काठमाडौं : 'नेपाली फिल्म उद्योगको भविष्य' विषयमा चलचित्रकर्मीबिच अन्तक्रिया भएको छ। अन्तर्राष्ट्रिय पवतीय महोत्सव (किम्फ) को २० औं संस्करणमा चलचित्रकर्मीहरुले नेपाली चलचित्रको वर्तमान अवस्था र भविष्यबारे मन्थन गरेका हुन्।
फिल्ममा कथाभन्दा पनि कथालाई कसरी प्रस्तुत गरिन्छ भन्ने महत्वपूर्ण हुने बताउँछिन् रंगकर्मी आंकाक्षा कार्की। ‘पात्रलाई कसरी अगाडि बढाएका छन। त्यो फिल्मले के भन्न खोजेको हो र कसरी मानिसहरुको इमोसनसँग कनेक्ट भएको छ भन्ने ठूलो कुरा हो।’
अन्तर्रक्रियामा नेपाली फिल्ममा महिलाको उपस्थितिलाई लिएर पनि छलफल भएको थियो। नेपाली फिल्ममा पुरुषकै दबदबा बढी भएका कारण महिलाको चरित्रचित्रण पुरानै शैलीको रहेको गुनासो गरिन् कार्कीले।
‘युगौं युगदेखि महिलालाई जसरी हेर्ने मेल-गेजको दृष्टिकोण छ। ती नै चरित्रचित्रणमा झल्किएको हो। अहिले केही फिल्म बनाउने धारणा परिवर्तन भएको छ। तर, अहिले पनि फिल्ममेकरले महिलाको भूमिकालाई लिएर जोखिम उठाउन सक्नु भएको छैन। हिरोइन मटेरियलको ट्यागको पर्दा अहिले पनि देखिन्छ। हाम्रो नेपाली फिल्म उद्योग पुरुष प्रधान भएरै पनि होला, स्रोत र शक्ति उनीहरुकै नियन्त्रणमा छ। त्यसैले निर्णय लिन सक्ने क्षमताका महिला र प्रेरणादायी भूमिका महिलाहरूले कम पाउँछन्। त्यसैले पनि यो चिज परिवर्तन हुनको लागि समय लागिरहेको छ,’ उनले भनिन्।
अभिनेत्री सुरक्षा पन्तले पनि महिलाको चरित्र प्रस्तुत गर्ने तरिकामा कमजोरी रहेको बताइन्। फिल्म क्षेत्रमा महिलाहरुको संख्या नै कम हुनाले महिलालाई परम्परागत रुपमा चित्रण गर्ने उनको भनाई छ। जसकारण फिल्मक्षेत्रमा महिलाको सहभागिता बढेको खण्डमा समानता आउने उनको धारणा छ।
सुरक्षा भन्छिन्, ‘संख्याको हिसाबले पुरुषहरु धेरै हुनुहुन्छ। तर, म कलाकारका हिसाबले उनीहरुबाट केही न केही सिक्ने मौका खोज्छु। फरक विचारधाराका फिल्मकर्मीबिच काम गर्ने कुरालाई मैले अवसरको रुपमा लिएको छु। रमाइलोको रुपमा हेर्छु। तर, महिलाको संख्या बढी हुनुपर्छ भन्ने मेरो मान्यता हो। यो रातारात परिवर्तन हुने विषय होइन। महिलाको संख्या बढ्यो भने समानता पनि आउनेछ। महिलाहरूको उपस्थितिले फिल्मकर्मीहरुमा राम्रो सहकार्य पनि हुनेछ। अनि महिलालाई गतल तरिकाले चित्रण गर्ने काम बन्द पनि हुन्छ। कोही महिला फिल्मकर्मी हुनुभयो भने उहाँहरुसँग काम गर्छु।’
फिल्म क्षेत्रमा महिलाको संख्या कम भएको निर्देशक प्रदीप भट्टराईले पनि स्विकारे।
‘पक्कै पनि चलचित्रमा महिलाहरु कम हुनुहुन्छ। फिल्म भनेको छुट्टै संसार होइन। चलचित्र भनेको समाजको एउटा सानो पार्ट हो। समाजमा जे भइरहेको छ त्यही फिल्ममा हुन्छ। समाजमा धेरै संख्यामा महिलाहरुले नेतृत्व लिइरहेको भए उनीहरुको चरित्रचित्रणमा डोमिनेटेड गरेको भन्ने हुन्थ्यो। वास्तवमा समाजमै त्यस्तै छ। फेरि समाजमै भएका कुरा फिल्ममा देखिनुपर्छ भन्ने होइन । तर, हामी फिल्मकर्मी त्यस्तो कुरामा जिम्मेवार छौं। तर, यो एकरातमै हुने कुरा होइन।’
नेपाली फिल्मको विश्वबजारमा चुनौती र सम्भावना
अविनाशविक्रम शाह निर्देशित फिल्म ‘लोरी’ ले कान्सको स्पेशल जुरी मेन्सन अर्वाड जितेको थियो। नेपाली फिल्म पनि विश्वस्तरको हुनुपर्ने निर्देशक अविनाश बताउँछन्।
‘मैले जे बनाउँछु त्यो नेपाली अडियन्सको लागि मात्रै होइन। हामीले विश्वभरका लागि फिल्म बनाउनुपर्छ। हलिउडमा कस्ता फिल्म चलिरहेको छ त्यो बुझ्नुपर्छ। त्यो लेबलमा फिल्म बनाउनुपर्छ कि जसलाई विश्वभरकाले हेर्न चाहुन्छु। नेपाली फिल्ममा कथ्य शैली नयाँ हुनुपर्छ,’ शाहले सुनाए।
नेपालमा कथा र सम्भावना भएता पनि लगानिकर्ताको अभाव रहेको उनको भनाई छ। भन्छन्, ‘नेपालको फिल्मक्षेत्रको राम्रो भइरहेको छ। तर, पैसा कहाँबाट ल्याउने समस्या हुन्छ। विश्व सन्दर्भमा हेर्दा हाम्रो बजेट निकै कम हुन्छ। पैसा कसरी जुटाउने, कसले विश्वास गर्ने व्यवसायिक फिल्ममा आफूलाई सावित गरिसकेका प्रदीप भट्टराई लागि लगानी खोज्नु समस्याको विषय नबन्ला। तर, स्वतन्त्र रुपले फिचर फिल्म बनाइ रहेकाहरुका लागि लगानी खोज्नु प्रमुख समस्या हो।
उनले अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धामा भिड्दा भोग्नुपर्ने चुनौतीहरु समेत बताए।
भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरका फिल्मसँग भिड्नु पनि समस्या छ। पैसाका कारण हामीले खत्रा आइडिया आउँदा समेत सोच्नुपर्छ। यहाँको लगानिकर्ताले नपत्याएपछि बाहिरबाट त्यसरी पैसा खोज्न ठूला-ठूला फिल्मकर्मीसँग प्रतिस्पर्धा हामीले गर्नुपर्छ। नेपाली लगानीकर्ता फिल्मसँग जोडियो भने फिल्मकर्मीमा लगानी उठाइदिने दबाब हुन्छ। तर, लगानी खोज्न ती क्षेत्रमा पनि उतिकै गाह्रो छ। जति नेपालमा खोज्न गाह्रो हुन्छ। लगानी खोज्ने प्रोसेस लामो हुनसक्छ। कहिलेकाहीँ झर्को पनि लाग्न सक्छ।’
फिल्ममा लगानी गरिदिने फेस्टिभल, ल्याब, मार्केटमा नेपाली फिल्मकर्मी पुग्नुपर्ने अविनाश बताउँछन्। जसको लागि फ्रान्स, जर्मन, नेदरल्याण्ड्स र नर्वे बढी उपयुक्त ठाउँ हुन्।
असमानता महिलाको क्षेत्रमा मात्रै नभई सबैतिर रहेको एनिमेसनमा पहिचान बनाइसकेका इन्सेसान्ट रेन स्टुडियोका किरण भक्त जोशी बताउँछन्। विश्वस्तरका फिल्म बने नेट्फ्लिक्स, अमाजोनजस्ता प्लेटफर्ममा पनि नेपाली फिल्मका लागि ढोका खोलिने उनले सुनाए।
व्यवसायिक रुपले सफल निर्देशन प्रदीपले पनि आफूलाई पनि नेपालमा काम गर्न गाह्रो नै रहेको सुनाए। ‘मेरो सिनेमामा कोही खत्रा निर्माताले लगानी गर्नुभएको छैन हामी साथीभाई मिलेर फिल्म बनाएका हौं। श्रीमती र आमाको गहना राखेर नै फिल्म बनाएका हौं। समय र रिस्क लिएर फिल्म बनाएपछि नाफाघाटा हेरिदैन।’
उनले पनि अविनाशको कुरामा सहमति जनाउँदै नेपालमा आर्ट सिनेमामा लगानी गर्न नचाहने अवस्था रहेको बताए। नेपालमा कथाहरु संसारमाझ पुर्याउनेलाई सरकारले सम्मान गर्नुपर्ने तर्क छ उनको। ‘साँच्चिकै हामीलाई कसैले हेरेको छैन। हामी फिल्ममेकर अनाथ जस्तै हौं। अभिभावकले पनि हेरेको छैन। विदेशीले पनि लग्या छैन।’
नेपालमा अहिले 'सिटामोल'जस्तै सिनेमा बनिरहेको प्रदीप भट्टराईको दाबी छ। ‘विदेशका धेरै राम्रा राम्रा सिनेमाहरु हेरिन्छ। त्यस्तै सिनेमा नेपालमा पनि बनोस् भन्ने चाहना लाग्छ। कहिलेकाहिँ त यस्तो लाग्छ हाम्रो भाग्य राम्रो सिनेमा हेर्ने मात्र रहेछ। हामी त सिटामोल जस्तै चलचित्र बनाइरहेका छौं। हामी इमेरजेन्सीमा खाने जस्तै सिनेमा बनाइरहेका छौं। अडियन्सले चाहेको कुरा नै हामी बिकिरहेका छौं। ’
नबुझेको मान्छेभन्दा बुझेको मान्छेले कमर्सियल सिनेमा बनाउने बताउँदै अविनाश र किरणलाई नेपाली बजारका लागि सिनेमा बनाउन आग्रह गरे।
नेपाली फिल्मको भविष्य
पँहुच नभएकालाई अवसर दिएको खण्डमा फिल्म क्षेत्रमा महिलाको राम्रो सम्भावना देख्छिन् सुरक्षा र आकांक्षा। ‘सिमान्तकृत र पँहुच नभएका महिलाहरुको बारेमा बुझ्न जरुरी छ। नेपालमा अहिले पँहुच हुनेकालाई बढि प्राथमिकता दिइन्छ। जुन संरचनाले पुरुषलाई प्रोत्साहन गरिएको छ। त्यही संरचनाले चाहिँ महिलाहरुलाई हतोत्साहित गरिएको छ। जुन चुनौतीको हो। फिल्म क्षेत्रमा सहभागिता बढाउनको लागि जो पँहुचमा छैन तिनिहरुलाई अवसर दिनुपर्छ।’
महिला कलाकारहरुले पनि राम्रो स्क्रिप्ट र टिम हेरेर काम गर्नेपर्ने सुरक्षाको तर्क छ। फिल्ममेकरले पनि आफ्नो 'कम्फर्ट जोन' छोडेर 'क्रिएटिभ' सहकार्य गर्न जरुरी रहेकी उनले सुनाइन्। उनका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी हुनको लागि नेटवर्किङ निकै महत्त्वपुर्ण पक्ष हो।
नेपालका चलचित्रको भविष्यको लागि धेरै आत्तिनु पर्ने अवस्था नरहेको प्रदीप बताउँछन्। ‘नेपाली कथा भन्न थालेको फिल्म 'लुट' देखि नै हो। साँच्चिकै फिल्ममा हामी जस्तै बोल्दो रहेछ भनेर लुटले नै बनाएको हो। भर्खर १० वर्ष भयो त्यस्तो आत्तिनु पर्ने अवस्था छैन। ढिला भएकै हो तर बढिसकेपछि रोकिएको छैन।’
सम्पुर्ण फिल्ममेकरले आफूले जे जानेको छ, त्यसलाई अघि लिएर बढ्दा नेपाली फिल्मको विकास हुने मत राख्छन्।
‘अविनाश जी ले बनाएजस्तै हामीले पनि बनाउने भन्ने होइन। तर, आआफ्नो ठाउँबाट लाग्नुपर्छ। तर जो सँग जे छ जस्तो क्षमता छ त्यही लिएर अघि बढ्नुपर्छ,’ प्रदीपले भने।