काठमाडौं : स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा वद्यमान विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्र प्रदर्शनी गरिएको छ। गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर ‘रङ्गपालिका’ शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो।
कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ। महासंघले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएको छ। प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री देउवाले राम्रो काम गरेको प्रतिक्रिया दिए।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले चित्र आफैँमा हजार शब्द भएको बताए। उनले कार्टुन सन्देशसहितका एउटा स्पष्ट ऐना भएको र जहाँ आफैँलाई हेरेर व्यक्ति वा संस्थाले आफूलाई सच्याउन सक्ने विचार व्यक्त गरे।
उनले भने, ‘चार सय साठी वटा गाउँपालिकाले गरेका राम्रा काम वा सुधार्नुपर्ने पक्ष मानव जीवनका विविध रङ जस्तै हुन्। त्यसैले त कार्टुन तथा चित्र प्रदर्शनीलाई रङ्गपालिकाको नाम दिइएको हो। यसमा मूलतः स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटेर कार्टुन तथा चित्रमार्फत सन्देश दिने जमर्को गरिएको छ।’
अध्यक्ष श्रेष्ठले प्रदर्शनीमा राखिएका चित्र तथा कार्टुनमा शुद्ध सन्देश र जानकारी मात्र नभइ रोचक तथा घोचक ठट्यौलो अनि रमाइला प्रस्तुति पनि रहेको बताए।
कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले सबै आमजनले सहज ढंगले बुझ्न कार्टुन कला प्रभावकारी हुने बताए। उनले महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर स्थानीय सरकारका कार्य र उत्तरदायित्व झल्किने कार्टुन तथा चित्रको प्रदर्शनी गरिएको सुनाए।