलले आट्नुभयो, तपाईंहरुजस्तै नेता समानुपातिकमा बसेर मत घटेको आरोप छ?
त्यो गलत हो। नियोजित क्याम्पेन थियो त्यो। पार्टीमा काम गरेको मान्छे नआएर अरु को हुन्छ? काम गर्‍या मान्छे हुने हो नि। दोस्रो स्मार्ट फोनको जमाना छ। हरेकको हातमा फोन छ। सबैले दाँज्न सक्छन्। फलना देशमा यो हुँदैछ। फलना देश यहाँ पुगिसक्यो भन्ने छ।

यहाँको पृष्ठभूमि नेपालको परिवेश कसरी अघि बढ्यो कस्तो खाले द्वन्द्व अस्थिरताबाट नेपाल गुज्रियो। ४६ सालअघि कस्तो भयवाह अवस्था थियो न अधिकार थियो। न विकास थियो। न समृद्धि थियो। ६० प्रतिशत जनता गरिबीको रेखामुनि थिए। कति त खाली खुट्टा हिँड्थे।

यो सबै कुरा नयाँ पिढीलाई थाहा छैन। उनीहरुलाई केमात्र तुलना गर्छन् भने अन्य देश यस्तो भइसक्यो। नेपाल किन पुगेन। नपुग्नुको कारण यिनीहरु नै त हैनन् भन्ने किसिमको न्यारेटिभ जबर्जस्ती ढंगबाट सम्प्रेषित भयो। त्यसले गर्दा पनि हाम्रो मत कम आएको हो। 

स्मार्ट फोनको कुरा गर्नुभयो, तपाईंले पनि सामाजिक सञ्जाल पक्कै हेर्नुहुन्छ होला, जनतादेखि कार्यकर्ता रुष्ट छन् नि तपाईसँग?
एउटा प्रवृत्ति हाम्रै पार्टीभित्र छ। त्यो के भने व्यक्तिपरक र व्यक्तिको प्रमोसन गर्ने। हामी जनताको कुरा गर्छौं। पार्टीको कुरा गर्छौ। हामी व्यक्तिगत प्रमोसनमा लागेनौं। व्यक्ति प्रमोसन गर्नेहरुलाई प्रश्न गर्ने वित्तिकै नियोजित रुपमा संस्थागत विचार राख्ने, पार्टी र जनतालाई प्रमुखता राखेर व्यक्ति प्रमोसन गर्नेलाई प्रश्न गर्ने वित्तिकै त्योमाथि चै जबर्जस्त हमला गर्ने प्रवृत्ति छ।

त्यो हाम्रो पार्टीभित्र पनि छ बाहिर पनि छ। त्यस हिसाबले आक्रमण भइरहेको छ। हैन भने प्रतिबन्धित कालदेखि हामीले काम गरेका छौं। पढेलेखेका छौं। जबजब जिम्मेवारी आएको छ बेस्ट अफ दि बेस्ट पर्फर्मेन्स दिएका छौं। देश र जनतालाई केन्द्रमा राखेर काम गरेका छौं। व्यक्तिगत प्रमोसन गर्ने काम गरेको छैनौं। हामी विज्ञापनमा विश्वास गर्दैनौं।

यद्यपि यो विज्ञापनको जमाना रहेछ। जसले कन्टेन्टभन्दा पनि प्रेजेन्टेसनलाई महत्व दिने। कसले कसलाई सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने। टिकटक बनाउने सञ्जाल बनाउने। युट्युब बनाउने सञ्जाल बनाउने। त्यसबाट निश्चित क्लिप जबरजस्त किसिमले प्रमोसन गर्ने। त्यसबाट एउटा इम्प्रेसन पार्ने। आज पनि त्यही देखायो भोलि पनि त्यही देखायो। हो कि क्या हो पार्ने। अनि जसले निरन्तर काम गर्छ। तामझाम, ग्लिटरमा विश्वास राख्दैन उनीहरुको बारेमा नकारात्मक तस्विर प्रस्तुत गर्ने। यो डेन्जरस् प्रवृत्ति पनि अहिले देखिए छ।

हाम्रो मूल्याङ्कन सतही हुन थालेको छ। सामाजिक सञ्जालमा नियोजित प्रस्तुत हुने गालीगलौज त्यसको पृष्ठभूमि के हो। त्यसले सही अर्थमा काम गरेको छ कि छैन। त्यो गहिराईमा कोही जान चाहदैन। तत्कालै टिकाटिप्पणी गर्ने। त्यो उपयुक्त हैन।

त्यसो भए खै त डिफेन्समा उत्रनुभएको?
सामाजिक सञ्जालमा कसरी मान्छे लगाएर अब सानो कुरालाई ठूलो बनाएर देखाउँछ। २४ घण्टा काम गर्नेको भन्दा ५ सेकेन्ड काम गर्नेको क्लिप्स बनाएर देखाए ओहो भन्छन्। हाम्रा पार्टीका कार्यकर्ताले यस्ता काम जनताको सेवामा रातदिन गरिरहेका हुन्छन्।

बिरामीको सेवादेखि विभिन्न काम। तर हामी मैले यसो गरे भनेर देखाउँदैनौं। सेयर गर्दैनौं। विज्ञापन गर्दैनौं। कही मद्दत गर्दा त्यो हामी खिचेर देखाउँदैनौं। अहिले के देखियो भने सानो कुरा गरेर खिचेर सामाजिक सञ्जालमा प्रेजेन्टेसन गरे ओहो उसले त यस्तो गरेछ त्यस्तै त हामीले दिनदिनै गरिराखेका हुन्छन्। हामी देखाउनका लागि काम गर्दैनौं।

अहिले इमेज क्रिएट गर्ने जमाना आएछ। कि त त्यस्तै अभियानमा लाग्नुपर्‍यो। त्यस्तै गालीगलौचको भाषा। हामलाई त्यस्तो गर्नै आउँदैन। मर्यादाभन्दा तल गएर यथार्थमा नपुगी विरोध गर्ने अनावश्यक रुपमा चरित्रहत्या गर्ने हाम्रो संस्कारमा त्यो छँदै छैन। हामी गर्न पनि चाहँदैनौ। गर्न पनि गर्दैनौं। अहिले समाजमा एउटालाई भगवान बनाइदिने त कसैलाई राक्षस बनाइदिने। तर सत्य के हुन्छ भने इनविट्वीन हुन्छ। कोही यहाँ भगवान छैन। भगवानको त १० कमीकमजोरी हुन्छ। हामी त ह्युमन हो।

समाजमा अहिले के ट्रेन्ड चलेको छ भने कसैलाई भगवान बनाइदिने त्यसको बारेमा टिप्पणी गर्दा यसो गर्दा के होला भन्न नहुने। कसैको बारेमा यसरी गालीगलौच गरेर काम नलाग्ने बिगार्ने यही हो भनेर राक्षसीकरण गर्ने। जुन किसिमको छ यो ठीक छैन। सत्य बीचमा हुन्छ। धेरै मान्छेहरु समाजसेवामा छन् राजनीतिमा छन्। सबै खुरुखुरु काम गर्छन्।

तर अहिले देखाउने जमाना आयो। कसलाई तल झार्ने कसलाई माथि उठाउने भनेर लाग्छन्। कसैको बारेमा टिप्पणी गर्दा अलिकति गहिराईमा जाउ। त्यसपछि यथार्थ पिक्चर आउँछ। 

तपाईंलाई पनि व्यक्तिकेन्द्रित हुनुभयो भन्ने आरोप छ नि?
कसको गरें र मैले?

पार्टी सभापति देउवाको?
मैले उहाँको मात्रै बोल्या छैन। समग्रमा पार्टीको कुरा गर्छु। कसैलाई मैले गालीगलौच गरेको छैन। संस्थागत रुपमा छलफल गर्न पाइन्छ। पार्टीमा राखौ न। यो त मैले आलोचना गरेको हैन नि। तर कसैले चै पार्टी नेतृत्वदेखि अरुलाई जे भने पनि हुने।

यिनीहरुकै कारण सबै खत्तम भएको भन्ने। संस्थागत छलफल गरौं न यो राम्रो हैन र भन्दा चै यस्तो हामीलाई किन भन्यो भन्ने। कसैलाई त एकतर्फी जे भने पनि हुने। खत्तमै कामै नलाग्ने भन्ने। संस्थागत कुरा गर्दा चाहिँ सह्य हुँदैन भने त्यो लोकतान्त्रिक सोच नै भएन नि।

कसैको बिना आलोचना महान भन्नुपर्ने। कसैको बारे चाहिँ बिना आधार कामै नलाग्ने भन्दिने। त्यो त तरिका भएन नि। डेमोक्रेटिक स्पेसमा हामी कुरा गरिरहेका छौं। यसलाई नै सम्मान भएन नि।

त्यत्रो तालमेल गर्दा पनि सत्ता गठबन्धनलाई बहुमत पुगेन है?
केही सिट हो। समर्थन गर्न केही इच्छुक दलहरु छन्। त्यसकारण गठबन्धनलाई बहुमत पुर्‍याउन गाह्रो हुन्न। 

त्यसो भए सत्ता गठबन्धनकै सरकार बन्छ?
त्यसको विकल्पमा जान्छ जस्तो मलाई लाग्या छैन।

प्रधानमन्त्री को बन्ला? कांग्रेसमा संसदीय दलको नेता को चुनिएला?
यो आम चुनाव हैन। हामी क्याम्पेन गर्दै हिँड्ने कुरा छैन अहिले। ८९ जना हाम्रो सांसद छन्। सबले सबलाई चिनेका छन्। हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। कसैलाई निषेध छैन। अरु दललाई मिलाएर जानुपर्ने अवस्था छ। शासन गर्ने भन्ने कुरा कठिन छ नेपालमा। त्यसकारण सर्वसम्मति गरेर जाउँ जसले अरु पार्टीलाई नि जोड्न सक्छ जसले चै सबैको सहयोग लिएर सरकार चलाउन सक्छ। हैन, त्यसरी हुँदैन भन्ने छ भने त्यसमा प्रतिस्पर्धा गर्न पाइहाल्छ। 

संसदीय दलमा त थुप्रैको आकंक्षा छ नि?
सबैलाई आफ्नो इच्छा प्रकट गर्ने अधिकार छ। सँगसँगै हाम्रो चै पुरानो पार्टी र ठूलो पार्टी। पुरानोदेखि नयाँ पुस्तासम्मका एकसेएक योग्य साथी हुनुहुन्छ। कसैले धेरै अभिव्यक्त गरेर हिड्नुभएको छ। कसैले गर्दैन। तर प्रशस्त योग्य साथी हुनुहुन्छ। इच्छा प्रकट गर्ने नेताहरु देखिनुभएको छ। अन्ततोगत्व प्रक्रिया अघि बढ्छ। त्यतिन्जेलमा कतिपय साथीहरु मेरो पनि इच्छा त थियो अब यसरी जाउँ भनेर निष्कर्षमा पुग्नुहोला। कतिपय साथीहरु म त छाड्दिन भन्ने निष्कर्षमा पनि पुग्नहोला कोही।

युवालाई दिनैपर्छ भन्ने जोड पनि छ नि?
युवा पनि ठीक छ। हामीले यस्तो विभाजन सिर्जना गर्नुभएन कि यो प्रौढ हुँदै हुँदैन। या युवा हुँदै हुँदैन। यो दुबै गलत हो। यो राजनीति आवश्यकताको सिद्धान्तले चल्छ। कुनै बेला प्रौढ उमेरको नेतृत्वमा आउँछ। संसारभर त्यही छ नि। अहिले भारतमै प्रौढ नेतृत्व छ। कसैले युवा किन भएन भनेको छैन होला। अमेरकामा बाइडेन छ। कुनैबेला क्लिन्टन ओबामा पनि ४४ वर्षमा भएका थिए।

त्यसबेलाको परिवेशमा एमङ द क्यान्डिडेट यही नै ठीक छ भनेर जनताले भन्छन्। यो उमेरको सिद्धान्तले चल्दैन यो आवश्यकताको सिद्धान्तले चल्छ। सबै नागरिक प्रौढ उमेरका नि हुन्छन्। युवा उमेरका नि हुन्छन्। बीचका उमेरका नि हुन्छन्। पार्टीभित्रका नेतृत्वका लागि आफूलाई प्रस्तुत गरिराख्छन्। युवा प्रौढ नभनी अहिलेको आवश्यकता अहिलेको परिवेशमा यो व्यक्ति भयो भने उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने हो। जनताबाटै निर्वाचित भएर आउनेहरुले यसको अवश्य मूल्याङकन गर्नुहुन्छ।

सांसदहरुले विवेक प्रयोग गर्नुहुन्छ। बहुमत नभएको अवस्थामा कसलाई अघि सार्दा नेतृत्व पाउन सम्भव हुन्छ भन्न आधारमा नेतृत्व चुनिहाल्नुहुन्छ। यसमा फलानो हुँदै हुन्न, फलानो ठीक, फलानो वेठीक भन्ने छैन। सबै खारिएका जानेबुझेका नेताहरु निर्वाचित भएर आउनुभएको छ। उहाँहरुले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ। 

यसको मतलब सभापति देउवा नै फेरि संसदीय दलको नेता बन्ने हो?
स्वभाविक रुपमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। स्वभाविक नेतृत्व नेपाली कांग्रेसकै हो। नेपाली कांग्रेसभित्र जतिसुकै गालीगलौच काम नलाग्ने यो त्यो भनेर जसरी जायज नजायज आक्रमण गरिएको छ। यति छोटो अवधिमा ओलीबाट जुन निराशा भएको थियो साढे तीन वर्षमा त्यो अवस्थाबाट कोभिडलाई व्यवस्थापन गरेर।

दुईटा निर्वाचन गराएर अनेकन काण्ड रोकेर यो अवस्थामा पुर्‍याएको छ। केही पनि गरेको छैन भनेर भन्न त मिलेन नि। यति छोटो अवधिमा कोसले आएर के नै गर्न सक्छ। त्यसकारण मलाई लाग्छ यो केही भएन भन्ने न्यारेटिभसँग म सहमत छैन। उहाँको अरुलाई पनि मिलाएर जान सक्ने विशेष क्षमता छ। ओलीको पालामा विग्रह भयो। हामीसँग बहुमत थिएन। सबैलाई लिएर उहाँले सरकार बनाउनुभयो। त्यसैले तत्कालका लागि उहाँको नेतृत्व आवश्यक छ।

कांग्रेसको नेतृत्वमा सरकार बने तपाईंको दाबी केमा रहन्छ?
मेरो कुरा के भने हामी ४६ साल अघिदेखि नेविसंघको राजनीतिमा छौं। ७ कक्षा पढ्दा जेल गएको। लगातार स्कुल जीवनदेखि देशमा प्रजातन्त्र स्थापनाका लागि जनाधिकार स्थापनाका लागि लड्यालड्यै। पढ्या पनि छु। योग्यता पनि छ। पार्टीको पृष्ठभूमि पनि छ। काम गरेर पनि देखाएको छु। उर्जामन्त्री हुँदा होस् या विदेशमन्त्री हुँदा। योग्यताको हिसाबमा कुनै कमी छैन।

पार्टीले छलफल गरी मैले जिम्मेवारी लिनुपर्छ भनेर पार्टी नेतृत्व निष्कर्षमा पुग्दाखेरि कुनै पनि जिम्मेवारी लिन म सक्षम छु। म लिन्छु। मलाई यो चाहियो त्यो चाहियो भनेर मिडियाबाजी वा सार्वजनिक बहस गर्न मैले आवश्यक ठान्दिनँ।

कुन मन्त्रालय हो तपाईको दाबी
मैले अघि नै भने म जुनसुकै जिम्मेवारी लिन पनि सक्षम छु।

अर्थमन्त्रीमा दाबी हो त्यसो भए?
मैले अर्थशास्त्रमै पिएडी गरेको हुँ। अमेरिकाबाट प्रतिस्पर्धामा पढ्न गएको हो। मैले विदेश मन्त्रालय पनि चलाइसकेको छु। शासनसत्तामा जनताको उत्थान र विकासलाई ध्यानमा राखेर काम गर्नुपर्छ। जनताबाट चुनिएर आएका जनप्रतिनिधिले व्यक्तिगत लाभ पार्टीगत लाभभन्दा माथि उठेर अहिले त युवाहरुको ज्यादा अपेक्षा छ। तत्कालै परिणाम आओस् भन्ने। हामीले कही कतै पनि चुक्ने छुट हामीलाई छैन।

व्यक्तिगत लाभहानी भन्दा देश र जनताको लाभभन्दा अरु कुनै प्राथमिकता छैन भन्ने मानसिकता साथ काम गर्नुपर्छ। जो कोही जिम्मेवारीमा पुगोस्। बहुमत जुटाएपछि यसलाई अवसरमा परिणत गराउनुपर्छ। हिजो ओलीजीले ठूलो बहुमतलाई पनि सदुपयोग गर्न सक्नुभएन। अहिले न्यारो बहुमतको अवस्था छ। जब अप्ठ्यारो बाटो हिड्छौं नि। सजिलोमा केयरलेस हुन्छौं। अब गठबन्धन दलले व्यक्तिगत र पार्टीगत लाभहानी त हामीले गर्नै भएन। जुन प्रश्न छ यिनीहरुले गर्दैनन् कि भन्ने त्यो मेटिँदैन लापरबाही गरेमा। हामीलाई जनताले विश्वास गर्दैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell